पशुपन्छी औषधि व्यवसायीले भोगेका अनावश्क दुःख अन्त्य हुनुपर्छ : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेनु दाहालले पशुपन्छी औषधि व्यवसायीले भोगेका समस्या समाधान हुनुपर्ने बताएकी छन् । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको चितवनमा आयोजित १४औं महाधिवेशन तथा ३३औं साधारणसभामा बोल्दै उनले पशुपन्छी क्षेत्रको विकासमा पशुपन्छी औषधि व्यवसायीले अतुलनीय योगदान गरेकाले राज्यका निकायले सहजीकरण गर्नुपर्ने बताइन् ।


‘पशुपन्छी औषधि व्यवसायीले पशुपन्छी क्षेत्रको विकासका लागि खेलेको योगदान अहं प्रकृतिको छ,’ कार्यक्रमकी प्रमुख अतिथि रहेकी दाहालले भनिन्, ‘पशुपन्छी व्यवसायीले अहिले झेलिरहेका समस्या अन्त्यका लागि राज्यका निकायले भूमिका खेल्नुपर्छ ।’ मेयर दाहालले पशुपन्छी औषधि व्यवसायीले झेलेका समस्या समाधानमा महानगरपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै संघीय सरकारका प्रतिनिधिलाई पनि यसमा गम्भीर बन्न आग्रह गरिन् । कार्यक्रममा बोल्दै पशुपन्छी औषधि क्षेत्रका सरोकारवालाले पसल दर्ता, नवीकरणमा समस्या हुने गरेको, पुनर्ताजगी कार्यक्रममा सञ्चालन नियमित नभएकोलगायत गुनासो गरेका थिए ।

मेयर दाहालले पशुपन्छी क्षेत्रको विकासका लागि किसानलाई दूधमा प्रतिलिटर रु. ३ अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि उक्त अवसरमा दिइन् ।

संघका पूर्वअध्यक्ष नवराज शर्मा तिमिल्सिनाले संस्था सुदृढ हुँदा व्यवसायी बलियो हुने उल्लेख गर्दै संस्थालाई मर्यादित बनाउन सबै व्यवसायी इमानदारपूर्वक लाग्नुपर्ने बताए । सरकारी नीतिका कारण व्यवसायीले पाएको झण्झटबारे पनि प्रकाशन पारेका थिए । उनले यो दुःखमा राज्य जिम्मेवार छ कि अरु कोही भनेर प्रश्नसमेत गरे ।

‘औषधि व्यवस्था विभाग (डिडिए) ले पसल दर्ता गर्छ । तर प्रमाणपत्र नवीकरण नहुँदा डिडिए आउला भनेर भाग्नुपर्ने अवस्था छ । यस्तो त्राहीमामको अवस्थामा कहिलेसम्म व्यवसायी बस्ने ?’ उनले डिडिएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न गरे ।

व्यवसायी तालिम सञ्चालनमा औषधि व्यवस्था विभागबाट पर्याप्त सहयोग नमिलेको अर्को गुनासो पनि उनले उक्त अवसरमा गरे ।

फरक प्रसंगमा उनले संघको ३३ वर्षको इतिहासमा पहिलो पटक धनाकुमारी अधिकारी पाण्डेबाट जग्गा प्राप्त भएकाले उनलाई सबैले अभिनन्दन गर्नुपर्ने बताए । उनले करोडौंको जग्गा दिने दानवीरलाई सम्मान नगरेको भन्दै असन्तुष्टि पनि जनाए ।

‘संस्था स्थापनाको ३३ वर्षमा पहिलो पटक भवन निर्माणका लागि काठमाडौंमा करोडौं रूपैयाँको जग्गा प्राप्त हुनु प्रशंसनीय काम हो । हामीले दानवीर धनकुमारी अधिकारी पाण्डेलाई अभिनन्दन गर्नुपर्छ ।’

तिमिल्सिनाले धनाकुमारीले हस्तान्तरण गरेको जग्गामा भवन बन्ने प्रष्ट पार्दै कुनै हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले किसानको गोठ गोठसम्म पुगेर जनताको सेवा गरेको भन्दै पशुपन्छी औषधि व्यवसायीको प्रशंसा गरे । ‘जनताको गोठ गोठसम्म पुगेर कसैले सेवा गरेका छन् भने ती पशुपन्छी औषधि व्यवसायी हुन् । म उहाँहरूको कामको प्रशंसा गर्न चाहन्छु,’ उनले भने ।

एन्टिबायोटिक्सको मनमौजी प्रयोगले एन्टिमाइक्रोबिएल रेसिस्टेन्स (एएमआर) को अवस्था आएको र यसले नेपालसँगै विश्वभर विकराल समस्या सिर्जना भएको उल्लेख गर्दै उनले यसमा गम्भीर हुन सुझाए ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का अध्यक्ष राम प्रसाद मेहताले पशुपन्छी औषधि दर्ता गर्न मिल्ने तर त्यसको नवीकरण गर्न किन नमिल्ने भन्दै औषधि व्यवस्था विभागसमक्ष प्रश्न तेर्साए । यसबाट व्यवसायीले दुःख पाएको भन्दै उनले यस्ता अपरिपक्व अवस्था अन्त्य हुनुपर्ने बताए ।

तालिमका लिएका व्यवसायीले सिकेका कुरा बिर्सिने अवस्था भइसक्दा पनि डिडिएले परीक्षा सञ्चालन नगरेकोमा पनि उनले असन्तुष्टि जनाए । ‘तालिम लिएका व्यवसायीले सिकेका कुरा बिसिन लागिसकेका हुन्छन् । तैपनि तालिम सञ्चालन हुँदैन,’ उनले भने ।

पशुपन्छी क्षेत्रको सम्भावना अथाह भए पनि त्यसबाट लाभ लिन राज्य चुकेको मेहताको निष्कर्ष थियो ।

फरक प्रसंगमा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए । ‘म आफैंले विभिन्न राजनीतिक परिवर्तन भोगेको छु । हामी अहिले गणतान्त्रिक व्यवस्थामा छौं । तर व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन किन भएन ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघलाई सक्षम नेतृत्व चयन गर्न सुझाव दिँदै उनले हातेमालो गरेर अघि बढ्न निम्तो दिए ।

संघका पूर्वअध्यक्ष रेवतीरमण निरौलाले भेटेरिनरी औषधि हेर्ने गरी छुट्टै निकाय खडा गर्नुपर्ने आवश्यकता औंल्याए । पशुपन्छी औषधि व्यवसायीले मौजुदा व्यवस्थाबाट अनावश्यक दुःख पाएकाले यसलाई अन्त्य गर्न अलग विभाग चाहिने उनको तर्क छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले एएमआर गम्भीर समस्याका रूपमा आएको स्मरण गराउँदै सचेत हुन आग्रह गरे ।

विभागबाट व्यवसायीले आवश्यक सहयोग नपाएको सम्बन्धमा पनि उनले एक एक गरी प्रष्ट पारेका थिए । गलत ढंगले पसल दर्ता गरेको पाइएकाले तिनको नवीकरण नगरिएको उनले प्रष्ट पारे । ‘गलत कागजात पेश गरेर दर्ता गरेका कारण नवीकरण नगरिएको हो । त्यस्तामाथि हामी खोजी खोजी कारबाही गर्छौं,’ उनले भने । सेवा प्रवाहका क्रममा विभागबाट पनि गल्ती भएको हुनसक्ने उल्लेख गर्दै उनले त्यसलाई सच्याउँदै जाने प्रतिबद्धता जनाए ।

भेटेनिरी औषधि गुणस्तर कार्यालयका डा. सुजन रानाले पशुपन्छी औषधि व्यवसायीलाई दिइने तालिम यो क्षेत्रको प्रस्थान बिन्दु भएकाले बिर्सियो भनेर गुनासो गर्न नपाइने बताए । एन्टिबायोटिक्स रेसिस्टेन्स विकराल समस्याका रुपमा देखिएकाले सचेत हुन उनले व्यवसायीलाई सुझाए ।

संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एफएनसिसिआईका सदस्य नरेशलाल श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष रितेश रिमाललगायतले भनाइ राखेका थिए ।

चितवनको नारायणगढमा मंगलबारबाट सुरु भएको महाधिवेशन बुधबारसम्म चल्नेछ । महाधिवेशनमा सहभागी हुन देशभरबाट ६०० प्रतिनिधि कार्यक्रमस्थल आइपुगेको आयोजकले जनाएका छन् । महाधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्ष, महासचिवलगायत पदाधिकारी र सदस्य चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *