बेगनासमा माछा तथा बंगुरपालनसम्बन्धी अन्तरक्रिया, १३ कार्यपत्र प्रस्तुत
काठमाडौं । बंगुर तथा मत्स्य अनुसन्धान तथा विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम कास्कीको बेगनासमा सम्पन्न भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), पशु तथा मत्स्य अनुसन्धानको आयोजनामा वैशाख १६ र १७ गते अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषदको बंगुर तथा मत्स्य अनुसन्धानबाट विकसित प्रविधिबारे जानकारी दिन तथा यसको विस्तारबारे छलफल गर्न अन्तरक्रिया आयोजना गरिएको आयोजकले जनाएका छन् ।
अन्तरक्रियामा बंगुरको प्रजनन स्वास्थ्य, आहारा, यससँग सम्बन्धित विकसित प्रविधिसँगै बंगुरपालनका सम्भावना, चुनौती तथा वर्तमान अवस्थाबारे १३ वटा कार्यपत्र प्रस्तुत भएकामा सहभागीले त्यसमाथि वृहत् छलफल गरेका थिए ।
नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छीतर्फ) डा. रेवतीरमण पौडेल, विशेष आतिथ्यता कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. टंकप्रसाद प्रसाईले गरेका थिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सूर्यप्रसाद पौडेल, नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे लौडारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक डा. प्रेरणा सेढ़ाईं, कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशका निर्देशक डा. समिद अहमद, कृषि अनुसन्धान निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक, प्रनिल केसी, गण्डकी प्रदेशस्थित पशु तथा मत्स्य विकास कार्यालयका प्रमुखहरू, नार्कअन्तर्गतका पशु तथा मत्स्य अनुसन्धान केन्द्रका प्रमखलगायत सरकारी अधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया