पशुपन्छी औषधि व्यावसायी संघ स्थापना दिवस : आश्रममा आश्रितलाई भोजन
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम, नागदह, धापाखेल ललितपुरमा आश्रित व्यक्तिहरूका लागि बिहानको विशेष भोजन र दिउँसोको खाजाको सेवा प्रदान गरेको छ।
वागमती जिल्ला शाखा र केन्द्रीय कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, उपाध्यक्ष, महासचिव, अन्य पदाधिकारी, तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष रिमालले मानव सेवा आश्रमलाई सेवा गर्ने अवसर प्राप्त भएकोमा संघको तर्फबाट आभार प्रकट गर्दै यस्ता सेवामूलक कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा आश्रममा आश्रित महानुभावहरूका लागि विशेष भोजनको व्यवस्थाका साथै माया र सम्मानका साथ सेवा प्रदान गरिएको थियो। आश्रमका सदस्यहरूले संघको यस सहयोगप्रति गहिरो आभार व्यक्त गरे।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघले यस मानवीय सेवामा सहभागी सबै सदस्यहरूप्रति हार्दिक नमन र साधुवाद अर्पण गर्दै यस्ता सामाजिक क्रियाकलापले संस्थाको गरिमा अझै उचाइमा पुगेको महसुस गराएको जनाएको छ।