नेपालकै सबैभन्दा ठूलो धनराशि पुरस्कारको हाफ म्याराथनको रूपमा परिचित यस प्रतियोगितालाई विगत तीन वर्षदेखि निरन्तर रूपमा आयोजना गरिंदै आएको छ। गत वर्ष महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले प्रथम स्थान हासिल गरेका थिए। यस संस्करणमा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमी, महिला ५ किमी, विद्यार्थीहरूका लागि ५ किमी (पुरुष) र ३ किमी (महिला), फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर दौड (पुरुष तथा महिला), र बालबालिकाका लागि “रन फर फन” विधाका दौडहरू समावेश गरिनेछन्। यसबारे आयोजक समितिका संयोजक डा. सितलकाजी श्रेष्ठले जानकारी दिए।
संयोजक श्रेष्ठका अनुसार, हाफ म्याराथनतर्फ प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ (कर बाहेक) प्राप्त गर्नेछन् भने पाचौं स्थानसम्मका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ। यसपटक कुल पुरस्कार राशी करसहित १७,६३,३३३/३३ रुपैयाँ रहेको छ। तेस्रो संस्करणसम्म विजेतालाई १ लाख रुपैयाँ प्रदान गरिए पनि यस पटक त्यसलाई बढाएर १ लाख ५० हजार रुपैयाँ (कर बाहेक) गरिएको छ।
प्रतियोगीहरूले दौड पूरा गरेपछि खाजा र मेडल पाउने व्यवस्था गरिएको छ। खेलाडीहरूको सुविधाका लागि रुटका विभिन्न स्थानहरूमा पानी, प्राथमिक उपचार, र आकस्मिक सेवाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ। प्रतियोगिताको व्यवस्थापनका लागि ५०० जना स्वयंसेवक परिचालन गरिनेछ।
नेपाल एथलेटिक्स एशोसिएसनको मान्यता र सहआयोजनामा सञ्चालन हुने यस प्रतियोगितालाई युसेकको मुख्य प्रायोजन प्राप्त छ। साथै, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको विशेष सहयोग रहेको छ। अन्य सहयोगदाताहरूमा हस्पिटल पार्टनर प्रिमियर हस्पिटल, टिकेटिङ पार्टनर इसेवा, फुड पार्टनर केबी एग्रो, र हस्पिटालिटी पार्टनर मेरियट काठमाडौं रहेका छन्।
प्रतियोगितामा सहभागी हुन ई-सेवा वा आयोजकको वेबसाइटमार्फत ३०० रुपैयाँ शुल्क बुझाएर दर्ता गर्न सकिन्छ।
नेपाल भेटेरिनरी एशोसिएसनले आम जनसमुदायलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्न हार्दिक अपिल गरेको छ।