अन्ततः धनकुमारीले हस्तान्तरण गरिन् संघलाई जग्गा
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षकी आकांक्षी धनकुमारी अधिकारी पाण्डेले काठमाडौंको बालाजुमा रहेको साढे ४ आना जग्गा औपचारिक कार्यक्रमबीच पशुपन्छी औषधि व्यवसायी संघलाई प्रदान गरेकी छन् ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश समितिको शुक्रबार आयोजित १४औं अधिवेशन तथा छैठौं वार्षिक साधारणसभा कार्यक्रममा आफ्नो पूर्वघोषणा अनुसार धनकुमारीले उक्त जग्गा प्रदान गरेकी हुन् । उनले यसअघि संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफूलाई विजयी गराएको खण्डमा संघको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने घोषणा गरेकी थिइन् । यसलाई लिएर पशुपन्छी औषधि व्यवसायी तीव्र तरंगित बनिरहेका बेला उनले त्यसबाट एक कदम अघि बढेर जग्गा हस्तान्तरण गरेकी हुन् ।
यसअघि धनकुमारीले नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, केन्द्रीय कार्यसमितिलाई जग्गा ग्रहण गरिदिन आग्रह गरेकी थिइन् । धनकुमारीको प्रस्तावबारे छलफल गर्न संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त जग्गा ग्रहण गर्ने निर्णय गरेको छ । जग्गा संघको नाममा ल्याउनका लागि आवश्यक प्रक्रिया पूरा गर्न संघले पूर्वअध्यक्ष नवराज शर्मा तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार नै १५ सदस्यीय समितिसमेत गठन गरेको छ । अब यो समितिले आवश्यक समन्वय गरेर धनकुमारीको जग्गा संघको नाममा ल्याउन भूमिका खेल्नेछ ।
संघका अध्यक्ष सापकोटाले निःस्वार्थ भावका साथ धनकुमारीले जग्गा प्रदान गरेकोमा आभार प्रकट गर्दै आफ्नो कार्यकालमै ऐतिहासिक सौभाग्य प्राप्त भएको बताए । संघले शुक्रबार नै धनकुमारी, उनका श्रीमान् भरतबहादुर पाण्डे र छोरी यशुलाई फूलमाला र खादासहित सम्मानसमेत गरेको छ । भरतबहादुर पशुपन्छी औषधि व्यवसायी संघको दुई कार्यकाल अध्यक्ष भइसकेका व्यवसायी हुन् ।
प्रतिक्रिया