मेरो विजयी हुने सम्भावना १०० मा ९९.९९ प्रतिशत छ
धनाकुमारी अधिकारी पाण्डे नेपाल पशुपन्छी औषधि व्यवसायीका लागि चिरपरिचित नाम हो । यो क्षेत्रमा उनको अनुभव नै ३२ वर्ष लामो छ ।
संघको जिल्ला, प्रदेश शाखा हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी उनी हरेक जिम्मेवारी अब्बलतापूर्वक निर्वाह गरेको दाबी गर्छिन् । व्यवसायीको हक–हितका लागि निरन्तर सक्रिय धनाकुमारीले संघको आसन्न १४औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘लिनका लागि नभएर दिनका लागि अध्यक्षको प्रत्यासी भएको’ बताउने धनाकुमारीसँग उनको उम्मेदवारी, उनको पक्षमा देखिएको माहोल, विजयी भएपश्चातका कार्ययोजनालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकका विष्णु पाण्डेले गरेको कुराकानी :
तपाईं नेपाल पशुपन्छी औषधि व्यवसायी संघको वर्तमान कार्यसमितिको उपाध्यक्ष हुनुहुन्छ । वर्तमान कार्यसमितिको कार्यकाल करिब अन्तिम चरणमा आइपुगेको छ । कस्तो रह्यो यो कार्यकाल ?
उपाध्यक्षमा विजयी भएपछि अन्तरक्रिया कार्यक्रम गरेँ । व्यवसायीलाई प्रदान गरिँदै आएको तालिम ९ वर्षदेखि स्थगित भएको थियो, त्यसलाई सञ्चालन ग¥यौं । २÷३ लट यो तालिम सञ्चालन भइसकेको छ भने आगामी दिनमा पनि निरन्तर अघि बढ्ने व्यवस्था गरिएको छ । बजारमा अत्यावश्यकीय औषधि अभाव हुने गरेको छ ।
यसरी औषधि अभाव हुँदा स्वाभाविक रूपमा किसान मर्कामा पर्ने नै भए । त्यसैले औषधिको पर्याप्तताका लागि संघले पहल गर्दै आएको छ । अत्यावश्यकीय कतिपय औषधि दर्ता गर्न सकिएको छैन । यो समस्या समाधान गर्न पनि हाम्रो प्रयास रह्यो । मानव र पशुपन्छी दुवै औषधिको नियामक निकायका रूपमा औषधि व्यवस्था विभाग छ । तर विभागबाट भेटेरिनरी औषधिले खासै महत्व पाउने गरेको छैन ।
अर्को शब्दमा भन्नुपर्दा भेटेरिनरीकालाई विभागले सौतेलो व्यवहार गर्ने गरेको छ । औषधि व्यवस्था विभागमा भेटेरिनरी हेर्ने अलग शाखासम्म छैन । यदि भेटेरिनरी औषधि मात्र हेर्ने अलग शाखा हुन्थ्यो भने हामीलाई निकै सहज हुने थियो । यसतर्फ पनि हामीले निरन्तर आवाज उठाइरहेका छौं ।
संघको आगामी कार्यकालको अध्यक्षका लागि उम्मेदवारी दिने मनस्थितिमा किन पुग्नुभयो ?
म ०४८ सालबाट पशुपन्छी औषधि व्यवसायमा आएको हुँ । सरकारी कर्मचारी भएकाले ०६० सालसम्म मैले पार्ट टाइम यो व्यवसाय गरेँ । ०४० सालदेखि ०६० सालसम्म सरकारी सेवामा रहँदा झण्डै ११÷१२ वर्ष म स्वास्थ्य मन्त्रालयमा रहेँ । मैले आफ्नो जीवनमा सक्रियतापूर्वक काम गरेको समयावधि नै ४० वर्ष भइसकेको छ । यो क्षेत्रमा हासिल गरेको लामो अनुभव र सेवा गर्ने चाहाका कारण मैले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
यति बेला मलाई ०७२ सालको विनाशकारी भूकम्पको याद आइरहेको छ । यो भूकम्पका बेला राहत बोकेर म दुई÷चार ठाउँ पुगेको थिएँ । सामाजिक काम गर्दा मलाई आनन्द मात्र आएन, यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ भन्ने आत्मबोध पनि भयो । यहीबीचमा म लायन्स क्लबमा आबद्ध भएँ । यसले ‘सामाजिक काम नै धर्म हो’ भन्ने सन्देश बोक्दो रहेछ । यसबाट प्रभावित भएर म दुई÷तीन कार्यकाल तलै बसेर काम गरेँ ।
मेरा सबै सन्तान आ–आफ्नो सेक्टरमा सक्षम छन् । पारिवारिक जिम्मेवारी पनि पूरा गरिसकेकाले मलाई लाग्यो, सामाजिक कार्यका लागि अब केही गर्नुपर्छ । कहाँबाट गर्ने भन्नेमा घोत्लिँदा संघमा गर्नु नै उपयुक्त हुने निष्कर्ष निकालेर बागमती शाखामा एक कार्यकाल सदस्य पनि भएँ । त्यसपछि केन्द्रमा जान मन लाग्यो, केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भएँ । साथीहरूको मूल्यांकन कस्तो छ, थाहा भएन तर विगतको भूमिका फर्किएर हेर्दा आफू सफल भएँ भन्ने लाग्छ । आफूले चाहेको काम गर्न त नेतृत्वमै पुग्नु पर्ने रहेछ । त्यही भएर मैले संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
व्यवसायी साथीहरूको ओरियन्टेसन क्लासका लागि हाम्रा अग्रजहरू निकै दौडधूप गर्नुभयो । यो तालिम सञ्चालन गर्नुपर्छ भनेर लाग्नेमध्येको एक म पनि हुँ । परिणामतः दुई हजारभन्दा बढी व्यवसायीले यो तालिम हासिल गरिसक्नुभएको छ । यसरी हेर्दा के देखिन्छ भने यो संघ व्यवसायीकै हो । एक्लै केही हुँदैन, उहाँहरूको हक–हितका लागि यो संघ चाहिन्छ । यही परिकल्पनाका साथ ४७ खाकासहित संघको स्थापना गरिएको थियो । मेरो श्रीमान् स्वयंले दुई कार्यकाल संघको नेतृत्व लिनुभयो ।
व्यवसायीले तपाईंलाई कसरी बुझ्नुभएको छ ?
व्यवसायीले मलाई कसरी बुझ्नुभएको छ भन्नेमा भन्दा पनि मलाई के दिन सक्छु भन्नेमा बढी चासो छ । हामी मरणशील प्राणी हौं । तर यो संस्था त रहिरहन सक्छ । यो संस्थाको अहिलेसम्म आफ्नै स्थायी भवनसम्म छैन । यो कहिले कता सारेको हुन्छ त कहिले कता । विगतका दिनमा विभिन्न व्यवसायीले पनि भवन बनाउने वाचा गर्नुभयो । तर पूरा भएन । त्यसैले मैले संस्थाका लागि भवन निर्माण गर्न जग्गा हस्तान्तरण गरेको हुँ ।
संघ सम्बद्ध व्यवसायीको सोच नाफा कमाउने हुन्छ । यो स्वाभाविक पनि छ । तथापि, तपाईंले भवन निर्माणका लागि साढे ४ आना जग्गा नै दिने घोषणा गरिदिनुभयो । तथापि, कतिपयबाट नकारात्मक टिका–टिप्पणी भइरहेको सुनिन्छ । यसबारे यहाँको भनाइ के छ ?
मैले त्यो जग्गा निकै दुःखका साथ खाइनखाइ सञ्चय कोषमा जम्मा भएको रकम र विवाहमा श्रीमान्ले दिनुभएको गहना बेचेर ०५१ सालमा किनेको हुँ । सरकारी सेवाबाट अवकाश भएकाले मेरो पेन्सन आउँछ । यसो सोचेँ, बिहान–बेलुका दुइटा रोटी र दुई गाँस भुजा खान्छु । छोरीहरू पनि सबै आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् ।
३३ वर्ष इतिहास बोकेको संस्था, जुन भोलि पनि रहिरहन सक्छ, लाई यो जग्गा किन नदिने ? मैले यस्तो उदारता नदेखाए कसले देखाउँछ ? यही सोचका साथ मैले यो जग्गा संघलाई दिने निर्णय लिएको हुँ । यस्तो निर्णय लिँदा साथीहरूले अध्यक्ष पद हत्याउन यस्तो घोषणा गरिन् भनेर आरोप लगाउनुभयो । तर यो सत्य होइन । यो किन सत्य होइन भने म अध्यक्षको प्रतिस्पर्धामा गइसकेको छु । व्यवसायीको हक–हितमा लामो समयदेखि क्रियाशील रहेकाले उहाँहरूले मेरो मूल्यांकन गर्नु हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ ।
रह्यो कुरा, जग्गा प्रदान गर्ने निर्णयमाथि भएका टिप्पणीको । धमिलो पानीमा माछा मार्ने धेरै हुन्छन् । त्यो उहाँहरूको सोच हो । म त्यसतर्फ जान चाहन्नँ । म वर्षौं यो व्यवसायमा लागेको एउटा महिला हुँ । यसमा त सबैले गर्व गर्नुपर्छ, बदख्वाइँ गर्न जरुरी छैन । एक पटक महिलालाई अध्यक्षमा अवसर दिऊँ भनेर प्रस्ताव राखेको भए म अझै खुसी हुने थिएँ ।
जग्गा त दिनुभयो । भवन कसले बनाउँला त ?
आफ्नो कार्यकालमा भवन हस्तान्तरण गर्न सकेँ भने त्यो मेरो सफलता हुनेछ । भवन निर्माणका लागि आर्थिक स्रोत चाहिन्छ । यसका लागि मैले सबैसँग आर्थिक सहयोग आह्वान गर्ने सोच बनाएको छु । उपत्यकाबाहिरकबाट आउने साथीहरूलाई बस्नका लागि केही कोठा पनि बनाउने सोच छ ।
जिल्ला, प्रदेश हुँदै तपाईं संघको केन्द्रीय अध्यक्षको दाबेदारी गर्ने स्थानमा आइपुग्नुभएको छ । पुरुष व्यवसायीबाट कत्तिको साथ–सहयोग मिलिरहेको छ ?
कसैले सहयोग गर्नुभएको होला, कसैले नगर्नुभएको होला, म यसतर्फ जान चाहन्नँ । म व्यवसायीहरूको हक–हित प्रवद्र्धनका लागि आफ्नो ल्याकतले भ्याएसम्म हरदम लागिपर्नेछु ।
अध्यक्षमा विजयी भएपछि गर्ने यहाँका कार्यसूचीहरू के–के छन् ?
खुद्रा, थोक, आयातले बहुआयामिक समस्या झेलिरहेका छन् । म एक्लैले त केही गर्न सक्दिनँ । अध्यक्षमा विजयी भएँ भने सिंगो टिमको साथ लिएर व्यवसायीको हक–हितमा काम गर्नेछु । शाखा, प्रदेश र केन्द्रमा सामूहिक अन्तरक्रिया गराउने सोच पनि छ । यसले त्यहाँका समस्या थाहा पाउन बल पुग्ने विश्वास छ ।
तपाईं मैदानमा उत्रिसक्नुभएको छ । विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
विजयी हुनेमा म निश्चिन्त छु । यसमा मलाई कुनै शंका छैन । मेरो विजयी हुने सम्भावना १०० मा ९९.९९ प्रतिशत छ ।
प्रतिक्रिया