१६ संगठनले आज नयाँ बानेश्वरमा वृहत् भेला तथा प्रदर्शनी गर्दै

काठमाडौं । पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न १६ संगठनले आज राजधानीको नयाँ बानेश्वरमामा वृहत् भेला तथा प्रदर्शनी गर्ने भएका छन् ।

पशु सेवा विभाग मातहतका निकायबारे बजेटमा गरिएको प्रबन्ध, लम्पी स्किन, अफ्रिकन स्वाइभ फिभरबाट पीडित किसानलाई राहत, निःशुल्क खोप, एक पालिका एक भेटेरिनरी चिकित्सकलगायत माग राखेर नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अगुवाइमा संघर्षरत १६ संगठनले आइतबार बिहान ११ बजे वृहत् भेला तथा प्रदर्शनी गर्न लागेका हुन् ।

एनभिएका महासचिव डा. केदार सुवेदीले भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरमा भेला भएर नयाँ बानेश्वरमामा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।

सरकारले संघर्षरत १६ संगठनलाई औपचारिक तथा अनौपचारिक रूपमा संवादमा आउन भनेको छ । तर चरणबद्ध आन्दोलन घोषणा गरेका संगठनले आफेनो संघर्षको कार्यक्रमलाई यथावत् राखेका छन् ।

यसैबीच, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी क्षेत्रका पेशागत संघ–संगठनको मागबारे आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गर्दै सेवा प्रभावित हुने गरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. तपेन्द्रप्रसाद बोहराले विज्ञप्तिमार्फत विभिन्न ११ बुँदामा आफ्नो भनाइ राख्दै संघर्षरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।

बोहराका अनुसार, शून्य बजेटसम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइएकोमा बजेट प्रविष्टि कार्य फुकुवा भइरहेको छ ।

मन्त्रालयका अनुसार, मातहतका निकायहरूको पुनर्संरचनाका लागि योजना तथा विकास सहायता समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा विभागीय प्रमुखहरू सम्मिलित संगठन पुनरावलोकन कार्यदल गठन गरिएको छ । त्यसकै आधारमा मन्त्रालय मातहतका निकायको पनर्संरचना गर्ने मन्त्रालयको भनाइ छ ।

देशका सबै स्थानीय तहमा पशु सेवातर्फका अधिकृत तथा प्राविधिक सहायकहरूको दरबन्दी स्वीकृत भएइसकेको र सम्बन्धित स्थानीय तहहरू तथा प्रदेश लोक सेवाले पदपूर्ति निरन्तर गरिरहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *