पशु सेवा अन्तर्गतका निकायले ठप्प पारे आकस्मिकबाहेकका सबै सेवा
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा बजेट उपलब्ध नगराउँदा पशु सेवा विभागअन्तर्गतका ९ वटा सरकारी नियकाले आजदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् ।
राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रिफरल पुश चिकित्सालय, सार्क आरएसयु, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलाली, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा, पशु क्वारेन्टाइन कार्यालय विराटनगर र पशु क्वारेन्टाइन कार्यालय जनकपुरधामले सूचना जारी गर्दै १५ साउनबाट आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको जनाएका हुन् ।
लाइन मिनिष्ट्रि बजेट इन्फर्मेशन सिस्टम (एलएमबीआईएस)मा प्रविष्ट गरिसकिएको कार्याक्रमका बजेट समेत अर्थमन्त्रालयले कटौती गरी बजेट व्यवस्था नगरेकोले आकस्मिकबाहेकका कुनै पनि सेवा सञ्चालन गर्न सक्ने अवस्थामा आफूहरु नरहेको यी कार्यालयहरुले जनाएका छन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सरकारको चालू खर्च कटौतीका लागि पशु सेवा विभागअन्तर्गतका कार्यालयहरुको पुनसंरचना तथा मर्ज गर्ने नीतिगत व्यवस्था गरेको छ । सोही अनुसार पशु सेवा विभागअन्तर्गका २० वटा कार्यालयहरुको कुनै पनि कार्याक्रमका लागि सरकारले बजेट विनियोजन गरेको छैन । बजेटको व्यवस्था पनि नगर्ने र पुनसंरचना तथा मर्ज गर्न पनि ढिलाई गर्ने सरकारको प्रवृत्तिले यी कार्यालयहरु नै अन्योलमा परेका छन् । यसले यी कार्यालयमा कार्यारत ३५० भन्दा बढी कर्मचारी कामविहीन जस्ता देखिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा पशु सेवा विभागले पुनःसंरचना नहुञ्जेलसम्मका लागि सेवा सूचारु राख्न बजेटको व्यवस्था गर्न लगाउने बताउँदै आएको भए पनि सरकारले बजेटको व्यवस्था गरेको छैन ।
केही दिनअघि देखि नै यी कार्यालयहरुमा बजेट अभावले समस्या देखिएको थियो । तर, प्रधानमन्त्री इटालीको भ्रमणबाट फर्किएपछि नीतिगत निर्णय गरी बजेट व्यवस्थापन हुने पशु सेवा विभागको अपेक्षा थियो । तर, प्रधानमन्त्री नेपाल आएको केही दिन बितिसक्दा पनि अझै बजेट व्यवस्था नगरिँदा सेवा प्रवाहमा समस्या भएको हो ।
प्रतिक्रिया