अण्डा बजारीकरणमा नयाँ अवधारणा,देला पोल्ट्रीलाई त्राण ?

कुखुराको अण्डा उत्पादन गर्न किसानले आफ्नो श्रम र पसिनासँगै ठूलो धनराशी खर्च गरेका हुन्छन् । तर पछिल्ला केही वर्षदेखि सञ्चारमाध्यममा किसानका पीडा झल्कने यस्ता शीर्षकका समाचार प्रकाशन तथा प्रसारण हुनु सामान्यजस्तै छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट कुखुरापालक किसानले उत्पादन गरेको अण्डाले लागत मूल्यसमेत नपाउने दुःखद् अवस्था विद्यमान रहेको र यसले यो क्षेत्रमा लगानी गरिरहेकाहरू निराश तथा हतास बन्दै गइरहेको सुनाउँछन् । ‘एउटा किसानले ७–८ महिना कुखुरापालन गरेर अण्डा उत्पादन गर्छ । त्यसलाई २१ दिन मेसिनमा राख्छ । तर यति मिहिनेत गरेर उत्पादित अण्डाले भने लागत मूल्यसमेत पाउँदैन,’ उनले भने ।

नेपाल एग ट्रेडिङका अध्यक्ष शोभाकान्त ढकाल पनि अण्डा उत्पादक कृषक टिक्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । घाटा सहेर कुखुरापालन गर्नुपर्ने अवस्था सिर्जना भएपछि कतिपय पलायन भएर विदेशिएको र बाँकी पनि विकल्पको खोजीमा रहेको उनले सुनाए ।

‘महिनौंसम्म दाना र औषधि खुवाएर पालिएको कुखुराले दिएको अण्डा लागत मूल्यसमेत नउठ्ने गरी बिक्री गर्नुपर्ने बाध्यतामा किसान छन्,’ उनले भने, ‘यही कारण कैयन् पेशाबाट विदेशिएका छन् भने बाँकी पनि पलायन हुने मनस्थितिमा छन् ।’

पशुपन्छीपालन व्यवसाय यतिबेला प्रतिकूलता नै प्रतिकूलताको सामना गरिरहेको छ । लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरले गाई तथा बंगुरमा क्षति पुगिरहेको छ भने बर्डफ्लू महामारीले त पोल्ट्री क्षेत्रलाई त्राहीमाम पारिरहेको छ । यी समस्याबीच किसानले कुखुरापालन गरेर अण्डा उत्पादन गरिरहे पनि तिनले उचित मूल्य नपाउँदा समस्या गहिरिँदै गएको ढकाल बताउँछन् ।

एग ट्रेडिङले देला त्राण ?
अण्डा उत्पादक किसानले बजारीकरणको समस्या झेलिरहेका बेला यसलाई समाधान गर्ने हेतुले नेपाल एग ट्रेडिङ सञ्चालनमा आएको छ । अण्डा उत्पादक किसानहरूको स्वतः स्फुर्त प्रयासमा बजारीकरणको नयाँ अवधारणा अघि सारिएको हो ।

ट्रेडिङका अध्यक्ष ढकाल तहस–नहस हुन लागेको पोल्ट्री क्षेत्रलाई बचाउनका लागि ट्रेडिङ कम्पनी सञ्चालनमा ल्याइएको बताउँछन् । यो अभियानमा अहिले ३२ किसान जोडिएका छन् । आगामी दिनमा देशका कुना कन्दरासम्म पुगेर यसलाई देशव्यापी बनाउने ढकाल सुनाउँछन् ।

‘देशलाई आत्मनिर्भर बनाएको पोल्ट्री क्षेत्र कुनै पनि बेला ढल्न सक्ने खतरा छ,’ नेपाल एग ट्रेडिङ सञ्चालनमा ल्याउनुको अन्तर्यबारे खुलाउँदै उनले भने, ‘यो दुःखद् अवस्था ननिम्तियोस् भन्नका लागि बाँच र बचाऊँ भन्ने अभिप्रायका साथ एग ट्रेडिङ सञ्चालनमा ल्याइएको हो ।’

एग ट्रेडिङ सरकारी निकायमा दर्ता कम्पनी हो । यसमा व्यवसायी नभएर किसान मात्र जोडिने छन् । यसको मूल उद्देश्य किसानले उत्पादन गरेका अण्डाको व्यवस्थित बजारीकरण गरिदिनु रहेको ढकाल बताउँछन् ।

‘हाम्रो मूल उद्देश्य ट्रेडिङ हो । किसान र सप्लायर्सबीच पुलको भूमिका यसले निर्वाह गर्नेछ । अझै बुझिने भाषामा भन्नुपर्दा नेपाल एग ट्रेडिङले कुखुराको अण्डाको बजारीकरणमा मध्यस्थताको भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

यो अभियानमा जोडिएका पोल्ट्री महासंघका अध्यक्ष विष्ट एग ट्रेडिङ सक्रिय भएपछि अहिले विद्यमान अनावश्यक सप्लायर्सको लेयर, लागत मूल्य नपाउने समस्या हल भएर जाने विश्वास व्यक्त गर्छन् । ‘अहिले सप्लायर्सको अनावश्यक लेयर छन् । किसान लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्न बाध्य हुनुको कारण यो पनि हो । यसले अण्डा सप्लाइको विद्यमान लेयर घटाएर बजारलाई व्यवस्थित पार्नेछ,’ विष्ट भन्छन् ।

बजार अभाव झेलिरहेका देशभरका जोकोही किसानले ट्रेडिङमा सम्पर्क गरेर लाभ लिन सक्ने अभियन्ताहरू सुनाउँछन् । ढकालका अनुसार, ट्रेडिङबापत अण्डा बिक्री गर्दा किसानले कुनै शुल्क बुझाइ राख्नु पर्दैन । यो काम गर्दा कुनै ठूलो आर्थिक लगानी नभएकाले फाइदा लिइराख्न जरुरी नभएको उनको भनाइ छ ।

‘यो बजारीकरणमा समस्या झेलेका किसानको ओत लाग्ने थलो हो । हाम्रो सहयोगमा अण्डा बिक्री गर्दा कुनै शुल्क बुझाउनु पर्दैन ।’

एग ट्रेडिङले भावी दिनमा आफ्नो सञ्जाल देशभरि बनाउने योजना बनाए पनि हाललाई काठमाडौंमा मात्रै कार्यालय खोलिएको छ । ढकाल यहाँ कार्यालय आएर वा यसका प्रतिनिधिलाई टेलिफोनमार्फत सम्पर्क गरेर किसानले सहयोग प्राप्त गर्न सक्ने सुनाउँछन् ।

एकाधिकारको चिन्ता
एग ट्रेडिङले देशभर उत्पादित सबै अण्डा आफूमार्फत मात्रै बिक्री गर्ने योजना बनाएको छ । यसरी अण्डाको बजारीकरणमा एउटा संस्थालाई मात्र अघि सार्दा एकाधिकार हुने चिन्ता कतिपयले व्यक्त गरेका छन् ।

अध्यक्ष ढकाल यसबाट एकाधिकार हुन्छ कि भन्ने त्रास नपाल्न आग्रह गर्छन् । किसानलाई सहजीकरण गर्न ट्रेडिङले बिना शुल्क पुलको मात्रै काम गरिदिन लागेकाले एकाधिकारको प्रश्न उब्जाउन नहुने उनको तर्क छ ।

‘एग ट्रेडिङको काम बजार र मूल्य नपाएका किसानलाई सप्लायर्ससँग जोडिदिने हो । यहाँ एकाधिकारको कुनै प्रश्न नै आउँदैन,’ उनले भने ।

विष्ट अहिले विद्यमान अव्यवस्थित बजारलाई सुधारेर यसले थप व्यवस्थित र वैज्ञानिक पार्ने तर्क गर्छन् । उनका अनुसार, अण्डाको मूल्य तोकिँदैन, संघले मात्र निर्धारण गर्नेछ । त्यसो हुँदा यसमा मनोपोलीको खतरा नहुने विष्टको तर्क छ । ‘अण्डाको मूल्य जति राख्दा मनासिव हुन्छ, त्यति नै राखिन्छ । यसमा मनोपोली हुँदै हुँदैन,’ उनले अगाडि भने ।

यदि कसैले त्यस्तो गलत कार्य गर्छ भने आफू स्वयंले त्यसलाई अस्वीकार गर्ने विष्टले बताए । ‘कसैले मनोपोली गरेर अण्डाको मूल्य कायम गर्छ भने त्यो म आफैं स्वीकार गर्दिनँ,’ उनले भने ।

 

हेर्नुहोस नेपाल एग ट्रेडिङका अध्यक्ष ढकालसँग टेलिफोनमार्फत गरिएको कुराकानी

https://vetkhabar.com/2023/06/4222/

यो पनि हेर्नुहोस

https://vetkhabar.com/2023/06/4229/


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *