पशु चिकित्सा परिषदको उपाध्यक्ष पदका लागि पाँचजनाबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाल पशु चिकित्सा परिषदको आगामी माघ ५ गतेहुने निर्वाचनमा उपाध्यक्ष पदका लागि पाँच उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्ष पदको लागी हालसम्म डा. शितलकाजी श्रेष्ठ, डा. जगदीश पाण्डेय, डा. मनोजकुमार शाही, डा. स्वयम् प्रकाश श्रेष्ठ, र डा. रेवन्त कुमार भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै डा. शितलकाजी श्रेष्ठले परिषदलाई थप सुदृढ बनाउने लक्ष्यका साथ आफ्नो नवीन सोच, नेतृत्व क्षमता, र अनुभवलाई उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै अर्का उम्मेदवार डा. स्वयम् प्रकाश श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै परिषदलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, आइएसओ मान्यता प्राप्त गराउने, र शिक्षालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाउने योजना अघि सारेका छन्।
डा. रेवन्त कुमार भट्टराईले परिषदको नेतृत्वलाई शैक्षिक उत्कृष्टता, गुणस्तरीय पशु सेवा, र पेशागत मर्यादामा केन्द्रित बनाउने प्रतिज्ञा गरेका छन् । डा. मनोजकुमार शाहीले आफूलाई “सबैको साझा उम्मेदवार”का रूपमा प्रस्तुत गर्दै भेटेरिनरी क्षेत्रको रुपान्तरणमा दृढ संकल्प रहेको बताएका छन्। डा. जगदीश पाण्डेयले परिषदको संस्थागत विकास र पेशागत हितलाई आफ्नो प्राथमिकतामा राख्दै आफ्नो लामो अनुभव र कुशल नेतृत्व क्षमताको दाबी गरेका छन्।
नेपाल पशु चिकित्सा परिषदको निर्वाचन माघ ५ गते हुने तय भएको छ। निर्वाचन समितिले हालसम्म २०४९ मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। मतदाता नामावलीमा त्रुटि भएमा माघ १ गतेभित्र सुधार गर्न सकिनेछ भने अन्तिम नामावली माघ २ गते प्रकाशित गरिनेछ।
उम्मेदवारहरूको घोषणासँगै परिषदको उपाध्यक्ष पदको निर्वाचनले थप गति लिएको छ। मतदाताहरूले परिषदको सुधार, पेशागत हित, र नेतृत्व क्षमताको आधारमा आफ्नो निर्णय लिनुपर्नेछ।