व्यवसायीको हितमा काम गरेकाले विजयी हुनेमा ढुक्क छु,जग्गा दानको घोषणा दुर्भाग्यपूर्ण पनि हुनसक्छ
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशन यही पुस २४ र २५ गते चितवनमा हुँदै छ । पशुपन्छी व्यवसायीहरूको कुम्भ मेलाका रूपमा चिनिने महाधिवेशनमा व्यवसायी रितेश रिमालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । रिमाले पशुपन्छी व्यवसाय र संघमा वर्षौंदेखि सक्रिय व्यवसायी हुन् । व्यवसायीको हितमा अनवरत काम गरेकाले आफ्नो जितको आधार त्यही हुने उनको दाबी छ । रिमालसँग पशुपन्छी औषधि व्यवसायी संघको आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर विष्णु पाण्डेयले गरेको सवाल
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा यहाँले उम्मेदवारी घोषणा गर्नुभएको छ । तयारी कसरी गर्दै हुनुहुन्छ ?
मेरो तयारी अन्तिम चरणमा पुगेको छ । व्यवसायी साथीहरूबाट राम्रो प्रतिक्रिया आइरहेको छ ।
व्यवसायीबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनुभयो । तपाईंको जितका आधारहरू के–के हुन् ?
विगत लामो समयदेखि संघसँग जोडिएर काम गर्दै आइरहेको छु । संघका विभिन्न पदमा रहँदा आफ्नो जिम्मेवारी इमानदारपूर्वक निर्वाह गरेँ जसको महसुस व्यवसायीलाई छ । केन्द्रीय सदस्य होस् वा कोषाध्यक्ष, केन्द्रीय सल्लाहकार र उपाध्यक्षको भूमिकामा रहँदा नै किन नहोस्, मैले व्यवसायीको हितमा सक्दो काम गरेँ भन्ने लाग्छ । केही समय मैले कार्यवाहक अध्यक्षकको भूमिका निर्वाह गर्ने अवसर पनि पाएको थिएँ । यसक्रममा धेरै कार्यक्रम सञ्चालन गरेँ । तालिमलाई अन्तिम रूप दिने काम पनि मैले नै गरेको हुँ । व्यवसायीलाई राहत प्रदान गर्न संस्थागत र व्यक्तिगत दुवै हिसाबले पहलकदमी लिइरहेको हुनाले संघमा आबद्ध व्यवसायी साथीहरूले निर्वाचित गराउनुु हुनेछ भन्ने मेरो विश्वास छ ।
पशुपन्छी औषधि व्यवसायीका ज्वलन्त समस्याहरू के–के छन् ?
व्यवसायीले भोग्दै आएका समस्यासम्बन्धमा मैले विभिन्न फोरममा बोल्दै आइरहेको छु । तपाईंहरूले पनि ती विषय प्रकाशन तथा प्रसारण गर्दै आइरहनुभएको छ ।
ती फोरममा मैले छोटा–छोटा कुरा राखेको छु । मेरो विचारमा व्यवसायीमा तीन किसिमका समस्या छन् । पहिलोमा विगत वर्षदेखि नै भोग्दै आइरहेका छन् । पुराना समस्यामध्ये कतिपय समाधान भइसके पनि केही समाधान हुने प्रक्रियामा छन् । त्यसमध्ये मुख्य तालिम हो । प्रमाणपत्र नवीकरण प्रक्रिया पनि उत्तिकै झण्झटिलो छ । यसलाई समाधान गर्न हामीले निरन्तर औषधि व्यवस्था विभागलाई झक्झकाउँदै आएका छौं । यसलाई तीन या पाँच वर्ष बनाउनुपर्ने हाम्रो माग छ । यसमा औषधि व्यवस्था विभाग पनि लचिलो बनेको छ । तथापि, निर्णय आउन भने बाँकी छ । मलाई आशा छ, यसमा केही न केही सकारात्मक निर्णय हुनेछ ।
अर्को छ, भइपरी आउने समस्या । यसमा एमआरपी नभएका, दर्ता नगरिएका, गुणस्तर मापदण्ड पालना नगरी उत्पादन गरिएका औषधिलगायत मामला छन् । संघ नियामक निकाय नभएर व्यवसायीको हक–हित प्रवद्र्धन गर्ने छाता संगठन मात्र हो । यसले समस्यासम्बन्धमा सचेत मात्र पार्न सक्छ । त्यसैले हामीले एउटा बुलेटिन प्रकाशन गरेर ‘यी–यी औषधि मात्र दर्ता छन्, अन्य छैनन्’ भनेर गुणस्तरीय औषधि मात्र प्रयोग गर्न सुसूचित गर्नुपर्ने खाँचो छ ।
समस्या पुराना मात्र हुँदैनन्, उत्तिकै नयाँ पनि हुन्छन् । बदलिँदो समयसँगै समस्या पनि नवीन किसिमका सिर्जना हुन्छन् । भविष्यमा देखापर्ने समस्या समाधान कसरी गर्ने भन्ने सन्दर्भमा विचार गोष्ठीलगायत विभिन्न छलफल, अन्तरक्रिया कार्यक्रम भइरहेका छन् ।
होलसेलरले नियम पालना गर्नुपर्ने भनेर एउटा कार्यविधि आउँदैछ । यो कार्यविधि भेटेरिनरीमा लागू हुन्छ कि हुँदैन भन्ने प्रष्ट भइसकेको छैन । यदि त्यो कार्यविधि भेटेरिनरीमा पनि लागू हुने भयो भने त्यसलाई कसरी फलो गर्ने भन्नेसम्बन्धमा विशेष कार्ययोजना बनाउन जरुरी छ । यसका लागि सरोकारवालासँग कार्यशाला, अन्तरक्रिया, छलफल, गोष्ठीको खाँचो हुन्छ ।
तपाईंले भन्नुभयो कि कुन औषधि दर्ता गर्न लायक छन् भनेर बुलेटिन प्रकाशन गर्नुपर्ने आवश्यकता छ । यो त किसान हितका लागि पनि अपरिहार्यजस्तै भइसकेको छ नि होइन र ?
हो, किसान हितका लागि पनि यो काम गर्नुपर्ने जरुरी छ । पहिलो त यसबाट व्यवसायीहरू बच्ने भए । व्यवसायी बच्नु भनेको किसान मर्कामा नपर्नु हो ।
पशुपन्छी औषधि व्यवसायी संघ विशुद्ध व्यावसायिक संगठन हो । यस्तो संगठनमा पनि राजनीतिक रङ मिसिएको देख्न सकिन्छ । यसलाई यहाँले कसरी लिनुभएको छ ?
मेडिकल रिप्रेजेन्टेटिभका रूपमा काम गर्दै म यहाँ आइपुगेको हुँ । विगत १५ वर्षदेखि संस्थामा आबद्ध छु । यति ठूलो चुनाव लड्न आर्थिक रूपले सबल नभएकाले यो भड्किलो नहोस् भन्ने चाहन्छु । संघलाई बोझ कम होस् भन्नका खातिर साधारणसभा नन् रेजिडेन्स गरिएको थियो । तर महाधिवेशनका हकमा त्यो सम्भव भएन र आवासीय गर्न लागिएको हो । म आफैं कम खर्च गर्नुपर्छ भनेर विभिन्न प्रयोग गर्न लागिपरेकाले चुनाव भड्किलो गर्ने पक्षमा छैन ।
राष्ट्रिय राजनीतिमा जस्तो खर्च गर्नुपर्ने अवस्था संघको महाधिवेशनमा आयो भने म त अघि बढिसकेकाले हारे पनि जिते पनि जसोतसो लडौंला । तर विकृति संस्थागत हुँदै गएको खण्डमा म पछाडिका भाइ पुस्ता संघमा ताली मात्र बजाउन जाने अवस्था आउँछ । संघ एनजिओ र प्राइभेट लिमिटेडजस्तो हुन्छ कि भनेर मलाई डर लागिरहेको छ ।
गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट, दर्ताका विषयमा कुरा उठाउँछु भनेपछि ठूला व्यवसायी तपाईंविरुद्ध खनिए भन्ने सुन्नमा आएको छ । यथार्थ के हो ?
यो हुनसक्छ । किनभने, निश्चित ठूला व्यवसायीलाई बचाउन साना व्यवसायी मार्न हुँदैन भन्ने मेरो उद्देश्य हो । यो मेरो मात्र नभएर संघकै उद्देश्य हो किनभने, हाम्रो विधानले पनि त्यही कुरा भन्छ । कुनै पक्षलाई पक्षपोषण गर्न धेरै ठूलो पक्षलाई नोक्सानी गर्न हुँदैन भन्ने मैले बुझेको छु ।
तपाईंसँग अध्यक्षमा प्रतिस्पर्धामा उत्रिनुभएको धनाकुमारी अधिकारी पाण्डेले संघलाई घडेरी दिने घोषणा मात्र नभएर एक कार्यक्रमबीच हस्तान्तरण नै गरिसक्नुभएको छ । यससम्बन्धमा यहाँको भनाइ के छ ?
यसबारे मैले यसअघि नै धेरै ठाउँमा बोलिरहेको छु । त्यसैले धेरै टिप्पणी गर्न चाहन्नँ । यतिचाहिँ भन्छु, निर्वाचनको सम्भुखमा आएर यो घोषणा हुनु अकल्पनीय छ । उहाँको यो घोषणा दुर्भाग्यपूर्ण पनि हुनसक्छ ।
अन्तिममा आफ्ना मतदाता व्यवसायीलाई के अपिल गर्न चाहनुहुन्छ ?
संघमा हुँदा वा नहुँदा मैले सधैंँ व्यवसायीका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गर्दै आएँ । दुःख–सुखमा निरन्तर साथ दिँदै आएकाले म व्यवसायीहरूलाई मेरो पक्षमा मत जाहेर गरेर सेवा गर्ने मौका प्रदान गर्न अपिल गर्न चाहन्छु ।
प्रतिक्रिया