काठमाडौं महानगरपालिकाले ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुरको व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने भएकाे छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट् गर्दै महानगरका ९ वडामा यो अभियान सुरु गरेको जनाएका छन् ।

‘मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ,’ उनले लेखेका छन् ।

मेयर शाहले पशु कल्याण र पशु अधिकारका लागि महानगर सचेत रहेको बताउँदै सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख गरेका छन् ।

महानगरले आउँदो ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्धको खोप दिने र महानगरका ३२ वटै वडा पुग्ने लक्ष्य राखेको छ ।

‘चुनाव बेला घरदैलो गर्दा होस् वा कल सेन्टरमा गुनासो काठमाडौँको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेछ ।’

उनका अनुसार वडा ४ मा पशुपन्छीप्रति निर्दयिता रोकावट समाज, नेपाल, वडा ७ मा काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर), वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *