युवाको बढ्दो विदेश पलायनले पशुपन्छीपालन क्षेत्रमा चुनौती थपेको छ
तनहुँ जिल्लाको समग्र पशुपालन क्षेत्रको विकासका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । केन्द्रले किसानको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । केन्द्रले सञ्चालन गरिरहेको कार्यक्रम, भावी योजना र चुनौतीलगायत विषयमा सो केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठसँग गरिएको संवाद :
तनहुँ जिल्लाको पशुपालनको अवस्थाबारे बताइदिनुहोस् न ?
तनहुँ पशुपालन हुने जिल्लामध्ये एक हो । पशुपालन दूध र मासुको प्रयोजनका लागि गरिन्छ । पशुपालनतर्फ खासगरी यहाँ दूधका लागि गाई, भैंसी पाल्ने गरिएको छ । मासुका लागि बाख्रा, बंगुर र कुखुरा पालन गर्ने ज्यादा हुनुहुन्छ । माछापालन गर्नेको संख्या पनि उत्तिकै छ । तनहुँमा हाल दूध र मासुका लागि गाईं–भैंसी, बाख्रा, बंगुर, कुखुरा र माछा पशुपालन भइरहेका छन् ।
गत आर्थिक वर्ष ०७८÷७९ मा यस कार्यालयबाट सम्पादित कार्यक्रमबारे बताइदिनुहोस् न ?
पशुपन्छी क्षेत्रको विकास र विस्तारका लागि केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गत वर्ष मात्रै हामीले मोडल भेटेरिनरी अस्पताल निर्माणदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक विकास कार्यक्रम सञ्चालन गरेका थियौं ।
यसबाहेक गत आर्थिक वर्षमा हामीले सञ्चालन गरेका कार्यक्रम निम्नबमोजिम छन् :
– मोडल भेटेरिनरी अस्पताल निर्माण
– पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम
– पशु स्वास्थ्य सेवा कार्यक्रम
– पशु आहारा प्रवर्द्धन कार्यक्रम
– पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम
– पशु आनुवांशिक श्रोत संरक्षण कार्यक्रम
– पशु बजार प्रवर्द्ध कार्यक्रम
– क्षमता अभिवृद्धि कार्यक्रम
– अति बिपन्न गरिब लक्षित कार्यक्रम
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्रा व्लक विकास कार्यक्रम
कृषकलाई आत्मनिर्भरउन्मुख र व्यावसायिक बनाउन उत्तिकै आवश्यक देखिन्छ । यसतर्फ पनि केन्द्रले केही काम गरेको छ कि ?
कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर पार्नेतर्फ हामीले ध्यान दिँदै आएका छौं । यस्तो उद्देश्यसहित गत वर्ष पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भए । त्यसबारे पनि तपाईंलाई बुँदागत रूपमा जानकारी गराउँछु ।
क. दूध उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम– ११ वटा दुग्ध उत्पादक कृषि सहकारीमा आबद्ध कृषकहरूलाई २३ लाख ४६जार ३६८ लिटर दूधलाई ४१ लख ४१ ह्जार ३६५ रूपैयाँ अनुदान उपलब्ध गराइएको थियो । यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।
ख. पशुपन्छी बीमा प्रिमियममा अनुदानः नेपाल सरकारबाट दिइएको प्रिमियम अनुदानमा थप बाँकी अनुदानसमेत कृषकलाई उपलब्ध गराई निःशुल्क बीमाको व्यवस्था गरिएको छ । जसबाट १ हना। ४१ कृषकको १ लाख ३५ हजार ६६४ पशुपन्छी बीमित भई लाभान्वित भए । गत चालु वर्षको १२ महिनामा रु. ४५ करोड ४८ लाख बराबरको पशुधनको सुरक्षण भएको र कार्यालयबाट थप ४५ लाख ४८ हजार बाँकी प्रिमियम रकम कृषकलाई उपलब्ध गराइएको छ ।
ग. पाडीबाच्छी हुर्काउन प्रोत्साहन अनुदान ः कृषकहरूलाई पाडी बाच्छी हुर्काउने र गाईभैंसीको स्रोत विकासका लागि प्रोत्साहन गर्न प्रति पाडीबाच्छीको लागि १० हजार रूपैयाँ उपलब्ध गराइयो । यसअन्तर्गत ८४ किसानका १०० पाडीबाच्छीका निम्ति रकम उपलब्ध गराइएको थियो । यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
घ. साना व्यावसायिक फार्म स्थापना सुधार तथा विस्तार ः यस कार्यक्रमअन्तर्गत जिल्लाभित्र व्यवसाय दर्ता गरी सञ्चालित साना फार्महरूको स्तरोन्नति गर्न, गोठ खोर निर्माण–सुधार, नश्ल सुधार, घाँस खेती प्रवद्र्धनका लागि ८४ जना कृषकहरूलाई गाईभैंसी, बाख्रा, बंगुरपालनमा अनुदान रु १ लाखसम्म अनुदान रकम सहयोग उपलब्ध गराइयो । यस वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
ङ. मत्स्य विकास ः यस कार्यक्रमका लागि कृषकहरूलाई माछा पोखरी निर्माण तथा पुरानो पोखरी मर्मतका लागि रु २५ हजार प्रति रोपनीसम्म अनुदान रकम सहयोग उपलब्ध गराइएको थियो । त्यसैगरी, माछा भूरा तथा यान्त्रिकीकरण सहयोग उपलब्ध गराइयो । गत आर्थिक वर्षमा २.३ हेक्टर नयाँ पोखरी विस्तार भयो भने ३.६ हेक्टर पुरानो पोखरी मर्मत गरियो ।
च. पशुपन्छी तथा मत्स्य पकेट क्षेत्र विस्तार ः यस कार्यक्रमअन्तर्गत बाख्रा, भैंसी पकेट क्षेत्र विस्तारका लागि समूह समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्ष ३ वटा समूहमार्फत बाख्रा पकेट र एउटा समूहमा भैंसी विकास कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, पशुआनुवांशिक संरक्षण र प्रवद्र्धनका लागि च्वाँचे संरक्षणका लागि एक समूहमा कार्यक्रम सञ्चालन गरियो । चालु आर्थिक वर्षमा यो कार्यक्रमको फलोअप तथा एउटा नयाँ पशुपन्छी स्रोत विकास कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
छ. पशुप्रजनन् तथा नश्ल सुधार कार्यक्रम ः यस कार्यक्रमअन्तर्गत गाईभैंसी तथा बाख्रामा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिएयो । गत वर्ष गाईभैंसी र बाख्रामा गरी जम्मा १० हजार ७६३ संख्यामा कृत्रिम गर्भाधान गरिएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशले बढी हो । यसले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाउनेछ ।
ज. पशु आहार प्रवद्र्धन ः यस कार्यक्रमअन्तर्गत घाँसको नर्सरी स्थापना र स्रोत केन्द्र विकास गरी कृषकहरूलाई बहुवर्षीय तथा डाले घाँसका बीउ वेर्ना उपलब्ध गराइएको थियो । कार्यालय परिसरमा स्थापना भएको नर्सरीबाट गत वर्ष ३ हजार ५०० र र बाह्य सोतबाट ३३ हजार गरी ३८ हजार ५०० डाले घाँसका बेर्ना र कार्यालयको नर्सरीबाट ३० हजार बहुवर्षे घाँसका सेट्स कृषकहरूलाई निःशुल्क वितरण गरियो ।
झ. विपन्न गरिबलक्षित कार्यक्रम ः यस कार्यक्रमअन्तर्गत विपन्नलक्षित कृषक पहिचान गरी ३ वटा समूहमा ७८ जना कृषकहरूलाई बाख्रा खरिद, खोर गोठ सुधार र नश्ल सुधारको लागि प्रति समूह ५ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।
ञ. क्षमता अभिवृद्धि कार्यक्रमः कृषकहरूको क्षमता अभिवृद्धिका निम्ति गाईभैंसी, बाख्रा, बंगुर, कुखुरा तथा मत्स्यपालन तालिम सञ्चालन गरिएको थियो । ।
यो जिल्लामा पशुपन्छीजन्य उत्पादन तथा तिनको बजारीकरणको अवस्था र योजना के छ ?
यस जिल्लाको पशुपन्छीजन्य उत्पादनको अवस्था हेर्दा निर्वाहमुखी र १२ सयको हाराहारीमा दर्ता व्यावसायिक फार्महरूबाट उत्पादन भएका पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादन बढ्दो क्रममा छ । यहाँ उत्पादन भएका पशुजन्य पदार्थको बजारीकरणको अवस्था हेर्दा यससँग सम्बन्धित विभिन्न उद्योगहरू स्थापना भएको देखिन्छ । दुग्ध व्यवसाय बजारीकरणका लागि २२ वटा दुग्ध उत्पादक सहकारी संस्था र एउटा दुग्ध उत्पादक सहकारी संघ स्थापना भएको छ । त्यसैगरी, एक दुग्ध प्रशोधन केन्द्र र ३२ डेरी पसल सञ्चालित छन् । दाना उत्पादन तथा बजारीकरणका लागि एक दाना उद्योग पनि छ । मासुजन्य व्यवसायका लागि खसीबोका संकलन केन्द्र, एक कृषि हाट बजार, ३ वधशाला, एक मासु चिस्यान केन्द्र, २५४ वटा मासु पसलहरू स्थापित छन् । यस जिल्लामा कुखुराका १२ वटा ह्याचरी तथा ब्रिडिङ फार्म सञ्चालित छन् ।
यस विज्ञ केन्द्रबाट पशुपन्छी तथा पशुजन्य पदार्थ बजारीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालित भएका छन् । दुग्ध चिस्यान केन्द्र स्थापना, चिलिङ भ्याट वितरण, मिल्क एनलाइजर, दुग्ध पदार्थ विविधीकरणका लागि उपकरण वितरण, डेरी पसल स्थापना कार्यक्रम सञ्चालित छन् । त्यसैगरी, विभिन्न संघीय आयोजनाहरूसँगको सहकार्यमा दुग्ध चिस्यान केन्द्रको लागि भवन निर्माण, डेरी उद्योग स्थापान तथा दाना उद्योग स्थापना कार्यक्रमहरू सञ्चालित छन् । माछामासु बजारीकरणका लागि यस केन्द्रबाट वधस्थल सुधार र माछामासु पसल स्थापना तथा सुधार कार्यक्रमहरू सञ्चालित छन् भने प्रादेशिक निर्देशनालय तथा मन्त्रालयको सहकार्यमा खसीबोका संकलन केन्द्र स्थापना, चिस्यान घर निर्माण कार्यक्रमहरू सञ्चालित छन् । यस विज्ञ केन्द्रले पशुपन्छीजन्य पदार्थ बजारीकरणको लागि भावी योजनाका रूपमा हाल सञ्चालित कार्यक्रमहरूको विस्तार तथा स्थानीय र संघीय निकायहरूसँगको सहकार्यमा चिस्यान केन्द्र, हाट बजार, संकलन केन्द्र, वधशाला तथा वधस्थल, मिट मार्ट स्थापनाजस्ता योजना छन् ।
यो जिल्लाको पशुपन्छीजन्य उत्पादनको अवस्था निम्नानुसार छ :
पशुपन्छीजन्य उत्पादन ०७८÷७९ ०७७÷७८
दूध (मे.टन) ३८८३८.० ३७९२८.३
अण्डा (ह.) २७०६०.८ २५९९५.०
मासु (मे.ट.) ४७२२.९ ४५७६.४
माछा (मे.टन) ९४.२ ९०.२
पशुपन्छीजन्य वस्तु उपभोगको अवस्थाचाहिँ कस्तो छ नि ?
यस जिल्लामा रहेका ३ लाख २७ हजार ६२० मानिस ७८ हजार २८६ घरमा बसोबास गर्दै आइरहेका छन् । यसमध्ये पशु पालनमा संलग्न परिवार संख्या ५२ हजार ६१५ (६६.३३%) छ । पशुजन्य उत्पादन र उपभोगको अवस्था हेर्ने हो भने जिल्लामा उत्पादित दूध, अण्डा र मासुले यहाँको जनसंख्याको न्यूनतम आवश्यकता पूर्ति भएको देखिन्छ ।
विवरण जिल्लामा उपलब्धता न्यूनतम आवश्यकता घट÷बढ
दूध ११८.५४ लि. ९१ लि. + २७.५४
मासु १४.४१ के.जी १४ के.जी. + ०.४१
अण्डा ८२.५९ गोटा ४८ गोटा + ३४.५९
माछा ०.२८ के.जी.
पशु स्वास्थ्य सेवाको अवस्थाबारे पनि बताइदिनुहोस् न ?
यस विज्ञ केन्द्रले पशु स्वास्थ्य सेवालाई अझ मजबुत बनाउन मोडल भेटेरिनरी अस्पताल निर्माणको अवधारणा अगाडि बढाई हाल भवन निर्माणको कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ । हाल सामान्य रूपमा संचालन भईरहेको चिकित्सा सेवालाई प्रभावकारी बनाउन अस्पाताल निर्माणसँगै आधुनिक उपकरणहरू जस्तै एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी आदिको जडान र सञ्चालन, प्रयोगशालामा आधुनिक उपकरण जस्तै, हेमाटो एनलाइजर, बायोकेमिकल एनलाइजरजस्ता उपकरणहरू जडान र सञ्लालन गरिने छ । यसबाट पशु चिकित्सा सेवाको स्तरोन्नति र कृषकहरूले विशिष्टिकृत सेवा प्राप्त गर्ने छन् । हाल यस विज्ञ केन्द्रबाट नियमित खोप सेवा, पशुपन्छी मेडिकल उपचार, गाइनोकोलोजिकल उपचार तथा शल्यक्रिया सेवा, प्रयोगशाला सेवामा गोवर, शव परीक्षण, दूध, रगत, पिसाब, छालाको परीक्षण भइरहेको छ । सँगै रेपिड टेष्ट किटबाट रोग निदान सेवा उपलब्ध गराइएको छ । गाईभैंसीको बाँझोपन निवारणको लागि घरदैलो शिविर, पशु स्वास्थ्य शिविर, आकस्मिक रोग नियन्त्रण तथा उपचार सेवा सञ्चालन भइरहेको छ ।
पशुपन्छीजन्य रोगका कारण महामारी आइरहेका हुन्छन् । यस्ता महामारीको सामना केन्द्रले कसरी गरिरहेको छ ?
तनहुँ पृथ्वी राजमार्गको ७२ किमि लामो सडक भएको जिल्ला हो । यस हिसाबले यो प्रदेशको नाकासमेत हो । जिउँदो पशुपन्छीको ओसारपसार धेरै हुने हुँदा पशुपन्छी रोगको जोखिम अत्यधिक छ । यस जिल्लाले पटक–पटक महामारी रोगहरू जस्तै, खोरेत, पिपिआर, स्वाइन फिवरजस्ता रोगहरूको सामना गर्दै आइरहेको छ । त्यसैगरी, बर्डफ्लू रोगको सन्त्रास पनि उत्तिकै छ ।
पटक–पटक रेविज र पट्केजस्ता जुनोटिक रोग पनि देखिएका छन् । अहिले अफ्रिकन स्वाइन फिवर रोगको जोखिम पनि त्यतिकै छ । यसर्थ, यस्ताखालका रोगहरू नियन्त्रणका लागि यस विज्ञ केन्द्रबाट स्थानीय तहहरूको समेत सहभागितामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालित छ ।
यस कार्यक्रमअन्तर्गत गाईभैंसीमा खोरेत, चरचरे र भ्यागुते, बाख्रामा पिपिआर, बंगुरमा खोरेत र स्वाइन फिवर, कुकुरमा रेबिजविरुद्धको खोप कार्यक्रम जिल्लाका राजमार्गसँग जोडिएका सबै स्थानीय तह (आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका) र अन्य २ नगरपालिका (भानु नगरपालिका र भिमाद नगरपालिका) मा सञ्चालित छन् ।
त्यसैगरी, अन्य बाँकी पालिकामा समेत पिपआर,स्वाइन फिवर र रानीखेत रोगविरुद्धको निःशुल्क खोप सेवा कार्यक्रम चलिरहेका छन् । महामारीविरुद्ध नियमित सर्भिलेन्स, रोग फैलिएको अवस्थामा रेपिड रेस्पोन्स टिमको सक्रिय कार्य र रोग नियन्त्रण र रोगको अवस्थाको बारेमा प्रादेशिक तथा संघीय निकायमा नियमित रोगहरूको इपिडेमियोलोजिकल रिपोर्टिङ प्रेषण कार्य गरिरहेको छ ।
छाडा पशु तथा सामुदायिक कुकुरको अवस्था के छ ? व्यवस्थापन कसरी भइरहेको छ ?
यस विज्ञ केन्ले छाडा पशु विशेषगरी, छाडा गाई तथा अनुत्पादक गाईहरूको व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यमा गौशाला स्थापनामा सहयोग गरेको छ । जिल्लाको व्यास नगरपालिका र शुक्लागण्डकी नगरापलिकामा छाडा तथा अनुत्पादक गाईहरू व्यवस्थापनको लागि गौशाला स्थापना भएको छ ।
यसको निरन्तरताका लागि पशु सेवा विभागले समेत यस चालु आ.व. मा सशर्त बजेट विनियोजन गरेको छ । त्यसैगरी, सामुदायिक कुकुर व्यवस्थापनको लागि यसको संख्या घटाउन नियमित रूपमा केन्द्रबाट सामुदायिक कुकुरमा बन्ध्याकरण शिविर आयोजना गरिँदै आएको छ ।
यस केन्द्रको एकल आयोजना तथा स्थानीय तहको समेत सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रहरूमा सामुदायिक कुकुरहरूलाई रेविज रोगविरुद्ध खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालित छन् । यसबाट कुकुरको संख्या घटाउन तथा रेविज रोग नियन्त्रणमा समेत टेवा पुग्ने हुनाले यस कार्यक्रमलाई नियमित गरिएको छ ।
प्रमुख चुनौतीचाहिँ के–के छन् ?
– यो जिल्लामा चुनौतीका रूपमा पहिचान गरिएका विषय निम्न छन् :
– पशुपन्छीपालन प्रणालीलाई यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्नु
– गुणस्तरीय उत्पादन सामग्री, दाना घाँसका बीउ बेर्ना, औषधिलगायतका सामग्रीको समयानुकूल आपूर्ति बढाउनु तथा मूल्य नियन्त्रण गर्नु
– बर्सेनि युवा जनशक्तिको विदेश पलायनले गर्दा पशुपालन क्षेत्रमा परेको श्रम अभावलाई सम्बोधन गर्नु
– नयाँ नयाँ तथा पटक–पटक देखिने जुनोटिक एवं महामारीजन्य रोगहरूको प्रकोप न्यूनीकरण गर्नु
– भेटेरिनरी सेवामा कृषकहरूको पहुँचमा वृद्धि गराउनु
– कृषि ऋणको सहज उपलब्धता तथा पशु बीमा सुनिश्चित गर्नु
– बजार मूल्य तथा मागको सूचना कृषकको पहुँचमा पु¥याउनु
पशुपालन क्षेत्रमा देखिएका समस्या समाधानतर्फ प्रयास पनि त भइरहेका होलान् नि ?
कृषकहरूले आवश्यक ठानेका क्षेत्रमा कार्यक्रम नपाउनु, समयमा प्राविधिक सेवा नपाउनु, आवश्यक मात्रामा घाँसमा बीउ बेर्ना तथा औषधि नपाउनु, कृषि ऋण नपाउनु, पशु बीमाको सेवा नपाउनु यो जिल्लाका मूल समस्या हुन् । पशुजन्य पदार्थ बजारीकरणले पनि किसान समस्यामा परिरहेका छन् । यी यावत् समस्यालाई विज्ञ केन्द्रले मनन गरेको छ । यस्ता समस्या समाधानार्थ कही उपाय अवलम्बन पनि गरिएका छन् । तथापि, यी पर्याप्त भने छैनन् । जुन निम्न छन् :
क. कृषकको मागलाई आवेदनमार्फत संकलन गरी मागमा आधारित रही योजना तर्जुमा गर्ने प्रयास गरिएको । तर यस क्षेत्रमा पर्याप्त मात्रमा बजेट विनियोजन नहुँदा कृषकको माग पूरा गर्न नसकिएको ।
ख. विज्ञ केन्द्रमा पर्याप्त जनशक्ति नहुँदा कृषकले विशिष्टिकृत सेवा प्राप्त गर्न नसकिएको । तथापि करारमा केही जनशक्ति व्यवस्थापन गरी सेवा दिने प्रयास गरिएको । स्थानीय तहमा समेत दक्ष जनशक्ति नहुँदा समयमा प्राविधिक सेवाको पहुँच वृद्धि गर्न नसकिएको ।
ग. पशु सेवा प्रसार कार्यलाई प्रभावकारी बनाउन स्थानीय पालिकासँगको सहकार्यमा प्रत्येक वडामा एक एक जना पशु सेवा प्राविधिकको व्यवस्था गर्न वकालत गरिएको ।
घ. घाँसका बीउबेर्ना वितरणजस्ता कार्यक्रमहरू स्थानीय तहको कार्य विवरणमा रहेकाले यस विज्ञ केन्द्रमा सो अनुसार कार्यक्रम नरहने हुनाले उपलब्ध गराउन नसकिएको । स्थानीय तहमा समेत सो कार्यक्रममा बजेट विनियोजन नहुँदा कृषकहरू समस्यामा परेको देखिन्छ । यस केन्द्रबाट स्थापना भएका घाँसका नर्सरी तथा स्रोत केन्द्रबाट कृषकहरूलाई बीउबेर्ना उपलब्ध गराउने प्रयास गरिएको ।
ङ. उत्पादन सामग्री तथा पशुपन्छी सेवाको पहुँचमा विस्तार गर्न निजी क्षेत्रका स्रोत केन्द्रहरूको क्षमता विकास गर्ने प्रयास गरिएको ।
च. साना, सीमान्तकृत कृषकहरूलाई समूह समितिमा आबद्घ गरी पशुपन्छी व्यवसाय प्रवद्र्धनमा लगाउने प्रयास गरिएको ।
छ. सहुलियत ऋण तथा पशुपन्छी बीमासम्बन्धी कृषकहरूलाई अभिमुखीकरण, बैंक तथा बीमा कम्पनीहरूसँग सहजीकरण, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको । कृषकको पहुँच बृद्धि गर्ने प्रयास गरिएको । बीमा प्रिमियम शुल्कमा अनुदानजस्ता व्यवस्था लागू गरी पहुँच अभिवृद्धि गर्ने प्रयास गरिएको ।
ज. महामारी रोगहरूको प्रकोप न्यूनीकरण गर्न पशुहरूमा पुर्ण खोप कार्यक्रम कार्यान्वयन गर्ने प्रयास गरिएको ।
झ. पशुजन्यपदार्थ बजारीकरणमा देखिएका समास्याबारे स्थानीय तह र प्रादेशिक मन्त्रालयमा जानकारी तथा फोरमहरूमा छलफल गरिएको ।
ञ. कृषकले आवश्यक ठानेका विषयवस्तुमा अध्ययन अनुसन्धान गर्न नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक कार्यशाला गोष्ठीमा विषयवस्तुबारे जानकारी गराउने गरेको ।
ट. ग्रामीण क्षेत्रबाट दैनिक रूपमा पलायन भइरहेका युवा जनशक्तिलाई कृषि उद्यम कार्यमा लगाउन प्रोत्साहन गर्ने प्रयास गरिएको ।
प्रतिक्रिया