नेभ्लाको विज्ञप्ति: कुनै गठबन्धन गरिएको छैन, नेभ्लामाथि षड्यन्त्र भयो
काठमाडौं। नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएशन (नेभ्ला) ले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आगामी निर्वाचनमा कुनै पनि संघ/संस्था संग मिलेर गठबन्धन नगरेको स्पष्ट पारेको छ। नेभ्ला अध्यक्ष रामप्रसाद मेहताद्वारा हस्ताक्षरित पत्र (चलानी नं. ३८, मिति २०८१।०९।२५) मा उल्लेख गरिए अनुसार, केही पदाधिकारीहरूले सहमतिको लागि छलफलमा बसेको भए पनि सहमति हुन नदिने, बहाना बनाउने र अन्य संघ/संस्थासँग गठबन्धन गरेको विषयले संस्थामाथि षड्यन्त्र भएको उल्लेख छ।
पत्रमा नेभ्लालाई साझा चौतारीको रूपमा स्थापित गर्ने कठोर प्रयासमा व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदाका कारण सहमति हुन नसकेको, र नेभ्लालाई कमजोर पार्न र प्रतिनिधित्वविहीन बनाउन गम्भीर षड्यन्त्र भएको दाबी गरिएको छ। मेहताले नेभ्लाको अस्तित्व जोगाउन र आगामी निर्वाचनमा विजय हासिल गरी संस्थाको प्रतिनिधित्व सुनिश्चित गर्न सबै पदाधिकारी र सदस्यहरूलाई एकजुट भई निर्वाचनमा भाग लिन आग्रह गरेका छन्।
यसैबीच, उपाध्यक्ष पदका उम्मेदवार काजी बहादुर श्रेष्ठले भने गठबन्धनको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा परिषदलाई प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले नेभ्लाको नेतृत्वले सहमति र सहकार्य गर्न नसकेको अवस्थालाई समाधान गर्न गठबन्धनमार्फत साझा उम्मेदवारी अघि सारिएको बताएका छन्।
श्रेष्ठले सहभागितामूलक पुस्तान्तरण र नेतृत्व विकासका लागि नयाँ नियमावली निर्माणमा पहल गर्ने बताएका छन्। साथै, उनले कार्यसमितिका अध्यक्षबाहेक अन्य सम्पूर्ण पदाधिकारीको तर्फबाट साझा उम्मेदवारको समर्थन रहेको दाबी गरेका छन्।
गठबन्धनको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेभ्ला नेपालका वरिष्ठ उपाध्यक्ष डबल बम ठकुरी, नेल्टा नेपालको वरिष्ठ उपाध्यक्ष एलबी शाही, र उपाध्यक्ष पुष्कर नेपालसहितका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
नेल्टा नेपालका वरिष्ठ उपाध्यक्ष एलबी शाहीले नेभ्लाको नेतृत्वमा सहकार्य गर्दै काजी बहादुर श्रेष्ठलाई समर्थन गरिएको र सहमतिको आधारमा साझा उम्मेदवार तय गरिएको बताए। शाहीले नेल्टा नेपालका ४ हजार र नेभ्ला नेपालका ६ हजार सदस्य रहेको जानकारी दिँदै गठबन्धनले ७० प्रतिशत मत प्राप्त गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा खुला सदस्यका उम्मेदवार सुमन कुँवर, खुला महिला सदस्य चिनाकुमारी लामा, र बागमती प्रदेश सदस्य ईश्वरप्रसाद घिमिरेले पनि गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी र गठबन्धनको आवश्यकता सम्बन्धी धारणा राखेका थिए।
नेभ्लाले विज्ञप्तिमार्फत स्पष्ट पारेको गठबन्धनमा संलग्नता नभएको दाबी र गठबन्धन पक्षको दाबीबीचको मतभेदले आगामी निर्वाचनको वातावरणमा थप चुनौती खडा गरेको छ। यस विषयले निर्वाचनको पारदर्शिता र सहमतिको वातावरणलाई थप संवेदनशील बनाएको छ।
हेर्नुहोस पत्र