‘३४५ ह्याचरी उद्योगमध्ये १९६ बन्द भइसके’ अवस्था यही रहे बाँकी ३० प्रतिशत पनि बन्द हुन्छन्
कोभिड–१९ महामारीपूर्व नेपालमा ३४५ ह्याचरी उद्योग सञ्चालनमा रहेकोमा यीमध्ये १९६ बन्द भएको छ । पोल्ट्री क्षेत्रमा आएको मन्दीको असरले ह्याचरी उद्योग बन्द भएको र अवस्था यस्तै रहे अरू धेरै उद्योग बन्द हुने यो क्षेत्रका जानकारहरू बताउँछन् । यसै सन्दर्भमा भेट टाइम्स मासिकले नेपाल ह्याचरी उद्योग संघका महासचिव बलराम सञ्जेललाई पोल्ट्रीमा देखिएको मन्दीको असर ह्याचरीमा कस्तो परेको छ भनेर सोधेका छौं :
पोल्ट्री क्षेत्र मन्दीको मारमा परेको बताइन्छ । ह्याचरी उद्योगमा यसको असर कत्तिको परेको छ ?
अहिले आर्थिक मन्दीको अवस्था देखिएको छ । यसबाट पोल्ट्री क्षेत्र पनि प्रभावित भइरहेको छ । विगतको तुलनामा कुखुराको मासु र अण्डा उपभोग गर्ने दर नै खुम्चिएको छ । खपत दर नै घटेपछि कुखुरा पालनमा कमी आएको छ । त्यसको स्वाभाविक असर ह्याचरी उद्योगमा पनि परेको छ । यो असर सामान्य किसिमको नभएर गम्भीर प्रकृतिको छ । हामीले उत्पादन गरिरहेको चल्ला बिक्री नभएकाले भएका उद्योग संरचना खुम्चँदै गएको छ ।
कति छन् अहिले नेपालमा ह्याचरी उद्योगको संख्या ?
कोभिड–१९ महामारी आउनुभन्दा पहिले सरकारी निकायमा दर्ता ह्याचरी उद्योगको संख्या ३४६ थियो । तर अहिले यीमध्ये आधाभन्दा बढी उद्योग बन्द भइसकेका छन् ।
ह्याचरी उद्योग सञ्चालन गर्न अण्डा दिने प्यारेन्ट कुखुरा आवश्यक पर्छ । अण्डा नभई ह्याचरी उद्योग सञ्चालन हुँदैन । अहिले १५० ह्याचरी उद्योगले मात्र प्यारेन्ट कुखुरा पालेर चल्ला उत्पादन गर्न सकेका छन् । यही तथ्यांकले नै बताउँछ कि ह्याचरी उद्योग कसरी खुम्चिँदै गएको छ ।
चल्लाको उत्पादन कोभिड–१९ अघि कति थियो र अहिले कति भइरहेको छ ?
कोभिड–१९ महामारीको पेरिफेरिमा नेपालमा हप्ताकै हाराहारी ३५ लाख चल्लाको बजार थियो । तर यही बजारमा अहिले सातामा १७–१८ लाख चल्ला पनि बिक्री भएको छैन ।
मन्दीले ह्याचरी उद्योगको संरचना नै खल्बलिएको कुरा गर्नुभयो । यसले के–कस्ता चुनौतीहरू खडा भएका छन् ?
ह्याचरी उद्योगमा झण्डै २५० अर्बभन्दा माथिको लगानी छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यसको ४.५ प्रतिशतको योगदान छ । करिब ५ लाख मानिसलाई यसले रोजगारी दिएको थियो । व्यवसायले लय पक्डिएको हुनाले त्यहीअनुसार उद्योगमा लगानी थपियो, पूर्वाधारहरू बने, रोजगारीको अवस्था सिर्जना भयो । आर्थिक चहलपहल विशाल भयो । परिणामतः मुलुक कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्यो । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्रीले मुलुक पोल्ट्रीजन्य वस्तु मासु, अण्डा र चल्लामा आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो । तर अहिले कुखुराको चल्ला, मासु र अण्डाको बजार खुम्चिँदा उत्पादन लागतभन्दा कममा बिक्री गर्नु परेको छ । अर्कातिर उद्योगीको थाप्लोमा बैंकको ऋण छ । त्यसको किस्ता र ब्याजसमेत भुक्तानी गर्नुपर्ने हुँदा उद्योग चल्नै नसक्ने अवस्थामा पुगेका छन् । के गर्ने, कसो गर्ने भन्ने अन्योलग्रस्त अवस्थामा व्यवसायीहरू हुनुहुन्छ ।
त्यहाँ रोजगारी पाएकाको अवस्थाचाहिँ के छ ?
करिब ५ लाखले यो उद्योगबाट प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाइरहेका थिए । समग्र उद्योगमा आएको संकटले जनशक्तिसमेत धमाधम कटौती भइरहेका छन् ।
तपाईंले प्रस्तुत गरेको तथ्यांकले अवस्था निकै खराब भएको दर्शाउँछ । यो संकटबाट ह्याचरी उद्योगलाई बाहिर निकाल्न राज्यका निकाय र सरोकारवालाले के–कस्तो भूमिका खेलिरहनुभएको छ ?
यो आर्थिक मन्दीले पोल्ट्रीलाई मात्र नभएर देशका हरेक क्षेत्रलाई छोएको छ । यस्तो समय राज्यको भूमिका अझ बढी अभिभावकीय हुनुपर्ने हो । तर पोल्ट्री क्षेत्रको संकटकै बीच भारतबाट तस्करी गरेर कुखुराको चल्ला, मासु र अण्डा भित्रिरहेको छ । यो अहिलेको सबैभन्दा ठूलो ठाउको दुखाइको विषय हो । यता २–३ रूपैयाँ महँगो हुने र उता २–३ रूपैयाँ सस्तो हुनासाथ खुला सीमा जोडिएका सबै स्थानबाट ह्वारह्वारती अण्डा, चल्ला र मासु नेपाल भित्रिरहेको हुन्छ । चल्लाकै कुरा गरौं । अहिले यसको मागअनुसारको सप्लाई नै भइरहेको छैन । तराईका २२–२५ वटा जिल्ला, जुन भारतसँग जोडिएका छन्, बाट धमाधम चल्ला नेपाल भित्रिरहेका छन् । खुलेआम भारतीय चल्ला नेपाल भित्रिरहे पनि हामी व्यवसायी निरीह छौं । यसलाई रोक्नुपर्ने दायित्व सरकारको हो, तर सकेको छैन ।
त्यसै पनि ह्याचरी उद्योगीका लागि अवस्था कठिन बनिरहेको छ । यस्तो स्थितिमा खुला बोर्डरबाट कुखुराजन्य वस्तु तस्करी हुँदा व्यवसायी निकै ठूलो मारमा परेका छन् । व्यवसायीले हामीलाई मर्का प¥यो भनेर घच्घच्याउने हो । गाह्रो–साह्रो र अप्ठ्यारो पर्नुको कारण दर्शाउने हो । यसलाई नियन्त्रण र नियमन गर्ने काम अन्तत्वगत्वा सरकार र राज्यका निकायकै हो । तर सरकारले यसतर्फ ध्यान नदिँदा अलिअलि चलेका उद्योगहरू पनि ‘कोल्याप्स’ हुने अवस्थामा पुगेका छन् ।
भारतीय नाकाबाट भइरहेको तस्करी रोकिनुपर्ने यहाँले बताउनुभयो । पोल्ट्री क्षेत्रलाई चलायमान पार्न यसबाहेक अरू के–के गर्नुपर्ने खाँचो देख्नुहुन्छ ?
अहिले मासुको खपत दरमा नै संकुचन आएको छ । त्यसैले पहिलो त यसको खपत दर वृद्धि गर्नेतर्फ सोच्नुपर्छ । कुखुराको मासु, अण्डा उपभोग गर्दाका फाइदाबारे सचेतना फैलाएर यो काम गर्न सकिन्छ ।
दोस्रो, ह्याचरी उद्योगीले बैंकबाट ऋण लिएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । व्यवसायमा आएको खराब परिस्थितिले ती टिक्नै नसक्ने अवस्थामा पुगेकाले बैंकको व्याजदरमा सहुलियत प्रदान गर्नुपर्छ । राज्यले यति काम गरिदिने हो भने पनि व्यवसायीले ठूलो राहत पाउने थिए ।
पोल्ट्री क्षेत्रमा आएको मन्दीले कुखुरा पालनमा आबद्ध कैयन् पलायन भएका छन् । केहीले फार्म सञ्चालन त गरिरहेका छन् तर ती समस्या नै समस्याको चंगुलमा छन् । ती कुनै पनि बेला यो क्षेत्रबाट पलायन हुने खतरा छ । आत्मनिर्भर भइसकेको क्षेत्रमा आबद्धहरू यस्तो परिस्थितिबाट गुज्रनु सोचनीय कुरा हो । त्यसैले कुखुरा पालिरहेकालाई यसमै टिकाउन र थप व्यक्तिहरूलाई यसतर्फ आकर्षित गर्न राज्यले सोहीअनुरूप नीति ल्याउनुपर्छ । त्यसका लागि व्यवस्थित ढंगले अनुदान वितरणलगायत गर्न सकिन्छ ।
प्रतिक्रिया