पशु सेवा विभागको महानिर्देशकमा दाहाल, सम्झनाको सरुवा किसान आयोगमा

काठमाडौं । सरकारले पशु सेवा विभागको महानिर्देशक परिवर्तन गरेको छ । यसअघि उक्त जिम्मेवारीमा रहेकी डा. सम्झनाकुमारी काफ्लेलाई बदलेर डा. उमेश दाहाललाई उक्त जिम्मेवारीमा ल्याइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको कार्यक्रम निर्देशक डा. दाहाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको जनाएको छ । आइतबार यससम्बन्धी निर्णय गरेको मन्त्रालयले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।

डा. काफ्लेलाई किसान आयोगमा सरुवा गरिएको छ । किसान आयोग कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बेकामे सहसचिव थन्क्याउने अघोषित अखडा हो ।

महानिर्देशकको जिम्मेवारी पाएसँगै काफ्लेसँग पशुपन्छी क्षेत्रका विद्यमान समस्या समाधान गरेर नतिजामूलक काम गर्ने अवसर थियो । तर उनीमाथि नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोप छ । लम्पी स्किन रोगले महामारीको रूप लिए पनि त्यसको नियन्त्रणमा उनी खरो उत्रन नसकेको भन्दै स्वयं कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल असन्तुष्ट बनेको बताइन्छ ।

१६ संगठनले शून्य बजेटलगायतको विरोधमा गरेको आन्दोलन व्यवस्थापन गर्न पनि उनी सफल भइनन् । सुरुमा आन्दोलन गर्न उक्साएकी उनले पछि दोधारे रवैया देखाएकी थिइन् । यसबाट आन्दोलनरत पक्ष त क्रुद्ध बने नै मन्त्री भुसालसमेत असन्तुष्ट बनेको बताइन्छ ।

प्रष्ट दृष्टिकोण नदिने र सामान्य विषयमा समेत कुरा चपाएर गर्ने स्वभावले पशु सेवा विभाग उनको कार्यकालमा गतिशील हुन नसकेको अर्को आरोप पनि काफ्लेमाथि छ ।

त्यसैगरी, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको कार्यक्रम निर्देशकमा डा. रामनन्दन तिवारीलाई लगिएको छ । यसअघि विभागको महानिर्देशक रहेका उनी त्यहाँको गाडी दुर्घटना गराएपछि मन्त्रालय तानिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *