परिषद् निर्वाचन: नेभ्लाकै तीनजना बीच प्रतिष्पर्धा, गठबन्धनका उम्मेदवार काजीबहादुर

काठमाडौं।पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को आसन्न पहिलो निर्वाचनमा उपाध्यक्ष पदका लागि नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, उपाध्यक्ष पदमा काजीबहादुर श्रेष्ठ, लोकराज भुसाल र रामप्रसाद मेहताबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो। यसअघि नेल्टा नेपालका पुष्कर नेपालले उम्मेदवारी फिर्ता लिएपछि नेभ्लाका उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धनका तर्फबाट काजीबहादुर श्रेष्ठलाई साझा उम्मेदवारको रूपमा अगाडि सारिएको छ। राजधानीमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा श्रेष्ठले आफू सत्तारूढ गठबन्धनको साझा उम्मेदवार भएको दाबी गरे। यद्यपि, अन्य दुई उम्मेदवार लोकराज भुसाल र रामप्रसाद मेहताले यसबारे प्रत्यक्ष रूपमा असहमति नजनाए पनि नेभ्लाले साझा उम्मेदवार बनाउन नसकेको प्रतिक्रिया दिएका छन्।

रामप्रसाद मेहताले परिषद् स्थापनामा आफ्नो योगदानको चर्चा गर्दै परिषद्लाई अझ सशक्त बनाउन आफूले उम्मेदवारी दिएको बताए। तर, नेभ्लाका तीन उम्मेदवारबीच सहमति कायम गर्न नसकेको विषयलाई जानकारहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

निर्वाचन समितिले उपाध्यक्ष पदका लागि तीन उम्मेदवारहरूको अन्तिम सूची जारी गरेको छ। खुला सदस्य पदमा भने ईश्वरीप्रसाद आचार्य, हरिलाल कँडेल, दीपक रानाभाट, धर्मराज जैसी, कमलबहादुर विश्वकर्मा, दीर्घकुमार स्वाँर, कृष्णप्रसाद महतो, महेन्द्रप्रसाद भण्डारी, बलरामकृष्ण बञ्जाडे, योगेन्द्रलाल यादव, सुमन कुँवर, सुरेशकुमार खड्का  छन्।

महिला सदस्य पदका लागि दिलमाया श्रेष्ठ, उमा बञ्जाडे, चिनाकुमारी लामा र गीता धमलाको उम्मेदवारी परेको छ। प्रदेश सदस्यका लागि सुदूरपश्चिमबाट धनबहादुर चौधरी र लालबहादुर बोहोरा, कर्णालीबाट प्रकाश पाण्डे, नारायण न्यौपाने र चिरञ्जीवी प्रसाद उपाध्याय, लुम्बिनीबाट सुकबहादुर नेपाली र ज्ञानु बुढा, गण्डकीबाट पुष्पराज बास्तोला, नवराज अधिकारी, प्रताप पौडेल र डिल्लीराम रेग्मी, बागमतीबाट विनोद बजगाईं, ईश्वरप्रसाद घिमिरे र रामप्रसाद अधिकारी, मधेस प्रदेशबाट अनिरुद्र साह, रामप्रकाश महतो, परमेश्वर यादव र विश्वेश्वरप्रसाद यादव तथा कोशीबाट चूडामणि थापा, दीपकबाबु सिंह र पुरुषोत्तम पाण्डेले उम्मेदवारी दिएका छन्।

परिषदमा १४,२९५ सदस्य दर्ता भए पनि १३,२६४ मात्र मतदान योग्य व्यवसायी रहेका छन्। ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई भने मतदानको अधिकार छैन। कुल १३,१०३ मतदातामध्ये, कोशीमा १,८०९, मधेसमा २,५५६, बागमतीमा १,९९७, गण्डकीमा १,२०९, लुम्बिनीमा २,०७४, कर्णालीमा १,६७१ र सुदूरपश्चिममा १,७८७ सदस्य छन्।

निर्वाचन समितिका अनुसार, परिषद्को अध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ। अन्य दुई महिला सदस्यलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषद्ले क्रमशः एक÷एक जना नियुक्त गर्ने प्रावधान रहेको छ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को पहिलो निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै संस्थाको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *