पशु चिकित्सा परिषदको उपाध्यक्षमा डा. स्वयम् प्रकाशको उम्मेदवारी घोषणा
काठमाडौं। नेपाल पशु चिकित्सा परिषदको आगामी निर्वाचनमा बर्तमान कार्यसमितिका उपाध्यक्ष डा. स्वयम् प्रकाश श्रेष्ठले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। श्रेष्ठले आफ्नो यो दोस्रो कार्यकालका लागि उम्मेदवारी रहेको उल्लेख गर्दै परिषद्को विकास र संगठनात्मक मजबूतीमा निरन्तरता दिन आफ्नो भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
श्रेष्ठका अनुसार परिषद्ले हालसम्म पुर्याएको प्रगति, विशेष गरी डिजिटलाईजेसन, आइएसओ मान्यता प्राप्त गर्ने , र शिक्षालयहरूको प्रभावकारी अनुगमनमा उनको उल्लेखनीय भूमिका रहेको छ। उनले भने, “परिषद्का पछिल्ला संरचनागत र प्राविधिक सुधारहरूमा मेरो सक्रिय योगदान छ। यसैको आधारमा मैले यो पदमा पुनः उम्मेदवारी दिने निर्णय गरेको हुँ।”
श्रेष्ठले आफ्नो कार्यकालमा परिषद्ले भेटेरिनरी क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको पनि बताए। उनले थपे, “पछिल्लो कार्यकालमा मैले परिषद्को संस्थागत सुधार र भेटेरिनरी पेशागत समस्याहरू समाधान गर्न अग्रसर भएर काम गरेको छु। मलाई विश्वास छ, मैले अबको कार्यकालमा परिषद्लाई थप उचाइमा पुर्याउन सक्नेछु।”
डा. स्वयम् प्रकाश श्रेष्ठ नेपाल कृषि अनुसन्धान परिषद (NARC)का मुख्य वैज्ञानिकका रूपमा पनि लामो अनुभव भएका व्यक्ति हुन्। उनको नेतृत्वमा विज्ञान र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ। भेटेरिनरी पेशाको नीति र कार्यक्षेत्र सुधारमा सक्रिय रहेर काम गर्ने क्षमता र अनुभवले उनलाई भेटेरिनरी समुदायमा चिनिएको छ।
श्रेष्ठले आफ्नो उम्मेदवारीबारे कुरा गर्दै भने, “मसँग समय, पेशागत नैतिकता, र अघिल्लो कार्यकालमा गरिएको उल्लेखनीय कामको अनुभव छ। यसै कारण, परिषद्लाई नयाँ उचाइमा पुर्याउन म तयार छु। मैले निर्वाचन जित्नेमा आफू पूर्णरूपले ढुक्क छु।”
नेपाल पशु चिकित्सा परिषदको निर्वाचन यही माघ ५ गते काठमाडौंमा आयोजना हुँदैछ। परिषद्को प्रमुख भूमिका पशु चिकित्सकहरूको पेशागत दर्ता, प्रमाणिकरण, शिक्षा प्रणालीको अनुगमन, र नीतिगत परामर्शमा रहेको छ। निर्वाचनले आगामी चार वर्षका लागि परिषद्को नेतृत्व चयन गर्नेछ।
निर्वाचन प्रक्रियामा सबै योग्य भेटेरिनरीयनहरूको सहभागिता अनिवार्य रहेकोले परिषद्ले समयमै मतदाता नामावली सार्वजनिक गरी माघ १ गतेभित्र कुनै त्रुटि भएमा दाबी तथा विरोधको मौका दिएको छ।
डा. स्वयम् प्रकाश श्रेष्ठको उम्मेदवारीले परिषद्को आगामी नेतृत्वको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। भेटेरिनरी समुदायले आफ्नो नेतृत्व चयनमा सक्रिय सहभागिता जनाई योग्य उम्मेदवारको चयन गर्नुपर्नेमा जोड दिइएको छ।
उपाध्यक्ष पदमा डा. शितलकाजी श्रेष्ठ ,डा. जगदीश पाण्डेय डा. मनोज कुमार शाहीले समेत उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् ।