नेभ्ला र नेल्टा बीचको सहमति पत्र सार्वजनिक,गठबन्धनको विवाद चुलियो

काठमाडौँ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आगामी निर्वाचनमा कुनै पनि संघ, संस्था संग गठबन्धन नगर्ने घोषणा गरेका नेभ्ला नेपालका अध्यक्ष रामप्रसाद मेहताको भनाइको केही समयमै नेभ्ला नेपाल र नेल्टा नेपालबीच सहमति भएको हस्ताक्षरित सम्झौता सार्वजनिक भएको छ।

छ बुँदे सहमतिमा दोस्रो बुँदाले नेल्टा नेपालको तर्फबाट खुल्ला पुरुष सदस्यका लागि १ जना उम्मेदवार र सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश, र कोशी प्रदेशबाट गरी जम्मा ७ जना उम्मेदवारलाई कायम राख्ने र बाँकी पदमा नेभ्ला नेपालका आधिकारिक उम्मेदवार र नेल्टा नेपालका बागी उम्मेदवारलाई फिर्ता लिन लगाउने उल्लेख छ।

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालयमा पुस १९ गते, शुक्रबार नेभ्ला र नेल्टा बीच सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सहमति पत्रमा नेभ्लाका वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर बम र नेल्टाका वरिष्ठ उपाध्यक्ष लोक बहादुर शाहीले हस्ताक्षर गरेका छन्। साथै, नेभ्लाका काजी बहादुर श्रेष्ठ र नेल्टाका पुस्कर नेपालको पनि हस्ताक्षर गरिएको छ।

तर, हस्ताक्षर गरिएको मिति पुस १९ उल्लेख गरिए पनि सहमति पत्रमा पौष २१ गतेको मिति राखिएको देखिन्छ। सम्झौतापत्रमा नेल्टा नेपालका अध्यक्ष जनकबहादुर रावलको नाम उल्लेख गरिएको छ, तर हस्ताक्षर भने छैन।

सहमति अनुसार, दुवै संघहरूले पशु स्वास्थ्य तथा सेवा व्यवसायको क्षेत्रमा साझा उद्देश्यका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। नेभ्ला र नेल्टाले आ–आफ्नो उम्मेदवारहरूको छनोटका लागि छुट्टाछुट्टै प्रक्रिया अघि बढाउने र पुस २३ गते दुवै पक्षले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने निर्णय गरेका छन्।

साथै, खुला पुरुष र खुला महिला सदस्यहरूको लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने, पुस २५ गते केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने, प्रत्येक प्रदेशमा निर्वाचन प्रचार–प्रसार उपसमिति गठन गरी प्रचार कार्यलाई प्रभावकारी बनाउने, र संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने सहमति भएको छ।

भेट टाइम्स नेपाललाई प्राप्त जानकारी अनुसार, नेभ्ला नेपालका पदाधिकारीहरूले आन्तरिक सहमति खोजिरहेको अवस्थामा बाह्य गठबन्धन गरिएको आरोप लागेको छ। स्रोतका अनुसार, पुस १९ गते नेल्टा नेपालसँग सहमति गरेका काजी बहादुर श्रेष्ठले आफ्ना सहयात्री डम्बर बहादुर बमसहित भक्तपुरको गठ्ठाघरस्थित बर्गर हाउसमा नेभ्ला भित्रै सहमति निकाल्न अध्यक्ष रामप्रसाद मेहतासँग वार्ता गरेका थिए।

सो वार्ता खुल्ला तर्फकी महिला उम्मेदवार चिना कुमारी लामाले संयोजन गरेकी थिइन्। यद्यपि, थप छलफल गरी निर्णय टुंग्याउने सहमति गर्दै वार्ता सकिएको थियो।

त्यसपछि, पुस २१ गते सोमबार अर्का उम्मेदवार मणिराम सापकोटाको पहलमा पेप्सीकोलास्थित एक होटलमा नेभ्ला अध्यक्ष रामप्रसाद मेहता, लोकराज भुसाल, र काजी बहादुर श्रेष्ठको छलफलको प्रबन्ध मिलाइएको थियो।

तर, टाउनप्लानिङस्थित ह्वाइट र्याबिट रेस्टुरेन्टमा आयोजना गरिएको त्रिपक्षीय बैठकमा काजी बहादुर श्रेष्ठ अन्तिम सम्म कुराएर उपस्थित हुन नसकेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *