नेभ्ला ३५ वर्षमा प्रवेश, अध्यक्ष मेहताले दिए शुभकामना

काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ। पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिलाई संगठित गरी परिचालन गर्न तथा तिनको हक–अधिकारको वकालत गर्न ३४ वर्षअघि आजकै दिन नेभ्ला स्थापना भएको थियो।

नेभ्ला स्थापनाको अवसरमा अध्यक्ष राम प्रसाद मेहताले शुभकामना व्यक्त गरेका छन्। आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै उनले कृषक, उद्यमी, व्यवसायी, प्राविधिक जनशक्तिलगायत सरोकारवालामा शुभकामना व्यक्त गरेका हुन्।

उनले स्थापना पश्चात नेभ्लाले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रको रूपान्तरणका लागि सहुलियत कृषि कर्जा, बाली तथा पशु बीमा, कृषकहरूको पहुँचमा प्राविधिक जनशक्तिको व्यवस्थापन, सरकारी र निजी क्षेत्रमा कार्यरत जनशक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम, पशु औषधि पसल दर्तासम्बन्धी तालिम, स्थानीय तहमा दरबन्दी वृद्धि, भूकम्प, बाढीपहिरो, कोभिड–१९ जस्ता विपत व्यवस्थापनका लागि राहत सहयोग प्रदान गरेको स्मरण गरेका छन्। पशुपालन कृषकहरूका लागि निःशुल्क पशु स्वास्थ्य शिविर, तालिम, छलफल, अन्तरक्रिया गोष्ठी, कृषक प्रतीक्षालय निर्माणलगायतका विभिन्न कार्यक्रमहरूको सञ्चालन तथा व्यवस्थापनमा भूमिका खेलेको पनि उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। पशु सेवाको क्षेत्रका सेवारत प्राविधिक जनशक्तिहरूको अधिकार, पहिचान र कानूनी मान्यताको लागि “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्” स्थापना गराउन सफल भएको पनि उनले सन्देशमा उल्लेख गरेका छन्।

कृषि तथा पशु सेवामा ठोस योजना बनाएर अघि बढेको खण्डमा देशमा देखिएको आर्थिक संकट व्यवस्थापन हुनुका साथै युवा पलायनलाई रोक्न सकिने निचोड पनि अध्यक्ष मेहताले निकालेका छन्।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को पदाधिकारी निर्वाचन सफल बनाउने कार्यमा लाग्न पनि अध्यक्ष मेहताले सम्पूर्ण सदस्यहरूलाई अपिल गरेका छन्। परिषद्को पदाधिकारी निर्वाचन आगामी माघ १८ गतेका लागि तय छ।

२०८१ नेभ्लाको अधिवेशन वर्ष भए पनि परिषद्को पदाधिकारी निर्वाचन समयमा हुन नसक्दा त्यसको असर परेको मेहताले जनाएका छन्।

हेर्नुहोस्, शुभकामना सन्देश


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *