सोल राइट सुनिश्चितता र भेटेरिनरी शिक्षाको सुधारका लागि मेरो उम्मेदवारी: डा. शाही

डा. मनोज कुमार शाही: परिषद्को रुपान्तरणको लागि उपाध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं। नेपाल पशु चिकित्सा परिषद्का सदस्य तथा पूर्व रजिष्ट्रार डा. मनोज कुमार शाहीले नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आफूलाई “सबैको साझा उम्मेदवार” को रूपमा प्रस्तुत गर्दै शाहीले भेटेरिनरी क्षेत्रको रुपान्तरणका लागि प्रतिबद्ध रहेको बताएका छन्।

डा. शाही कानूनमा स्नातक, जनप्रशासनमा स्नातकोत्तर, र थाईल्याण्डबाट इपिडिमियोलोजी र पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन्। भेटेरिनरी पेशामा आफ्नो कुशल नेतृत्व र क्षमताका लागि परिचित शाहीले परिषद्को रजिष्ट्रारको भूमिकामा काम गर्दै परिषदलाई पहिलो डिजिटल सरकारी कार्यालय बनाउने महत्त्वपूर्ण कार्य सम्पन्न गरेका थिए।

उनको कार्यकालमा परिषद पूर्ण रूपमा डिजिटल बनाइएको, ISO प्रमाणिकरण प्राप्त गरिएको, ७ करोडभन्दा बढी वैज्ञानिक प्रकाशनहरू उपलब्ध गराउँदै ई-लाइब्रेरी स्थापना गरिएको, र शून्य बेरुजु नीति लागू गरिएको उल्लेखनीय कार्यहरू सम्पन्न भएका थिए। परिषदको संगठनात्मक पुनर्संरचना, ऐन र ९ वटा विनियमावलीको संशोधन, र निजी चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमको सुरुवात जस्ता योगदानले परिषदलाई नयाँ उचाइमा पु¥याएको समेत बताए ।

२०७९-८० मा नेपालमा लम्पी स्किन रोग र अफ्रिकन स्वाइन फिभरको नियन्त्रणमा सरकारलाई प्रभावकारी परामर्श दिने काम गरेका शाहीले “एक पालिका, एक भेटेरिनरी अस्पताल” को परिकल्पना अघि सारेका थिए। निजी चिकित्सकहरूलाई मुख्यधारमा ल्याउन र उनीहरूको क्षमता विकासमा योगदान पुर्‍याउने काममा उनको नेतृत्व सराहनीय मानिन्छ।

उनले सोल राइटको सुनिश्चितता, संघीय निजामती सेवामा पशु चिकित्सक र अन्य चिकित्सकबीचको विभेद अन्त्य, भेटेरिनरी शिक्षाको सुधार, र निजी चिकित्सकहरूको पेशागत सुरक्षाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

यस्तै, नेपाल भेटेरिनरी एशोसिएसनका पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। श्रेष्ठलाई अनुभवी र नवीन दृष्टिकोण भएका चिकित्सकको रूपमा लिइन्छ।

नेपाल पशु चिकित्सा परिषद ऐन, २०५५ अनुसार परिषदको हालको कार्यकाल २०८१ माघ ८ गते समाप्त हुने भएकाले दुई उपाध्यक्ष र पाँच सदस्यका लागि माघ ५ गते निर्वाचन हुने परिषदले जनाएको छ। परिषदले पशु चिकित्सकहरूको दर्ता, आचारसंहिता कार्यान्वयन, शिक्षण संस्थाको नियमन, निरन्तर शिक्षा र सरकारलाई परामर्श दिने जिम्मेवारी वहन गर्दै आएको छ।

“भेटेरिनरी क्षेत्रमा रुपान्तरणका लागि मेरो उम्मेदवारी हो,” डा. शाहीले भने। परिषदको सुधार, डिजिटलाइजेसन, र नीतिगत पहलका कारण आफ्नो उम्मेदवारीमा समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *