आज विश्व रेबिजविरुद्धको दिवस, नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिएको छ ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।

यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।

नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन्। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९–८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।

यस्तै आव २०७५–७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७–७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।

गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०–७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो ।

आव ०७१–७२ मा १३ जना, आव ०७२–७३ मा छ जना, आव ०७३–७४ मा आठ, आव ०७४–७५ मा ३२ जना र आव ०७५–७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँछन् ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उनको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।

नेपालमा विगत वर्षहरूदेखि नै रेबिजविरुद्धको दिवस मनाइँदै आएको छ । यस वर्ष पनि पशुपन्छी क्षेत्रका सरोकारवालाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । बुधबार मात्रै भेटेरिनरी अभ्यासकर्ता संघ, नेपाल, पशु सेवा, ललितपुर महानगरपालिकाको आयोजना तथा नेपाल भेटेरिनरी एसोसिएसनको सहआयोजना र नेपाल पशुपन्छी औषधि व्यवसायी संघको सहकार्यमा राजधानीमा रेबिज रोगबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *