पेसागत एकतामा केनल व्यवसायीको जोड

काठमाडौं । पेट व्यवसायीहरूले स्वच्छ प्रतिस्पर्धा, आपसी मेलमिलाप र पेसागत एकतामा जोड दिएका छन् । लुक्सी भेट फर्मा र हिमालय औषधिको संयुक्त आयोजनमा सिन्धुलीको मूलकोटमा आयोजित पुनर्ताजगी कार्यक्रमका वक्ताहरूले पेट व्यवसायी एकजुट नहुँदा सिंगो उद्योगले गति लिन नसकेको निचोड निकाल्दै एकतामा जोड दिएका हुन् ।

केनल व्यवसायका हस्ती सुरेश शाहले पेट व्यवसायमा सम्भावना ठूलो भए पनि स्वच्छ र व्यावसायिक प्रतिस्पर्धाको अभावले अपेक्षित लय पक्डन नसकेको बताए । एकले अर्काको खुट्टा तान्दा सिंगो उद्योगलाई नै नोक्सान पुगेको उल्लेख गर्दै उनले संकुचित सोचाइबाट माथि उठ्न आग्रह गरे ।

‘एकले अर्काको खुट्टा तान्दा सिंगो इण्डष्ट्रीलाई नै घाटा हुन्छ । भविष्यलाई आघात पुग्छ,’ शाहले भने ।

पेट व्यवसाय हिजोको भन्दा घटेकोजस्तो देखिए पनि भविष्य उज्ज्वल रहेको शाहले बताए । पेट व्यवसायलाई अघि बढाउन उनले ‘ग्रोथ टुगेदर’को अवधारणासमेत अघि सारे । यो नाराको मर्मलाई पछ्याएर अघि बढेमा सबै व्यवसायीको भलो हुने उनको तर्क छ ।

‘अब हाम्रो उद्योगको नारा ‘ग्रोथ टुगेदर हुनुपर्छ,’ उनले अगाडि थपे, ‘यसले सबै सबैको भविष्य उज्ज्वल बनाउनेछ ।’

अहिले पेट व्यवसायमा रहेको पुस्तालाई भोलिको पुस्ताले योद्धाका रूपमा सम्मान गर्ने उल्लेख गर्दै उनले इमानदारितालाई अंगीकार गरेर व्यवसायमा अघि बढ्न सुझाव दिए ।

अहिले पेट व्यवसायमा देखिएको समस्याको क्षणिक भएको र यसले निकास लिने विश्वास शाहले व्यक्त गरे । चिनियाँ सफल व्यवसायी ज्याकमाको चर्चित भनाइ उद्धृत गर्दै उनले आज आएको समस्यामा बाँच्न सिक्ने व्यक्ति भोलि सफल हुने बताए ।

पशु चिकित्सक डा. अर्जुन अर्यालले एक अर्काको समस्या समाधान गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्दै स्वास्थ्यको ख्याल गरेर सेवा गर्न पेट व्यवसायीलाई आग्रह गरे ।

पेट व्यवसायी सुरेश कार्कीले हातमा हात र काँधमा काँध मिलाएर पेट व्यवसायी अघि बढे सबैको भलो हुने बताए ।

नेपालमा डगशो आयोजकका रूपमा पहिचान बनायका प्रवीण बज्राचार्यले केनलबारे धेरै कुरा बुझाउनु बाँकी रहेको उल्लेख गर्दै आफूले जनचेतनामूलकलगायत कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्का पेट व्यवसायी राज लुइँटेलले पेट व्यवसायमा अथाह सम्भावना रहे तर त्यसलाई पक्डन नसकिएको भनाइ राखे । सबै मिलेर अगाडि बढे यसको बजार विस्तार गरी धेरै लाभ लिन सकिने विश्वास उनले व्यक्त गरे ।

‘यो फिल्ड (पेट व्यवसाय) मा अहिले जति गरिरहेका छौं, त्योभन्दा तीन सय गुणा बढी काम गर्ने ठाउँ बाँकी छ,’ लुइँटेलले रिफ्रेसमेन्ट कार्यक्रममा भने, ‘एकले अर्कालाई सहयोग गरेर अघि बढेमा धेरै गर्न सकिन्छ । बजार ठूलो छ ।’

कार्यक्रमका आयोजक लुक्सी भेटका नारायणप्रसाद अधिकारीले नीति नियमको कमीले झेल्नुपरेको समस्याबारे चर्चा गर्दै प्रभावकारी र समयसामयिक नीति निर्माणमा जोड दिए । भन्सार दरलगायतमा समस्या रहेकाले यसको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

अरूले गल्ती ग–यो भनेर त्यसैलाई निरन्तरता दिनतिर नलागी राम्रो काम गर्न पनि उनले व्यवसायीलाई सुझाव दिए ।

पेट व्यवसाय खासगरी केनल व्यवसायको इतिहास स्मरण गर्दै उनले यो क्षेत्रको विकास र विस्तारमा योगदान दिने महानुभावप्रति आभार व्यक्त गरे ।

हिमालयनका उमेश कसपालले कम्पनीको इतिहासदेखि वर्तमानसम्मको अवस्थाबारे चर्चा गर्दै उपचार र पोषणमा खेलेको भूमिकाबारे प्रष्ट पारे । हिमालय कम्पनी धेरै किसिमका उत्पादन भएको र विश्वभर सञ्जाल रहेको कम्पनी हो । कसपालका अनुसार, हाल हिमालयका ५०० प्रोडक्ट छन्, जुन विश्वका ९५ भन्दा बढी देशमा बिक्री वितरण हुने गरेको छ ।

कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको थियो । जसमा व्यवसायीले सन् २०२०, २०२१ मा उत्पादन भएका पेटका प्रोडक्ट म्याद गुज्रन लागेपछि मात्रै बजारमा आइपुगेको, अनलाइन सेवा प्रदायकले अप्ठ्यारोमा पारेकोलगायत समस्या राखेका थिए । जवाफमा अधिकारीले आफ्नो नियतका कारणले नभई देशको झण्झटिलो प्रक्रियाले यस्तो अवस्था आएको र यसबाट आफू आजित बनेको बताए ।

‘मलाई उत्पादन भएको केही महिनामै पेटसम्बन्धी सामग्री तपाईंको हातमा पु–याउने चाहना छ । तर ती सामान आयातका लागि प्रयास गर्दा गर्दा महिनौं लाग्छ र ढिलो गरी आइपुग्छ । यो मेरोभन्दा पनि देशको समस्या हो,’ उनले भने ।

पेट व्यवसायी त्यसमा पनि काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा केनल व्यवसायमा आबद्धको बाहुल्यता रहेको कार्यक्रममा पशु चिकित्सक डा. अर्जुन अर्याललाई सम्मानसमेत गरियो । केनल व्यवसायको विकासमा उल्लेख्य योगदान दिएका  सुरेश शाहले दोसल्ला ओढाएर डा. अर्याललाई सम्मान गरेका हुन् ।

कार्यक्रममा केनल व्यवसायी गोविन्द बस्ताकोटीलगायतको पनि उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *