दशैंमा होटल, रेस्टुरेन्ट बन्द हुने भएकाले कुखुराको मासु कम हुन्छ
युवापुस्ताको रोजाइमा खसीबोकाको भन्दा कुखुराको मासु पर्ने गर्छ । त्यसैले कुखुराको मासुको खपत बढ्दै गएको छ । पोल्ट्रीमा नेपाल आत्मनिर्भर भएकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । तथापि, खुला सीमा र फितलो सरकारी संयन्त्रका कारण भारतबाट कुखुराको आयात हुने गरेको छ ।
संघका अध्यक्ष जंगबहादुर बिसी अन्य समयको तुलनामा दशैंमा कुखुराको मासुको माग खस्किने बताउँछन् । माग कम हुने भएकाले सहज ढंगले दशैंमा कुखुरा उपलब्ध हुने उनको भनाइ छ । दशैंमा कुखुराको मासुको माग, यसको स्वच्छताको विषयमा बि.सीसँग भेट टाइम्सले गरेको कुराकानी :
दशैंमा उपभोक्तालाई स्वस्थ र स्वच्छ कुखुरा तथा अण्डा बिक्री गर्न कस्तो तयारी हुँदैछ ?
दशैंमा खसीबोकाजस्तो कुखुराको माग हुँदैन । दशैंमा अन्य समयको तुलनामा कुखुराको माग कम हुन्छ ।
खसीबोकाको माग बढ्ने, कुखुराको चाहिँ घट्ने कारण के होला ?
यसको एउटा मात्र नभएर धेरै कारण छन् । पहिलो दशैंमा खसीबोका, भेडा, च्यांग्राको मासु खाने अभ्यास छ । यही परम्परागत सोचका कारण दशैंमा उपभोक्ताले कुखुराको मासु कम खान्छन् ।
होटल, रेस्टुरेन्ट, होस्टल, क्यान्टिन कुखुराको मासु बढी खपत हुने ठाउँ हुन् । दशैंमा यी सबै बन्द हुन्छन् । दशैंमा कुखुराको मासुको खपतमा गिरावट आउनुको अर्को मुख्य कारण यो पनि हो ।
अन्य समयको तुलनामा दशैंमा माग घट्ने भएकाले कुखुराको मासु सहज र सरल ढंगले पाइन्छ । यसमा अतिरिक्त केही गर्नुपर्ने अवस्था छैन ।
माग कम भएपछि मूल्य पनि कम होला नि होइन ?
मूल्य घट्नेबारे अहिले नै केही भन्न सकिँदैन । आगामी दिनको बजारमा यो निर्भर हुन्छ । अहिले कुखुराको तयारी मासु प्रति केजी ३९० रूपैयाँ छ । योभन्दा बढ्ने सम्भावनाचाहिँ छैन ।
नयाँ पुस्ताको रोजाइमा खसीबोका भन्दा कुखुरा पर्ने गरेको छ । विगतको तुलनामा माग सुधारिएको छ कि छैन ?
नयाँ पुस्ताको रोजाइमा कुखुराको मासु पर्ने भए पनि दशैंमा उपत्यकामा बस्ने कमै हुन्छन् । सबै दशैं मान्न गाउँतिर जान्छन् । यहाँ बस्नेले उपभोग गरे पनि दशैंमा कुखुराको मासु बेच्न काठमाडौंमा चापाचाप हुँदैन ।
मासु स्वस्थ र स्वच्छ खानुपर्ने मान्यता छ । कुखुराको मासुको अवस्थाचाहिँ के छ ?
कुखुराको मासु त स्वच्छ नै छ नि । यसमा त्यस्तो खराब केही छैन ।
एन्टिबायोटिक्सको बढ्दो प्रयोगले स्वास्थ्य जोखिम बढाएको कुरा छ नि त ?
त्यो त हाम्रो क्षेत्र होइन, दाना उद्योगको हो । नेपाल सरकारका विज्ञले यसमा काम गरिरहेका होलान् ।
उपभोक्ताको भान्छामा स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व त तपाईंहरूको पनि हो नि ?
हामी आफैं पनि उपभोक्ता हौं । तथापि, त्यहाँसम्म जाने ठाउँ हामीलाई छैन ।
उपभोक्तालाई यहाँको केही सुझाव छन् कि ?
मासु उपभोग गर्दा सधैं स्वच्छ र स्वस्थ गर्नुपर्छ । अस्वस्थ मासु उपभोग गर्दा अनेक रोगको जोखिम हुने भएकाले राम्रो बधशालामा काटिएका कुखुरा मात्र सेवन गर्न म उपभोक्तालाई सुझाव दिन चाहन्छु । त्यसो त उपभोक्ता हामीभन्दा धेरै सचेत नै हुनुहुन्छ । तथापि, पुराना स्वास्थ्यलाई हानि हुने तौरतरिका नअपनाएर नयाँ प्रविधिलाई प्रोत्साहन गर्न अनुरोध गर्छु ।
प्रतिक्रिया