कृषि मन्त्रालयका सचिव शर्मा र खराल भिजिलान्ते हुन् : शीतलकाजी

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पशुपन्छी चिकित्सक तथा प्राविधिकको माग र आन्दोलन दबाउन भूमिका खेलेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा, डा. दीपककुमार खराल र पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।

पशुपन्छी क्षेत्रका कार्यालयमा शून्य बजेट विनियोजन गरिएको र महामारीजन्य रोग नियन्त्रण, उपचार तथा राहत प्रदान गर्न सरकार चुकेको विरोधमा पशुपन्छी क्षेत्रका सरोकारवाला १६ संगठनले बुधबार राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै श्रेष्ठले मन्त्रालयका सचिव र विभागकी महानिर्देशकप्रति आक्रामक अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा बोल्दै श्रेष्ठले सचिवद्वय शर्मा र खराललाई ‘भिजिलान्ते’ को संज्ञा दिए ।

‘सबैभन्दा भिजिलान्ते, हाम्रो पेसामाथि कुठाराघात गर्ने कृषिविज्ञ एउटा गोविन्द शर्मा हो । त्यो चिन्न हामीले जरुरी छ,’ श्रेष्ठले भने । निकै आक्रोषित मुद्रामा प्रस्तुत भएका श्रेष्ठले यो कुरा शर्मासमक्ष पु¥याइदिन पनि आग्रह गरे ।

वनमा नरुचाएर खराल कृषिमा छिरेको आरोप लगाउँदै श्रेष्ठले उनीबारे पनि उस्तै टिप्पणी गरे । उनले भने, ‘अर्को भिजिलान्ते भनेको वनमा छिर्न नसकेर, वनमा नरुचाएर कृषिमा धकेलिएका दीपक खराल हुन् ।’ दीपक खरालकै कारण आफूहरूको आन्दोलन तुहिन पुगेको समेत उनले बताए ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको भूमिकाप्रति पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे । आन्दोलन गर्न प्रेरित गरेर काफ्ले कृषि मन्त्रालयका सचिवद्वयसँग मिलेको श्रेष्ठको आरोप छ ।
आर्थिक वर्ष २०८०÷८१ को बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रको बजेटमा गरिएको अमिल्दा विषयबारे प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री, कृषि सचिव र पशु सेवा विभागकी महानिर्देशकलाई विस्तृतमा जानकारी गराए पनि नजरअन्दाज गरेर समग्र पशुपन्छी क्षेत्र र पशुचिकित्सकप्रति बेइमानी गरिएको श्रेष्ठले बताए ।

सरकारले गत जेठमा ल्याएको चालु आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने, केही प्रदेशमा हस्तान्तरण गर्दै शून्य बजेट विनियोजन गरेको थियो । सरकारको यो कदमका कारण पशुपन्छी क्षेत्र थप समस्यामा परेको भन्दै पशुपन्छी क्षेत्रका सरोकारवालाले सच्याउन माग गर्दै आइरहेका छन् । तथापि, यसमा कुनै पुनरावलोकन भएको छैन । विषयविज्ञ हुँदाहुँदै पनि कृषि मन्त्रालयका सचिवद्वय शर्मा र खरालले नकारात्मक भूमिका खेलेको पशुपन्छी चिकित्सकलगायतको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *