लम्पी र खोरेत भ्याक्सिनको टेण्डर विवादमा, खारेज गर्न खरिद अनुगमनमा उजुरी,अख्तियार, कृषि मन्त्रालयलगायतलाई बोधार्थ
काठमाडौं । लम्पी स्किन र खोरेत(एफएमडी) रोगविरुद्धको भ्याक्सिन खरिदका लागि बदनियतपूर्वक टेण्डर आह्वान गरी स्वीकृत गरिएको भन्दै त्यसको खारेजीको माग राखेर सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ ।
पशुपन्छी औषधि आयात गर्दै आइरहेको कान्तिपुर भेट डिस्टिब्युटर्स प्रालिले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले एलएसडी र एफएमडी भ्याक्सिन खरिदका लागि आह्वान गरेको टेण्डरको प्रक्रियादेखि गुणस्तरसम्मका विषयमा प्रश्न उठाउँदै बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको हो । कान्तिपुर सो टेण्डर प्रक्रियामा सहभागी कम्पनी हो ।
उजुरीमा भ्याक्सिनको डोज उल्लेख गरी एउटै बोलपत्रद्वारा एकै वा दुवै भर्न मिल्ने गरी आह्वान गरिएको तर रकम नै उल्लेख नगरी केही व्यक्तिसँगको मिलेमतोमा राष्ट्रलाई हानि हुनेगरी प्रक्रिया अघि बढाइएको उल्लेख छ । बदनियतपूर्वक आह्वान गरिएको उक्त टेण्डर परियोजनाको वार्षिक कार्ययोजनामा नपरेको, एफएमडी भ्याक्सिनका सन्दर्भमा बोलपत्र सप्लाई गर्नेले भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाबाट पोटेन्सी टेस्ट नगराएको उजुरीकर्ताको भनाइ छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभग, नेपाल लाइभस्टक सेक्टर इनोभोसन आयोजना र विश्व बैंक नेपाल कार्यालयलाई बोधार्थ दिइएको उजुरीमा बोलपत्र आह्वान र स्वीकृत दुवैमा गम्भीर त्रुटि भएकाले त्यसलाई खारेज गरेर पुनः प्रक्रिया थाल्न माग गरिएको छ ।
‘…बदनियत चिताइ आह्वान गरिएको बोलपत्र उक्त परियोजनाको वार्षिक कार्ययोजनामा नपरेको र माग गरिएका सामग्रीका सम्बन्धमा कहीँ कतै मूल्य उल्लेख नगरी प्रचलित सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी त्रुटिपूर्ण ढंगले आह्वान गरी कार्य सम्पन्न भएको विवादित बोलपत्र बदर गरी पुनः बोलपत्र खोल्नका लागि निर्देशन हुने कारबाही हुन सादर अनुरोध छ,’ उजुरीमा भनिएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना खरिद शाखामा कार्यरत डा.केशव भट्टले भने प्रकृयामानै रहेको र मुल्याङ्क समितिले मुल्याङ्कन गर्न समेत बाँकी विषयमा टेण्डर स्विकृतको आरोप सही नभएको बताए ।
कार्यालयले प्रकृयापुरा गरेरनै टेण्डर खुलेको हो यसमा हामी थप २० दिनमा निछोडमा पुग्छौ उनले भने¨प्रकृयामा रहेको विषयमा फलानालाई टेण्डर दियो भन्न मिल्दैन,हेरौ कमिटिीले मुल्याङ्कन गर्छ सोही बमोजिम हुन्छ ।
भेट खबरलाई प्राप्त सूचनामा कार्यालयले टेण्डर आव्हनपूर्व उपलब्ध व्यावसायीक फर्म संग माग गरेको दरभाउभन्दा धेरै मुल्यमा टेण्डर पेश भएको पाईएको छ ।
प्रतिक्रिया