ब्रोइलर कुखुराको मासुमा फैलिएको भ्रमप्रति पशु सेवा विभागको आपत्ति
काठमाडौं – नेपालमा आत्मनिर्भर उद्योगको रूपमा स्थापित पोल्ट्री व्यवसाय पटक-पटक गलत सन्देशका कारण प्रभावित हुँदै आएको छ। सामाजिक सञ्जालमा हालै भाइरल भएको एउटा भिडियोले पुनः ब्रोइलर कुखुराको मासुका विषयमा गलत धारणा प्रवाह गरिरहेको छ। “प्रयास मिडिया” नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको उक्त भिडियोले ब्रोइलर कुखुराको मासुलाई स्वास्थ्यका लागि हानिकारक भन्दै विभिन्न दाबी प्रस्तुत गरेको छ।
भिडियोमा ब्रोइलर कुखुराको मासुले क्यान्सरको जोखिम बढाउने, उच्च कोलेस्ट्रोलयुक्त हुने, एण्टिबायोटिक्सको अत्यधिक प्रयोग गरिने, तथा फुड पोइजनको सम्भावना हुनेजस्ता कुराहरू दाबी गरिएको छ। यी दाबीहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको भए पनि, पोल्ट्री क्षेत्रका विशेषज्ञहरू र चिकित्सकहरूले यसलाई सत्यता भन्दा टाढा भएको बताएका छन्।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यो सरासर गलत प्रचार हो भनेका छन्।
“भिडियोमा गरिएको दाबीहरू प्राविधिक र वैज्ञानिक आधारविहीन छन्। ब्रोइलर कुखुराको मासुमा कोलेस्ट्रोल कम हुने तथ्यलाई बुझेको छैन र झुटा भ्रम छरिएको छ। नेपालमा उत्पादन हुने मासु विश्वव्यापी मापदण्डअनुसार गुणस्तरीय छ,” डा. दाहालले भने।
उनले थपे, “फुड प्वाइजन र क्यान्सरजस्ता रोग लाग्ने भन्दै गरिएको प्रचारप्रति विभाग खेद प्रकट गर्दछ। नेपालमा दानादेखि मासु उत्पादनसम्म वैज्ञानिक परीक्षण अपनाइएको छ र हामी शून्य सहिष्णुता (zero tolerance) नीति लिन्छौं।”
पोल्ट्री विशेषज्ञको खण्डन
पोल्ट्री विशेषज्ञ डा. दिनेश गौतमले पनि सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण जानकारीहरूलाई खण्डन गर्दै नेपालमा पालिने ब्रोइलर कुखुरा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै उत्पादन हुने बताए। उनले भने, “नेपालमा ब्रोइलर कुखुरा अमेरिका र युरोपजस्तै वैज्ञानिक विधिबाट पालन गरिन्छ। एन्टिबायोटिक्सको अत्यधिक प्रयोग हुँदैन, बरु यसको प्रयोग न्यून मात्रामा हुन्छ। यसको प्रभाव मासुमा रहन नदिन वैज्ञानिक प्रक्रियाहरू अपनाइन्छ।”
डा. गौतमका अनुसार, “कोलेस्ट्रोलका लागि छालालाई जिम्मेवार मान्न सकिन्छ, त्यसैले छाला हटाएर मासु सेवन गर्दा यो हानिकारक हुँदैन। कुखुराको मासु उच्च प्रोटिनको स्रोत हो, जसले बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत पुर्याउँछ। नेपालमा पोल्ट्री उद्योगले ५५ प्रतिशत मासु आपूर्तिको माग धानेको छ।”
आरोपको प्रतिवाद
अप्राकृतिक पालनको आरोपलाई खण्डन गर्दै डा. गौतमले भने, “नेपालमा ब्रोइलर कुखुरा सर्वमान्य वैज्ञानिक विधिबाट पालन गरिन्छ। दानामा कम बोसो हुने तरिकाले उत्पादन गरिएका सामग्री प्रयोग गरिन्छ, जसले कुखुराको मासु स्वास्थ्यका लागि उपयुक्त बनाउँछ। केमिकल प्रयोगबारे गरिएको दाबी पूर्णतया निराधार छ।”
उनले थपे, “हाम्रो देशमा दाना र मासु सरकारी निकायहरूको अनुमतिबिना बजारमा पठाइँदैन। उत्पादनका क्रममा सबै प्राविधिक मापदण्ड पालना गरिन्छ। बिरामी कुखुराको उपचारमा मात्र एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र त्यसको प्रभाव समाप्त भएपछि मात्र मासु बजारमा पठाइन्छ।”
उपभोक्तालाई सुझाव
नेपालमा पोल्ट्री उद्योगले मासु आपूर्तिको ठूलो हिस्सा धानिरहेको र कुखुराको मासु प्रोटिनको सहज स्रोत भएकाले यसको उपभोग बढाउनुपर्नेमा विशेषज्ञहरूको जोड छ। सामाजिक सञ्जालमा फैलिएका यस्ता भ्रामक प्रचारहरूले उपभोक्तालाई गलत जानकारी दिन सक्ने भएकाले व्यवसायी र उपभोक्तालाई सचेत रहन तथा तथ्यमा आधारित जवाफ दिन आग्रह गरिएको छ।