कृषि तथा पशुपन्छी विकास मन्त्रीमा डा. बेदुराम भुसाल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा भुसाल मन्त्री नियुक्त भएका हुन् ।
नेकपा एमालेमा लामो समय रहेर राजनीति गरेका डा. भुसाल पछिल्लो पटक नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एसका संस्थापक महासचिव थिए । पार्टी निर्माणमा भुसालको योगदानको कदर गर्दै उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीमा पठाएका हुन् ।
जीवनमै पहिलो पटक मन्त्री हुने अवसर पाएका भुसालको काँधमा अब नेपालको निर्वाहमुखी कृषि र पशुपन्छी क्षेत्रलाई आत्मनिर्भर बनाउनु पर्ने जिम्मेवारी आएको छ ।
कृषितर्फ रासायनिक मलको समस्या, सिँचाईको समस्या, उत्नत जातका विउविजन, अनुदान जस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने चुनौती छ ।
त्यस्तै, पशुपन्छी क्षेत्रमा देखिएका औषधीको अभाव, उच्च नश्लको विकास र विस्तार, रोग नियन्त्रण, दानाको गुणस्तर, अवैध आयात–निर्यात जस्ता अनेक समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी आएको छ । त्यस्तै, मासु, दूध, अण्डा उत्पादनमा नेपालले पाएको आत्मनिर्भरता जोगाउनु पर्ने दायित्व पनि अब उनको काँधमा आएको छ ।
भुसाल मन्त्री नियुक्त भएपछि उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् । उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव सहितका कर्मचारी टोलीले मन्त्रालयमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् । साथै उनीहरुले कृषि तथा पशुपन्छी विकासका क्षेत्रको वर्तमान अवस्था र अबको कार्यदिशाबारे ब्रिफिङ समेत गरेका छन् ।
मन्त्री भुसालको आगामी कार्यकाल कस्तो रहला त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
प्रतिक्रिया