पशु प्रजनन, नश्ल सुधार र संरक्षणमा नतिजा ल्याउने गरी काम भइरहेको छ
पशुसेवा कार्यालयअन्तर्गत कार्यालय मध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयको सुचीमा समेत रहेको यस केन्द्रले वार्षिक करिब ५ करोडभन्दा बढी राजस्व संकलन समेत गर्दै आईरहेको छ । यस्तै,निजीस्तरमा खटिने प्राविधिकहरूलाई अनुदानमै नाइट्रोजन र जमेको वीर्य वितरणको योजना बनाउदै बोयर बोका माग भएको वर्षमै उपलब्ध गराउने र डिजिटाइजेशनमा जाने योजनाका साथ अगाडी बढिरहेको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे संग भेट टाइम्सले गरेको कुराकानी
राष्ट्रिय पशु प्रजनन कार्यालयहरू कहाँ–कहाँ र कसरी सञ्चालन भइरहेका छन् ?
संघीयता लागू हुनुअघि पशु विकास फार्म पोखरा र पशु प्रजनन केन्द्र पोखरा भन्ने दुई कार्यालय थिए । यसअन्तर्गत लहान र नेपालगञ्जका पशु प्रजनन कार्यालय पनि थिए । तर देशमा संघीयता लागू पश्चात पोखराका फार्म र कार्यालय गाभिएर राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा बनेको हो । तर लहान र नेपालगञ्जमा भएका प्रजनन कार्यालयले दुई छुट्टाछुट्टै समानान्तर कार्यालयको रूपमा विकास गरिएको छ । त्यसो हुँदा हाल नेपालमा ३ वटा पशु प्रजनन कार्यालयहरू सञ्चालनमा छन् ।
तीन वटै पशु प्रजनन कार्यालयको काम वीर्य उत्पादन हो ?
यी तीन वटै कार्यालय वीर्य उत्पादनको काम त गर्छन् । तर, नेपालगञ्जमा त्यति धेरै संख्यामा वीर्य उत्पादन हुँदैन । जस्तो पोखरा कार्यालयले वार्षिक ६ लाख डोज जमेको वीर्य उत्पादन गर्छ । नेपालगञ्जले वार्षिक ४० हजार डोज जति मात्रै जमेको वीर्य उत्पादन गर्छ । पूर्व क्षेत्रका लागि लहानले उत्पादन गरेको वीर्य वितरण हुन्छ । तर, ती कार्यालयलाई नपुगेको वीर्य पनि पोखरा कार्यालयबाट लिन सकिन्छ । पोखरा कार्यालयबाट देशभरि नै जमेको वीर्य जाने गरेको छ । हाल देशका ७० जिल्लामा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनमा छन् । यी सबै ठाउँमा जमेको वीर्य वितरणको काम भइरहेको छ । ५८ जिल्लामा वर्षैभरि जमेको वीर्य वितरण हुन्छ । पहाडी तथा हिमाली १२ जिल्लाहरूमा जाडोको समयमा वीर्य वितरण हुँदैन । मौसमअनुसार यी जिल्लामा वितरण हुन्छ ।
पशु प्रजनन कार्यालय पोखराले के के काम गर्दै आएको छ ?
खासगरी यो कार्यालयले दुई किसिमको काम गर्छ । एउटा चाहिँ शुद्ध नश्लको पशुपन्छी राख्ने फार्म (न्युक्लियस हर्ड) सञ्चालन गर्छ । हाम्रो फार्ममा अहिले गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा हुर्किरहेका छन् । अर्कोचाहिँ प्रजननका लागि राँगो, साँढे, बोका हुर्काउने काम भइरहेको छ । यी भाले पशुबाट हामीले वीर्य संकलन गरेर प्रयोगशालामा प्रोसेसिङ गरी जमेको वीर्य(सिमेन) तयार गर्छौँ । पशु सेवा प्राविधि, नायब पशु सेवा प्राविधिकलगायतलाई हामीले निश्चित रुट बनाएर जमेको वीर्य वितरण गर्छौँ ।
न्युक्लियस हर्डको मुख्य काम भनेको चाहिँ वंशावलीमा आधारित नश्ल सुधार कार्यक्रम अघि बढाउने नै हो । यिनीहरूमा उच्च प्रजनन मान भएको सिमेन प्रयोग गर्ने गर्छौँ । फार्ममा रहेका होलिस्टिन गाईहरूबाट बाच्छी जन्मियो भने रिप्लेसमेन्ट हर्डका लागि प्रयोग गर्छौँ । बाच्छा जन्मियो भने जमेको वीर्य तयार गर्नका लागि ल्याबमा पठाउँछौं । यसरी उच्च प्रजनन मान भएका पशु जन्मिए भने त्यसलाई नश्ल सुधारका लागि लाने गरेको छौं । राँगोको हकमा पनि त्यही नै हो ।
विशेष गरी मध्य पहाडी जिल्लाबाट प्राकृतिक गर्भाधानका लागि राम्रो मुर्रा जातको राँगो उपलब्ध गराइदिनु भन्ने माग आउने गरेको छ । निश्चित राजश्व लिएर हामीले राँगो पनि उपलब्ध गराउने गरेका छौ्रँ । त्यस्तै, हामीसँग बोयर जातको बोका छन् । बोयरको न्युक्लियर हर्ड छ । हामीले वार्षिक ५०÷६० बोका बिक्री वितरण गर्ने गरेका छौं । नेपाल सरकारलाई जाने राजश्व लिएर बोका उपलब्ध गराउने गरेका छौं । संख्या कम भएकोले माग अनुसार बोका उपलब्ध गराउन सकिएको छैन । माग आएको डेढदेखि २ वर्षभित्रमा बोका उपलब्ध गराउने गरेका छौं ।
खासगरी साँढे, राँगो र बोकाको जमेको वीर्यचाहिँ विभिन्न जिल्लाको माग अनुसार विभिन्न ३ वटा रुट बनाएर वितरण गर्ने गरेका छौं । प्रत्येक महिना काठमाडौँ वितरण रुट, पूर्वी रुटमा धनुषासम्म र पश्चिम कपिलबस्तुसम्म तालिका बनाएरै जमेको वीर्य वितरण गरिरहेका छौं ।
शुद्ध नश्लको बंगुरको पाठापाठी पनि किसानको माग अनुसार उपलब्ध गराइरहेका छौं । हामीसँग कागे भेडा पनि छन् । साविकको यो भेडी फार्मको रूपमा पनि चिनिन्छ । हामीले कागे भेडाचाहिँ नेपालको आफ्नै मौलिक जात भएकोले लोप हुन नदिन संरक्षण गरेर राखेका छौं । आनुवांशिक स्रोत संरक्षणका लागि कागे भेडा राखेका छौं ।
हाम्रो कार्यालयको मुख्य उद्देश्य भनेको देशमा रहेको कम उत्पादन, उत्पादकत्व भएका पशुहरूलाई उच्च प्रजनन मान भएको वीर्य प्रयोग गरेर नश्ल सुधार गर्नु नै हो ।
नेपालका रैथाने जातका पशुपन्छी लोप हुँदै गइरहेको भन्दै गुनासोसमेत भइरहेको छ नि ?
नश्ल सुधार गर्दा हामीले हाम्रो आफ्नो रैथाने जातका पशुलाई स्वस्थायी संरक्षण र परस्थानीय संरक्षणको रूपमा अघि बढाउँछौं । हाम्रा रैथाने जातका पशुमा आयातीत पशुको वीर्य प्रयोग गर्ने होइन । जस्तो कुनै ठाउँमा अछामी गाई छ भने त्यो ठाउँमा अछामी गाई संरक्षण समूह नै बनाएर अघि बढाइएको छ । त्यस्ता गाईमा जर्सी र होलिस्टिनको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधान गर्ने होइन । बरु, अछामी गाईबाटै जन्मिएका उच्च प्रजजन क्षमता भएका साँढेबाट नश्ल सुधार गर्ने हो । त्यसो हुँदा रैथाने जातको संरक्षणलाई पनि हामीले ध्यान दिएका छौं ।
नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआईपी) अन्तर्गत पनि यहाँहरूले उच्च जातको साँढे, गाई पनि प्राप्त गर्नुभएको थियो । त्यसको अवस्था के कस्तो छ ?
हामीलाई राज्यले विभिन्न आयोजनामार्फत उच्च नश्लका साँढे तथा बाच्छीहरू उपलब्ध गराइरहेको छ । जस्तो एनएलएसआईपीमार्फत हामीलाई ६ वटा अमेरिकन साँढे प्राप्त भएको छ ।
यीमध्ये ४ वटा पोखरामा छ भने २ वटा पशु प्रजनन कार्यालय लहानलाई दिएका छौं । त्यस्तै, हामीलाई कोइकामार्फत कोरिया सरकारले नेपाल सरकारलाई वस्तुगत अनुदानको रूपमा ९ कोरली बाच्छी र ६ वटा साँढे गरी १५ वटा बाच्छी र साँढे प्राप्त भएको छ । उक्त अनुदानमार्फत आएका बाच्छीमध्ये कमलामाई नगरपालिकामा ८१ वटा दिइएको छ । केही जिरी फार्ममा छन् । केही खुमलटार, नार्कको रामपुर फार्ममा छन् । हामीसँग रहेको अमेरिकन ४ वटा साँढेको सिमेन संकलन अहिले भइरहेको छ । एउटा निश्चित चक्रका लागि वितरण गर्न पुग्ने सिमेन संकलन भएपछि हामी वितरणमा पठाउने छौं । अब हामीले वैशाखदेखि अमेरिकन साँढेको जमेको वीर्य वितरणमा पठाउन सक्ने छौं ।
कोरियनको हकमा चाहिँ हामीलाई साना साँढे प्राप्त भएका थिए । त्यसो हुँदा वीर्य संकलन सुरु भएको छैन । उमेर पुगेपछि यिनीहरूको सिमेन परीक्षण गर्ने काम हुन्छ । गुणस्तर परीक्षण हुन्छ । त्यसपछि वीर्यलाई माइनस १९६ डिग्री तापक्रमको नाइट्रोजनमा राख्नुपर्ने हुन्छ ।
कतिपय अवस्थामा वीर्यले ज्यादा चिसो सहन नसक्ने हुन्छ । त्यसो हुँदा वीर्यको परिपक्वता र गुणस्तर परीक्षण पनि कृत्रिम गर्भाधानका लागि अब ठीक हुन्छ भन्ने भएपछि मात्रै हामी वीर्य संकलन सुरु गर्छौँ । त्यसो हुँदा चिसो सहन सक्ने परिपक्व भएपछि मात्रै संकलन र वितरणका लागि सहज हुन्छ ।
यहाँहरूले पिपिआरएस कार्यक्रम पनि सञ्चालन गरिरहनु भएको छ । उक्त कार्यक्रमको उपलब्धि कस्तो छ ?
हामीले पिपिआरएस कार्यक्रम चलाएका छौं । साविकमा यो कार्यक्रमलाई दुधालु गाईभैँसीको वंश सुधार कार्यक्रम(डिसिआइपी) भनिन्थ्यो ।
त्यो कार्यक्रमलाई अहिले प्रिडिग्री परफरमेन्स रेर्कडिङ स्किम (पीपीआरएस) भनिन्छ । यो कार्यक्रमअन्तर्गत रेकर्ड राखेर त्यसको आमाबाबु कस्तो थियो भनेर त्यसको आधारमा बच्चाको मूल्यांकन गरिन्छ । यो कार्यक्रम ११ जिल्लामा सञ्चालनमा छ । हामीले यो कार्यक्रमअन्तर्गत महिनामा एक पटक गाईभैँसीको दूधको नमुना लिन्छौं । त्यो दूधमा फ्याट, एसएनएफको मात्रा कति छ भनेर जाँच गरिन्छ ।
अर्कोतर्फ ती रेकर्ड गरिएका गाईभैँसी जसलाई ट्याग लगाइएको हुन्छ, तीनमा विदेशी सिमेन(वीर्य) मात्रै प्रयोग गर्छौँ । ती गाईभैँसीबाट जन्मिएका बहरहरूलाई हामीले हाम्रो सिमेन स्टेशनमा ल्याउँछौं ।
हामीले जुन गाई राखेका छौं । ती गाई बुल मदरका लागि राखेका हौँ । ती गाईबाट साँढे जन्माएर प्रयोगमा ल्याउने छौं । अहिले हामीले ६ वटा गाईमा कृषि तथा वन विश्वविद्यालयसँग समन्वय गरेर भ्रुण प्रत्यारोपण गरिसकेका छौं । २ महिना भयो । कति गर्भ रह्यो भन्ने पछि थाहा हुन्छ ।
अघिल्लो साल भ्रूण प्रत्यारोपण गरिएकामध्ये चितवनमा रहेको हाम्रो (डिसिआईपी) लालिगुराँस फार्ममा २ वटा साँढे जन्मिएका छन् । जन्मिएका नयाँ साँढेलाई हामीले ट्यागिङ गरेका छौं । अब निर्देशिकाले तोकेको मूल्यमा किनेर हामीले ती साँढेलाई पोखरा फाममा ल्याउन लागेका छौं ।
चालु आर्थिक वर्षमा यहाँहरूले गर्नुभएको मुख्य काम के कस्ता छन् ?
हामीले अघिल्लो साल ५ लाख १९ हजार डोज जमेको वीर्य उत्पादन गरेका थियौँ । यो वर्ष हामीले ६ लाख डोज उत्पादन गर्ने लक्ष्य लिएका छौं । त्यसमध्ये माघ मसान्तसम्ममा ४ लाख डोज उत्पादन गरिरकेका छौं । यस हिसाबले हामीले ६ लाख डोजभन्दा बढी जमेको वीर्य उत्पादन गर्न सफल हुने छौं ।
अर्को काम पीपीआरएस कार्यक्रमलाई पुनः तीनै तहको समन्वयमा राम्ररी सञ्चालन गर्न थालेका छौं । यो आर्थिक वर्षमा पहिलो पटक पोखराको न्युक्यिस हर्डका ६ वटा गाईमा भ्रूण प्रत्यारोपण गरेका छौं । त्यस्तै, दूध उत्पादन गर्ने हाम्रो मुख्य लक्ष्य नभए पनि छनोट र सुधार कार्यक्रमअन्तर्गत नै मुर्रा भैँसीबाट १ दिनमा ४ सय लिटर दूध उत्पादन गर्न सफल भएका छौं ।
हामीले आफैँले पोखरा मोडल डेरी भनेर फार्ममा सञ्चालन गरेका छौं । भैँसी र गाईको दूध थुनबाट जस्तो आयो त्यसलाई पास्चराइज गरेर किसानलाई वितरण गरिरहेका छौं । भैँसीको दूध १०० रूपैयाँ लिटर र गाईको दूध ७० रूपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेका छौं । बिहानैदेखि दूध लिन किसानको लाइन हाम्रो डेरीमा लाग्ने गरेको छ । अमेरिकाबाट ल्याएका साँढेको वीर्य संकलन सुरु भइसकेको छ । कोरियाबाट ल्याइएका गाई र साँढेको पनि वृद्धि विकास राम्रो रहेको छ ।
हामीले कृत्रिम गर्भाधान प्रवद्र्धनका लागि हामीले भेटेरिनरी जेटिए उत्तीर्ण गरेकाहरूलाई तालीम गराउने गरेका छौं । हाम्रो उत्पादनले मात्रै पुग्न नसक्ने भएकोले बोका उत्पादनका लागि आउटरिच कार्यक्रमअन्तर्गत कास्कीको मौजामा बाख्रा कार्यक्रम सञ्चालन गरेका छौं । त्यस्तै, कास्कीको शेराचौरमा भैँसी प्रवद्र्धनको कार्यक्रम सुरु गरेका छौं ।
पशुपन्छी र पशुपन्छीजन्य उत्पादनको बिक्रीबाट यहाँहरूले यो कार्यालयबाट वार्षिक कति राजस्व उठाउन सफल हुनुभएको छ ?
सबैभन्दा बढी राजस्व संकलन गर्ने निकायमध्ये पशुसेवा कार्यालयअन्तर्गत हाम्रो कार्यालय पहिलो निकाय हो । हामीले वार्षिक करिब ५ करोडभन्दा बढी राजस्व संकलन गर्दै आएका छौं ।
सिमेन, तरल नाइट्रोजन, बोका, राँगो, बंगुरका पाठापाठी, कुखुराको चल्ला, अण्डा, दूध, मल, बिगौती दूध पनि बिक्री गर्ने गरेका छौं । यी यस्ता उत्पादनको बिक्रीबाट हामीले राजस्व संकलन गर्दै आएका छौं ।
कार्यालयको भावी योजना ?
हामीले उत्पादन गर्ने जमेको वीर्यको हामीले गुणस्तर परीक्षण गरेर उच्च गुणस्तरको मात्रै बिक्री वितरण गरिरहेका छौं । तर कृत्रिम गर्भाधानका लागि फिल्डमा खटिने साथीहरूले प्रयोग गर्दा जमेको वीर्य बिग्रिन सक्छ । किनभने, तरल नाइट्रोजनको देशमा अलि अभाव छ । तरल नाइट्रोजनमा असाध्यै बढी चिसोमा यस्तो वीर्य राख्नुपर्ने हुन्छ ।
त्यसो हुँदा फिल्डमा खटिने साथीहरूले प्रयोग गर्ने जमेको वीर्यको पनि गुणस्तर परीक्षण फिल्डमै गर्ने व्यवस्था मिलाउने योजना छ । त्यस्तै, ७ वटै प्रदेशमा कृतिम गर्भाधान २५ प्रतिशत मात्रै हुन सकेको छ । त्यसलाई बढाउने योजना छ ।
त्यस्तै, निजीस्तरमा खटिने प्राविधिक साथीहरूलाई अनुदानमै नाइट्रोजन र जमेको वीर्य वितरणको योजना ल्याउने तयारीमा छौं । बोयर बोको माग भएको वर्षमै उपलब्ध गराउने योजनाका साथ हामी लागिपरेका छौं । डिजिटाइजेशनमा जाने योजना पनि छ । त्यसमा कहाँ कसले कृत्रिम गर्भाधान ग¥यो भन्ने जस्ता सबै रेकर्ड आउन सक्छ । अहिले हाम्रो युवा साथीहरूको टिम छ । हामी यो क्षेत्रमा देखिने गरी सुधार ल्याउन लागिपरेका छौं ।
प्रतिक्रिया