दूध बजारीकरण समस्याबारे नेभ्लाले बृहत् अन्तरक्रिया गोष्ठी गर्दै
काठमाडौं । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला), कोशी प्रदेशले दूध तथा दूधजन्य पदार्थको बजारीकरण समस्याबारे बृहत् अन्तरक्रिया गोष्ठी सञ्चालन गर्ने भएको छ ।
नेभ्लाको ३४औं स्थापना दिवसको अवसरमा बिहीबार (भोलि) बृहत् अन्तरक्रिया गोष्ठी गर्न लागिएको हो ।
गोष्ठीमा व्यावसायिक दूध उत्पादन गर्ने कृषक, दूध संकलन केन्द्रका सञ्चालकहरू, डेरी उद्योगीहरू तथा पशु सेवा क्षेत्रका संघ र प्रदेशका प्रमुख नेतृत्वसँगै प्रदेश सांसद, विज्ञ, सम्बन्धित निकायका प्रमुख तथा सरोकारबालालगायत १०० भन्दा बढीको उपस्थिति रहनेछ ।
गोष्ठीमा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहाल र नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले दुग्ध क्षेत्रमा देखिएको समस्या र त्यसको समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
व्यावासायिक रूपमा गाई–भैंसी पालन गरेर दूध उत्पादन गर्ने क्रम बढे पनि त्यसको बजारीकरण समस्या पेचिलो रूपमा देखिएको छ । यसका कारण कृषकद्वारा उत्पादित दूध बिक्री नहुने, संकलन केन्द्रहरूले उत्पादित सबै दूध नलिने, किसानले बिक्री गरेको दूधको समयमै भुक्तानी नहुने लगायत समस्या देखिएका छन् । दूध उत्पादक कृषक र व्यवसायी मारमा परेको विद्यमान अवस्थालाई मध्यनजर गर्दै यसको समाधान पहिल्याउन गोष्ठी गर्न लागिएको हो । यसबाट दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधानमा बल पुग्ने विश्वास आयोजकको छ ।
प्रतिक्रिया