नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपूर्ण छ : कृषिमन्त्री अधिकारी

काठमाडौं।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटन क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको र चीनको विशेषज्ञता तथा सहयोगले यी क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ। मन्त्री अधिकारीले सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ सफल बनाउन ठूलो लगानीको आवश्यकता पर्ने र यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ।

फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज (फाउन्टेन्स) ले काठमाडौंमा आयोजना गरेको ‘बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरहरूको खोजी’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युत्को सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने र जनशक्ति विकासमा जोड दिने सरकारको लक्ष्य रहेको बताउनुभयो।

मन्त्री अधिकारीले सन २०२३ को डिसेम्बर १८ देखि ३० सम्म चीन भ्रमणका क्रममा कुईयाङ्ग प्रान्तको वेन्जिङ्ग गाउँस्थित स्ट्रबेरी फार्मले आफूलाई निकै प्रभावित पारेको उल्लेख गर्दै नेपाल र चीनबीच कृषि सहकार्यबाट दुवै देशले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालका कृषि उत्पादनलाई चीनको बजारसम्म पुर्‍याउन सहकार्यलाई अझ बलियो बनाउने आवश्यकता रहेको पनि बताउनुभयो।

नेपाल र चीनबीच कृषि, पशुपन्छी तथा मत्स्यपालनका विभिन्न क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। नेपालबाट औषधिजन्य वनस्पति, सुन्तलाजातका फलफूल, हाईलेज, र थर्मल प्रशोधित भैंसीको मासु निर्यातका लागि प्रोटोकलहरूमा सहमति भएको छ। यसले नेपालको कृषि उत्पादनलाई चीनको बजारमा पुर्‍याउने मार्ग खोल्ने विश्वास गरिएको छ।

हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा संयुक्त वक्तव्यमा उल्लेख भएको कृषि औद्योगिक प्रदर्शनी पार्क स्थापना गर्ने योजना सरकारले अघि बढाइसकेको छ। हिमाली क्षेत्रमा निर्यातमुखी व्यवसायिक आलु तथा तरकारी खेती, याक र चौरीको नस्ल सुधार, भेडाको नस्ल सुधार, पशुपन्छी स्वास्थ्य सुधार तथा बहुउपयोगी प्रयोगशाला स्थापना, र स्यानिटरी तथा फाइटोसेनिटरी व्यवस्थापनका क्षेत्रमा चीनसँग सहकार्य गर्न नेपालले २०२३ मा पाँच अवधारणापत्र पेश गरिसकेको छ।

मन्त्री अधिकारीले कृषिका प्राविधिकहरूलाई चीनमा तालिमका लागि पठाउने, दुवै देशबीच भएका सहमति कार्यान्वयनमा थप प्रभावकारिता ल्याउने र कृषिमा चिनियाँ प्रविधि र लगानीमार्फत नेपाललाई आत्मनिर्भर बनाउने अपेक्षा पनि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार कृषि क्षेत्रको विकासका लागि उन्नत बीउविजन उत्पादन, जैविक विषादी निर्माण र मिश्रित रासायनिक मलको उत्पादनमा चीनको सहयोग अपरिहार्य छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *