डेढ किलोको मासु बजारीकरण गर्दा किसान र उपभोक्ता दुवै लाभान्वित हुन्छन्

व्यावसायिक कुखुरापालनमा पछिल्लो समय आकर्षण बढ्दो छ । केही सयको संख्यामा कुखुरापालन गर्नेदेखि हजारौंको संख्यामा पाल्ने किसान नेपालमा छन् । तर जुन हिसाबले यो क्षेत्रमा आकर्षण बढेको छ, तदनुरूप किसानले मुनाफा आर्जन गर्न भने सकेका छैनन् । कुखुरापालनको तौरतरिकादेखि बजारीकरणसम्ममा समस्या नै समस्या छन् । पशु चिकित्सक एवं पशु पोषण विशेषज्ञ डा. दिनेश गौतम कुखुरापालक किसानलाई आवश्यक सचेतना फैलाउन नसक्दा कुखुरापालक किसान लाभ लिनबाट पछि परेको औंल्याउँछन् । कुखुराको बजारीकरणलाई व्यवस्थित गर्दा मुनाफा वृद्धि गर्न सकिने भए पनि त्यसतर्फ ध्यान नपुगेको उनको भनाइ छ । पोल्ट्री क्षेत्र उत्पादनमा आत्मनिर्भर भए पनि दानाको कच्चा पदार्थमा हुन नसकेकाले यसतर्फ सोच्ने बेला आएको उनले बताए । डा. गौतमसँग मुर्झाएको पोल्ट्री क्षेत्रका विद्यमान समस्या, तिनको समाधानलगायत विषयको सेरोफेरोमा रहेर भेट टाइम्स मासिकले गरेको सवाल :
पोल्ट्री क्षेत्रमा आत्मनिर्भर भएको घोषणा सरकारले गरेको छ । के यसमा नेपाल साँच्चै आत्मनिर्भर भएको हो त ?
नेपालमा पहिले कुखुराको मासु र अण्डा दुवै बाहिरबाट आयात गर्नुपर्ने बाध्यता थियो । अहिले यो अवस्थाबाट हामीले मुक्ति पाएका छौं । अर्थात् हामी कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएका छौं । तर पोल्ट्रीभित्रकै अन्य क्षेत्रमा भने हामी आत्मनिर्भर भइसकेका छैनौं । कुखुरालाई खुवाउने दानामा प्रयोग हुने कच्चा पदार्थ जस्तै मकै, भटमासलगायत विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशभित्र अपुग हुँदा वार्षिक झण्डै ६० अर्ब रूपैयाँ बाहिरिने गरेको छ । जुन हाम्रा लागि निकै ठूलो टाउको दुखाइको विषय हो ।
सुखद् पाटो के भने प्रविधिमा भने पोल्ट्री क्षेत्र अपग्रेड छ । विश्वमा जति पनि नवीन प्रविधि विकास भएका छन्, ती सबै नेपालमा भित्रिएका छन् । त्यसैले उत्पादनमा आत्मनिर्भर यो क्षेत्रमा रहेको दानाको कच्चा पदार्थको परनिर्भरता अन्त्य गर्न गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा मात्र बल्ल हामी पोल्ट्रीमा आत्मनिर्भर हुनेछौं ।
पोल्ट्री क्षेत्रमा विकसित प्रविधि भित्रिएको कुरा गर्नुभयो । विश्वस्तरीय अत्याधुनिक प्रविधि पनि हामीसँग उपलब्ध छन् त ?
पोल्ट्रीमा नवीन प्रविधि विकास भएको छ । दाना उत्पादन, कुखुरापालन, ह्याचरी, भ्याक्सिनेसन, औषधिउपचारलगायत पोल्ट्रीका जति पनि क्षेत्र छन्, तिनलाई लक्ष्य गरेर विकास गरिएका तथा प्रचलनमा रहेका सबै अत्याधुनिक प्रविधि हाम्रोमा भित्रिसकेको छ । पछिल्लो ४÷५ वर्षमा हामीले यो फड्को मारेका हौं । उपलब्ध यस्ता प्रविधिले पोल्ट्री क्षेत्रको आत्मनिर्भरतालाई जोगाउन तथा दीर्घकालीन तुल्याउन भूमिका खेल्नेछन् । तर यी विकसित प्रविधि पोल्ट्री क्षेत्रका सबै व्यवसायी तथा किसानको पहुँचमा भने पुग्न सकेको छैन ।

जस्तो पायो त्यस्तो कुखुराको मासु प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले दानाको लेबल, हुर्काइको अवधि, बजारीकरणको वजनलगायतमा मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गर्नुपर्ने आवाज यस क्षेत्रका विज्ञहरूले उठाइरहेका छन् । यसबारे यहाँको धारणा के छ ?
जुन विषय यहाँले उप्काउनुभयो, यो पोल्ट्री धेरै अगाडिदेखि उठाउँदै आएको हो । आम उपभोक्ताले उपभोग गर्ने मासु आवश्यक पौष्टिक तत्वयुक्त भएर मात्र पुग्दैन, छिट्टै पाक्ने, स्वादिलो र कुनै पनि किसिमले मानव स्वास्थ्यमा हानि नपु¥याउने खालको हुनुपर्छ । यो आम मान्यता हो । हामीले उपभोग गर्ने कुखुराको वजन कति हुनुपर्छ भन्ने कोणका छलफल यही मान्यताका आधारमा गर्ने गरेका छौं । जिउँदो ब्रोइलर कुखुराको तौल २ केजी र तयारी (खान योग्य) साढे १ केजीदेखि १ केजी ७०० ग्रामसम्मका स्वस्थ कुखुरा उपभोग गर्न उपयुक्त मानिन्छ । किनभने, ब्रोइलर कुखुराको प्राकृतिक तौल नै यही हो । यस्ता मासुमा मानव स्वास्थ्यलाई हानि गर्ने एन्टिबायोटिक्सक्सलगायत औषधिको प्रयोग कम हुने भएकाले स्वस्थ मानिन्छ । यो तौलका कुखुरा उत्पादन गर्दाका फाइदा अनेक छन् । पहिलो त, दाना नै कम खुवाउँदा हुन्छ । दाना कम खुवाउनेबित्तिकै स्वाभाविक रूपमा लागन कम हुने भइहाल्यो । अर्को फाइदा के पनि छ भने यसरी कुखुरा उत्पादन गर्दा किसानले थप एक लट कुखुरा उत्पादन गर्न भ्याउँछन् । यसले किसान मात्र नभएर उद्योग, उपभोक्ता सबै लाभान्वित हुन्छन् । तर दुःखका कुरा, यसबारे हामीले आवश्यकत जनचेतना जागृत गर्न सकेका छैनौं ।
कम वजनका कुखुरा बजारीकरण गर्दा मृत्युदर कम हुने बताइन्छ । यो साँचोे हो ?
अन्य प्राणीको जस्तै ब्रोइलर कुखुराको पनि आफ्नै जीवन चक्र हुन्छ । यो नियाल्दा के देखिन्छ भने ३५ दिनभन्दा कम उमेरका कुखुरामा रोगसँग लड्ने प्रतिरोधी क्षमता बढी हुन्छ । उसले जन्मिँदै यो क्षमता लिएर आएको हुन्छ । त्यस्तै, मानव स्वास्थ्यलाई असर नगर्ने रोग प्रतिरोधी औषधि पनि दानामार्फत दिइन्छ । यसले कुखुरा स्वस्थ भइरहन्छ । ३५ दिनबाट उकालो लागेपछि भने उसको यो क्षमता घट्दै जान्छ । अर्कोतर्फ, विभिन्न दानाले कुखुराको तौल वृद्धि हुनुका साथै रोग निम्त्याउँछ । यसले कुखुराको मृत्युदर बढ्न पुग्छ । जसले किसानलाई घाटा हुन्छ । नमरे पनि उसलाई जोगाउन प्रयोग गरिने औषधि तथा दानाको खर्चका कारण किसानको लागत बढ्छ । सानै उमेरमा कुखुरा बजार पठाउने हो भने यी सबै खर्चहरू कटौती हुन्छन् । किसानले एक वर्षमा थप एक लट कुखुरा पालेर आम्दानी बढाउन सक्छ । सारमा भन्नुपर्दा साना कुखुराको बजारीकरण हरेक हिसाबले फाइदाजनक छ ।
यस्ता कुखुराको मासु उपभोग गर्ने उपभोक्तालाई पनि फाइदा होला नि ?
अहिले हामीले ‘पोषणका लागि मासु’ भनेका छौं । तर, अब ‘पोषणका लागि कस्तो मासु ?’ भन्ने सचेतना फैलाउन आवश्यक छ । मासुको गुणस्तरमा पनि ध्यान दिनुपर्ने अवस्था छ । कुखुरा जति सानो भयो, त्यति नै प्राकृतिक रूपमा उसको वृद्धि विकास हुन्छ । ठूलो हुँदै गयो वा बढी तौलको भयो भने त्यसमा विभिन्न रोगको संक्रमण देखिन थाल्छन् । संक्रमणले कुखुरा बिरामी पर्नेदेखि मर्नेसम्म हुन्छन् । यस्तो स्थितिमा कुखुरा मर्नबाट जोगाउन तथा किसानलाई आर्थिक नोक्सान हुनबाट रोक्न अनेक औषधि प्रयोग गरिन्छन् । त्यस्ता औषधिको अवशेष कुखुरामा रहन्छ ।
ब्रोइलर कुखुराको तौल सामान्यतया ३५ दिनभित्रमा २ किलो हाराहारी हुन्छ । जिउँदो २ किलो तौलसम्मका कुखुरालाई खुवाइने दानामा खनिज, मिनरल्स, प्रोटिन, भिटामिनको मात्रा बढी हुन्छ । प्रोटिन पनि रेसादार हुँदैन, ‘पाच्य फर्म’मा हुन्छ । यसले स्वास्थ्यलाई राम्रो फाइदा गर्छ । ३५ दिनभन्दा माथि लागेपछि ब्रोइलर कुखुरा बुढा हुन्छन् । बुढो हुँदै गएको कुखुरामा संक्रमण ज्यादा हुन्छ । र, यो संक्रमण रोक्न औषधिको प्रयोग हुन्छ । तर यसबारे किसान र उपभोक्ता दुवै जानकार हुँदैनन् । परिणामतः त्यस्ता कुखुराको मासु सेवनले मानव स्वास्थ्यलाई असर गर्छ । त्यसैले २ किलोसम्मका जिउँदो कुखुराको मासु उपभोग गर्नुपर्छ ।

 

उपभोग गर्ने कुखुराको वजनबारे विश्वमा के कस्ता प्रचलन छन् ? बताइदिनुहोस् न ।
अन्तर्राष्ट्रियस्तरमा ३ किसिमका बजार छन् । एउटा छ– तन्दुरी बजार । अधिकांश मुस्लिम देशमा १ देखि सवा केजीसम्म तयारी मासु भएका कुखुरा उपभोग गरिन्छ । स्वाद र पौष्टिकतालाई ध्यान दिएर नै उनीहरूले यो तौलको कुखुरा उपभोग गरेका हुन् । दोस्रो किसिमको अर्को बजार छ जसमा १ किलो ५०० देखि १ किलो ६०० ग्रामसम्मका कुखुरा उपभोग भएको पाउँछौं । यो तौलका कुखुरा प्रायः डिपार्टमेन्टल स्टोरहरूमा प्रयोग भएको पाइन्छ ।
अर्को छ– प्रोसेसिङ उद्योग । प्रोसेसिङ उद्योगले तयारी मासु, लेगपिस, सलामी, ससजेलगायत उत्पादन गर्छन् । जसमा बढी मात्रामा साढे २ किलो वजनका कुखुरा प्रयोग हुन्छन् । उपभोक्ता बजार (कन्जुमर) मार्केटमा चाहिँ दुई किलोमुनि तौल भएका कुखुरा प्रयोग हुन्छ । प्रोसेसिङ इण्डष्ट्रीहरूले साढे २ किलोभन्दा बढी तौलको कुखुराको मासु प्रयोग गरिरहेका हुन्छन् । नेपालमा ७० प्रतिशत कुखुराको खपत उपभोक्ता बजार (कन्जुमर) मार्केटमा र ३० प्रतिशत प्रोसेसिङ उद्योगमा हुन्छ ।
साना कुखुरा बजार पठाउँदा सबैलाई फाइदा हुने रहेछ । तथापि, अहिलेसम्म कसैले पहल गरेको पाइँदैन । किन ?
उपभोक्तासँग प्रत्यक्ष सम्पर्कमा रहने भनेको मासु पसले हो । उनीहरूले पसलमा बिक्री गर्ने कुखुरा ठूला नै हुन्छन् । यस्ता पसलेले साना कुखुरा उपभोग गर्नुको फाइदाबारे बताएर सुसूचित गर्न सक्थे । तर उनीहरूले पनि यस्तो कोसिस गरेका छैनन् । त्यस्तै, पोल्ट्री, ह्याचरी, दान उद्योगी कसैले पनि सानो कुखुरा खानुपर्छ भनेर प्रचार गरेका छैनन् । भारतकै कुरा गरौं । त्यहाँ ठूलो कुखुराको तुलनामा तन्दुरी कुखुराको मूल्य बढी छ । तर, नेपालमा ठीक उल्टो तन्दुरी कुखुराको तुलनामा ठूलो कुखुराको मूल्य बढी छ । सानो कुखुरा बजारमा पठाउँदा ‘प्रोसेसिङ लस’ अलिक बढी हुने भएकाले तन्दुरी कुखुराको मूल्य बढी भएको हो । तर नेपालमा यो अभ्यास हुन सकेको छैन । त्यसो हुँदा अब हामीले कुखुराको तौल, स्वास्थ्य, मानव स्वास्थ्य सबै–सबैमा सचेतना जगाउँदै कुखुराको मासुको विविधिकरण गर्न आवश्यक छ । कुन उमेरमा कुखुरा बेच्दा फाइदा हुन्छ भन्ने किसानमा पनि चेतना छैन । यो चेतनाको स्तर पनि बढाउनु पर्छ । उद्योगीहरूमा यसबारे चेतना छ, तर उनीहरूले यो सचेतना फैलाउन पहल गरेका छैन । यसलाई अभियानकै रूपमा अघि बढाउन सकियो भने कसैलाई घाटा हुँदैन, सबैलाई फाइदा हुन्छ । यसका लागि सरकार, उद्योगी, व्यवसायी, किसान, विज्ञ, सञ्चार माध्यम सबै पक्षको हातेमालो आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *