दानाको कच्चा पदार्थमा क्यान्सरजन्य तत्व रहेको दाबी गर्दै उजुरी
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको ‘हलकोइनल’ नामको प्रतिबन्धित अणु (मलिकुल) आयात गरेको दाबी गर्दै पशु सेवा विभागमा उजुरी परेको छ । हलकोइनल पशुपन्छीको दानामा प्रयोग प्रतिबन्धित औषधि हो ।
काठमाडौं महानगरपालिका–१० का नरेश कुँवरले ‘हलकोइल’ नामको प्रतिबन्धित अणु आयात गर्ने कम्पनीविरुद्ध विभागमा उजुरी दिएका हुन् ।
पशु सेवा विभागका महानिर्देशकलाई सम्बोधन गर्दै प्रेषित उजुरीपत्रमा ग्लामक इन्टरनेशनल प्रालिको च्याङ्का एचबिआरको उत्पादनहरु नेचुरल एन्टिडाइरियल, एण्टिफंगल, एन्टिप्रोटोजल, एटिमाइक्रोवियल र एटिभाइरलको नाममा त्यस विभागबाट आयात सिफारिस लिएको बताउँदै उजुरीकर्ताले कम्पनीले च्याङ्का एचबिआरको ओलाकोइनोडक्स उत्पादनमा हलकोइनल मिसाएको रहेको दाबी गरिएको छ । उजुरीकर्ताले प्रतिबन्धित तत्व मिसिएकाले त्यसको प्रयोगशाला परीक्षण गरेर मात्र सिफारिस दिन समेत निवेदनमा माग गरेका छन् ।
उजुरीपछि विभागका महानिर्देशक डा.उमेश दाहालले यसबारे थप अध्ययन गर्न राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालालाई निर्देशन दिएका छन् ।
प्रयोगशालाकी सूचना अधिकारी डा.नाजुमा जोशीले उजुरी प्राप्त भएको जानकारी दिँदै त्यसलाई पुष्टि गर्ने आधार भने कमजोर रहेको बताइन् । तथापि, उजुरीपश्चात नयाँ सिफारिस जारी नभएको उनले जानकारी दिइन् । ‘उजुरीकर्ताको मागमा कुनै आधार छैन,’ उनले भनिन् ‘ओलाकोइनोडक्स भन्ने उत्पादनमा हेलाकोइनल नामको तत्व छ भन्ने दाबी गरिए पनि कम्पनीको लिटेचर हेर्दा उजुरीकर्ताको आरोप बमोजिमको तत्व नभएको जिकिर गरेको छ ।’ उनले यो हर्बल उत्पादन भएको पनि बताइन् ।
यद्यपि, हेलोकोइनल समूहको तत्वमा कार्सोनेजेनिक भेटिएमा त्यो क्यान्सरको कारक हुने उनले बताइन् ।
पशु सेवा विभागको आयात निर्यात सिफारिस कार्यविधिमा प्रयोगशालाको परीक्षण रिपोर्टपछि मात्र सिफारिस दिनुपर्ने प्रावधान छ । तर सूचना अधिकारी नाजुमा जोशी सबै उत्पादनमा परीक्षण रिपोर्ट सम्भव नभएको तर्क गर्छिन् । ‘सबैमा त सम्भवै छैन, अझ यो हर्बल उत्पादनमा त असम्भव छ,’ उनले भनिन् ।
नेपालमा सम्भव भएको खण्डमा परीक्षण गर्ने र नभएको स्थितिमा उत्पादित देशको आधिकारिक प्रयोगशाला रिपोर्टबमोजिम गर्ने उनले बताइन् ।
अन्य कम्पनीका यस्तै हर्बल भएको मूल्य करिब ३०० रुपैयाँ प्रति केजीसम्म पाउनुपर्नेमा ओलाकोइनोडक्सको मूल्य १६०० रुपैयाँ प्रति केजीको हाराहारीमा बिक्री गरेको सूचना प्राप्त भएको छ ।
पशु सेवा विभाग स्रोतका अनुसार विभागले डा.नाजुमा जोशीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समितिसमेत गठन गरेका छ ।
प्रतिक्रिया