पोल्ट्री क्षेत्रमा गिरावट: उत्पादन, रोजगारी र लगानीमा ठूलो घाटा

१२ औं राष्ट्रिय पोल्ट्री दिवस

काठमाडौं।१२ औं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा पोल्ट्री व्यवसायीहरूले आफ्नो व्यवसाय गम्भीर संकटमा परेको गुनासो गरेका छन्। नेपाल कुखुरा व्यवसायी मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोभिड-१९ अघि उत्पादन धेरै राम्रो भए पनि हाल उत्पादन आधाभन्दा बढी घटेको बताए।

उनका अनुसार, पहिले हरेक सातामा ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल यो संख्या ३० लाखमा झरेको छ। यस्तै, लेयर्स चल्ला उत्पादन तीन लाखबाट एक लाखमा, कलर ब्रोइलर (गिरिराज) पाँच लाखबाट दुई लाखमा झरेको छ। दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुनेमा अहिले २४ लाखमा सीमित छ।

उत्पादन घट्दा किसान विस्थापित

भट्टका अनुसार चल्लाको उत्पादन घट्दा दाना उत्पादन पनि दैनिक १२ हजार मेट्रिक टनबाट ३,५०० मेट्रिक टनमा झरेको छ। मासु उत्पादन पनि दैनिक १० लाख किलोबाट ६ लाख किलोमा झरेको छ।

“उत्पादनमा आएको गिरावटका कारण किसानहरू विस्थापित भइरहेका छन्,” भट्टले भने।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले अण्डाको लागत मूल्य अहिले बल्ल मिल्न थालेको भए पनि किसानहरूको अवस्था अत्यन्तै नाजुक रहेको बताए। उनका अनुसार, लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भइसकेका छन्।

“ठूला फार्महरूले जोखिम मोल्दै उत्पादन गरिरहेका छन्, तर साना किसानहरू विस्थापित भएका छन्,” पोखरेलले भने। बैंक ऋण र पैतृक सम्पत्ति बेचेर ठूला किसानहरूले उत्पादन धानेको उल्लेख गर्दै उनले यस क्षेत्रमा अझै धेरै जोखिम रहेको बताए।

ह्याचरी व्यवसायमा गम्भीर समस्या

ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले पनि समस्या गम्भीर भएको उल्लेख गरे। उनका अनुसार, ब्रोइलर चल्ला उत्पादनको लागत रु ७० भए पनि रु ३० मा बिक्री गर्नुपर्ने अवस्था छ। लेयर्स चल्लाको लागत रु १४० भए पनि रु ७० मा बिक्री गर्नुपरेको छ।

“नेपालमा रहेका ३८० वटा ब्रोइलर ह्याचरीमध्ये ७० वटा मात्रै कम क्षमतामा सञ्चालनमा छन्, बाँकी बन्द भइसकेका छन्,” लामिछानेले भने। १५ वटा लेयर्स ह्याचरीमध्ये पाँच वटा मात्र सञ्चालनमा रहेको उनले बताए।

प्रोटिनको कमी र जनचेतनाको अभाव

मञ्चका वरिष्ठ उपाध्यक्ष डा. रवन्तकुमार भट्टराईले नेपालमा प्रोटिनको खपत अत्यन्त कम रहेको बताए। उनका अनुसार, एसियाली मुलुकमा वार्षिक एक व्यक्तिले १०८ वटा अण्डा र ४९ किलो मासु उपभोग गर्ने गर्दा नेपालमा मात्र ६२ वटा अण्डा र ८ किलो मासु उपभोग हुने गरेको छ।

चल्ला र मासुको लागत मूल्य नपाउँदा समस्या

महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य अनुसार उत्पादनको मूल्य नपाउँदा आत्मनिर्भर पोल्ट्री व्यवसाय संकटमा परेको बताए। “यस्तै अवस्था रहेमा केही वर्षभित्र पोल्ट्री व्यवसाय समाप्त हुने सम्भावना छ,” उनले भने।

१२ औं राष्ट्रिय पोल्ट्री दिवसका कार्यक्रम

यस वर्ष १२ औं राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा चितवनमा विभिन्न कार्यक्रम आयोजना गरिने छ। यसमा पोल्ट्रीसम्बन्धी नीति नियम र वर्तमान अवस्थाबारे छलफल हुनेछ। साथै, विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत अण्डा र मासुको पोषण महत्वबारे चिकित्सकहरूले जानकारी दिने कार्यक्रम सम्पन्न भएको छ।

पोल्ट्री व्यवसायीको गुनासो र चुनौतीलाई सम्बोधन गर्दै यस क्षेत्रमा नयाँ नीति र सुधार आवश्यक भएको व्यवसायीहरूको माग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *