कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. शारदा थपलियालाई नियुक्ति

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. शारदा थपलियालाई नियुक्त गरेका छन्। भारतबाट पशुचिकित्सा तथा पशुपालनमा स्नातक उपाधि हासिल गरी जापानबाट विद्यावारिधि उपाधि प्राप्त गरेकी डा. थपलिया कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा भेटेरिनरी फर्माकोलोजी विषयकी प्राध्यापक हुन्।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्थापनासँगै डा. शारदा थपलिया योजना निर्देशक, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको डीन तथा कृषि तथा वनविज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदमा रही विश्वविद्यालयको निरन्तर पदाधिकारीका रूपमा कार्य गर्दै आएकी छन्।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रा. डा. धनेश्वर नेपाल, कृषि तथा वनविज्ञान विश्वविद्यालयमा प्रा. डा. शारदा थपलिया र पोखरा विश्वविद्यालयमा प्रा. डा. वेदराज केसीलाई उपकुलपतिमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चयन सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन्। चयन तथा सिफारिस समितिले प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्त गर्ने भन्दै कार्यविधि जारी गरे पनि तजबिजका आधारमा दिने अंक बढी राखिएको भन्दै आलोचना हुँदै आएको छ। नेपाल कांग्रेसका प्रा. डा. केसी र थपलिया एमाले निकट प्राध्यापक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *