नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३२ औं साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३२ औँ साधारण सभा एवं स्थापना दिवस सम्पन्न भएको छ । ‘गुणस्तरीय औषधीको उपलब्धता, व्यवसायिक संरक्षणमा हाम्रो ऐक्यवद्धता’ भन्ने नाराका साथ काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड टे्रड सेन्टरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आफ्नो हकअधिकार सुनिश्चित गर्दै व्यवसाय गर्ने ३२ वर्षअघि स्थापना भएको यो संघले समाजको सेवा समेत गरेको बताए । व्यववसायीहरु संगठित भएर अघि बढ्नु पर्ने बताउँदै यो संघलाई अझ सशक्त बनाएर अघि बढ्न उनले आग्रह गरे । उनले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रिय अध्यक्ष पुणर्चन्द्र सापकोटाले नेपालमा २० वटा स्वदेशी कम्पनीले भेटेरिनरी औषधि, भ्याक्सिन, फिडसल्पिमेन्ट उत्पादन गर्दै आएको बताए । त्यस्तै, १३५ आयातकर्ता कम्पनीले विभिन्न देशबाट औषधि, भ्याक्सिन तथा फिडसप्लिमेन्ट आयात गर्दै आएको जानकारी समेत गराएका थिए । भेटेरिनरी औषधि, भ्याक्सिन तथा फिडसप्लिमेन्टको वार्षिक बजार करिब १२ अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ । कुल मागको ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनले धानेको छ । ७० प्रतिशत यो व्यवसाय आयातमा निर्भर छ । त्यस्तै, यो व्यवसायमा ३ लाख मासिनले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको अनुमन गरिएको छ । उनले हाल संघमा सदस्यको संख्या घट्दै गएको बताउदै व्यावसायीका आयात सिफारिस,पसल दर्ता एवं नविकरणको समस्या समाधान गर्न सरकारी निकायको ध्यानाकर्षण समेत गराएका थिए ।
कार्यक्रममा भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भेटेरिनरी क्षेत्रमा वर्षौंदेखि रहेको समस्या नियमनकारी नियकाहरुबाट सम्बोधन हुन नसकेको गुनासो गरेका छन् । औषधि व्यवस्था विभागमा भेटेरिनरी औषधिको नियमन गर्ने ज्ञान, सीप र जनशक्ति नभए पनि भेटेरिनरी औषधिको नियमन गरिरहँदा समस्या आएको उनले बताए । त्यस्तै, औषधि पसलहरुलाई लाइसेन्स दिँदा लाइसेन्स लिएका फर्मासिस्टहरुले पसलमा बसेर व्यवसाय नगर्ने र लाइसेन्स बिक्री हुने अवस्था सिर्जना भएकोले त्यसको नियमन गर्नुपर्ने बताए । त्यस्तै उनले यो व्यवसायभित्र व्यावसायिक शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्ने समेत बताए ।
यद्यपी श्रेष्ठको दाबीको खण्डन गर्दै औषधि व्यावस्था विभागकी वरिष्ठ औषधि व्यावस्थापक सिवानी खड्गीले डाक्टर र फर्मासिष्ट भनेको एकै किसिमको पेशा भएकाले एक अर्कालाई आरोप होईन इज्यत दिनु पर्ने बताइन् । आफ्नो कार्यक्षेत्रको ख्याल गरेर अभिव्यत्ती दिन तर्फ संकेत गर्दै उनले भेटेरिनरी डाक्टरको भनाइमा बुझदै नबुझी ताली बजाएको भन्दै व्यावसायी संग दुःख व्यक्त समेत गरेकी थिइन् ।
नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले औषधि व्यवसायी , दाना व्यवसायी र ह्याचरी व्यवसायी एकअर्काका परिपूरक व्यावसायी भएको बताए । कोभिडपछि दाना व्यवसाय पनि प्रभावित भएको उनले बताए । आत्मनिर्भर पोल्ट्री क्षेत्रलाई भारतबाट अवैध रुपमा भित्रिरहेको पोल्ट्रीजन्य उत्पादनले असर गरेको बताए । यसलाई नियमन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । कार्य
क्रमा यस क्षेत्रसँग सम्बन्धीत विभिन्न निकाय, संघसंस्थाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए ।
२०४७ साल पुस २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यो संघ दर्ता भएको थियो । हाल यो संघअन्तर्गत ७ वटै प्रदेशमा कार्यसमितिहरु छन् । औषधि व्यवस्था विभागमा दर्ता भएका भेटेरिनरी औषधि ३ हजार २ सय ९६ औषधि फर्महरु मध्ये यो संघमा १ हजार ८ सय ६ फर्म तथा कम्पनी आवद्ध रहेका छन् ।
नेपालमा भेटेरिनरी फर्मासिस्ट विषयको अध्ययन/अध्यापन गर्ने व्यवस्था मिलाउनु पर्ने, औषधी पसल दर्ता तथा नवीकरणलाई व्यस्थित गरिनुपर्ने, पशुपन्छी क्षेत्रका किटनाशकलगायत औषधि अभाव रहेकोले त्यस्ता औषधिको आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने, औषधि आयातको सिफारिसको अवधि कम्तीमा १ वर्षको हुनुपर्नेलगायत माग औषधि व्यवसायीहरुले राखेका छन् ।
प्रतिक्रिया