औषधि व्यवसायीलाई महाधिवेशनको चटारो, मुख्य पदमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन आगामी पुस २४ र २५ गते हुने तय भएको छ । महाधिवेशन आउन एक महिनाभन्दा पनि बढी समय बाँकी छ । तर पशुपन्छी औषधि व्यवसायीमा अहिलेदेखि नै महाधिवेशनको चटारोले छोप्न थालेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव,कोषाध्यक्ष,सचिवलगायत मुख्य पदमा धमाधम व्यवसायीले आफ्नो आकांक्षा सार्वजनिक गर्न थालेका छन् ।

व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले स्थापित संघमा पछिल्ला केही वर्षदेखि अन्य राजनीतिक संघ–संगठनकै झल्को दिनेगरी प्यानल बनाएर निर्वाचनमा होमिने तथा चुनाव पक्षमा पार्न खर्च गर्ने प्रवृत्ति मौलाएको छ ।

बजारमा गुणस्तरिय औषधिको अभाव रहेको, जीवरक्षक औषधिको लागि औषधि व्यवस्था विभागले चासो नदिएको, सिंगो व्यवसाय अनेकन समस्यामा फसिरहेको सन्दर्भमा यी ज्वलन्त मुद्दामा केन्द्रित हुनुपर्नेमा व्यवसायीहरू नेतृत्व हत्याउन उद्यत भएको भन्दै व्यवसायीबाट चिन्ता व्यक्त हुन थालेको छ ।

क–कसले घोषणा गरे उम्मेदवारी ?

महाधिवेशनको मिति नजिकिँदै गर्दा एकपछि अर्का व्यवसायीले उम्मेदवारी सार्वजनिक गरिरहेका छन् । संघका वरिष्ठ उपाध्यक्ष रीतेश रिमालले यस पटक अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् । व्यवसायीसँग आत्मिय घुलमिल हुने, सरलस्वभावका रिमालले उम्मेदवारी घोषणासँगै पक्षमा माहोल बनाउन देश दौडाह नै सुरु गरिसकेका छन् । संघमा कोषाध्यक्ष,उपाध्यक्ष एवं कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत कुशलता पुर्वक सम्पन्न गरिसकेका रीमालले भावी केन्द्रिय अध्यक्षकोरुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

त्यसैगरी, संघकी अर्का उपाध्यक्ष धन कुमारी अधिकारी पाण्डेले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । लामो अन्तरालपछि यस पटक संघको नेतृत्वमा महिलाको दाबेदारी प्रस्तुत भएको हो । निर्वाचनमार्फत नतिजा पोल्टामा पारेको अवस्थामा अधिकारी संघको इतिहासमै पहिलो महिला अध्यक्ष हुनेछिन् ।

विभिन्न जिम्मेवारीमा रहेर पशुपन्छी औषधि व्यवसायीको हितमा काम गरेकाले यस पटक अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन् । अधिकारी संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।

अध्यक्षबाहेकका पदमा पनि धमाधम उम्मेदवारी सार्वजनिक भइरहेको छ । संघका वर्तमान महासचिव नारायणबहादुर भुजेल र कोषाध्यक्ष सुना सुवेदीले उपाध्यक्षमा आकांक्षा राखेका छन् । यसैगरी संघको अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवमा साधुराम ढकाल (आषिश),हुमाकान्त काफ्ले र दिनेश कट्टेल  ले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा हालसम्म केशव शर्माले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक संञ्जाल मार्फत उम्मेदवारी सार्वजनिक गर्दै राजेन्द्र थापा मगरले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कसलाई कहाँ पछार्ने भन्ने दाँउमा तल्लिन व्यावसायीहरुले अन्तिम समयमा विभिन्न पदमा उम्म्ेदवार उठाएर चुनाव रोचक बनाउने चर्चा समेत व्यावसायी माझ चलेको छ ।

व्यावसाय कठिन मोडमा रहेको यस अवस्थामा व्यावसायको औतित्य जोगाउने उम्मेदवार संग के के योजनाहरु छन र तपाँईको उम्मेदवारी किन? भन्ने बारेमा आगामी अंकमा क्रमश प्रकाशन गर्नेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *