पशु स्वास्थ्य विधेयक राष्ट्रियसभाबाट पारित, चिकित्सक, प्राविधिक दुवै सन्तुष्ट

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७६ विधेयक राष्ट्रियसभाबाट बिहीबार पारित भएको छ ।
प्रतिनिधिसभाबाट उत्पत्ति भएको उक्त विधेयक त्यहाँबाट पास गरेर राष्ट्रियसभामा प्रस्तुत भएको थियो । त्यसलाई  संशोधन गरेर राष्ट्रियसभाले बिहीबार  पास गरेको हो ।
अब यो विधेयक पुनः प्रतिनिधिसभाबाट पेस गर्नुपर्नेछ । प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकमा यो विधेयक पेस गर्ने तयारी छ । प्रतिनिधिसभाले पारित गरेमा पशुपन्छी प्राविधिकको ऐन निर्माण गर्ने चाहनाले पूर्णता पाउनेछ ।
चिकित्सक प्राविधिक दुवै खुसी
यो विधेयकलाई लिएर पशु चिकित्सक र प्राविधिकबीच रस्साकस्सी चलेको थियो ।तर संशोधनसहित राष्ट्रियसभाबाट पारित भएपछि संशोधन गर्नुपर्ने अडानमा देखिएका पशु चिकित्सकले पनि स्वागत गरेका छन् । सामान्य संशोधन गरिएकाले पशु प्राविधिकले पनि यसमा खुसी व्यक्त गरेका छन् ।
नेपाल भेटेरिनरी एसोसिएसनले राष्ट्रियसभाबाट पारित विधेयकको स्वागत गर्दै कृतज्ञता प्रकट गरेको छ । विधेयक पारित लगत्तै एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी कृतज्ञता पत्रमा भनिएको छ, ‘… सन्दर्भमा हामीले विधेयकको नाम, प्रस्तावना, परिषद्को गठन, शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यतालगायत पशु स्वास्थ्य तथा पशु सेवा व्इवसाय गर्न पाउने प्रावधानहरूमाथि संशोधनको आवश्यकता औंल्याएको परिप्रेक्ष्यमा ती सम्पूर्ण विषयवस्तुहरू राष्ट्रियसभाको विधायन समितिमा दफावार छलफलका क्रममा सच्याइएको हुनाले नेपाल भेटेरिनरी एसोसिएसन सम्मानित राष्ट्रियसभाप्रति कृतज्ञता एवं आभार प्रकट गर्दछ ।’
निरन्तरको संघर्ष र ध्यानाकर्षण सुनिदिने राष्ट्रियसभाका सांसद, दलका नेतृत्वलगायतलाई पनि एसोसिएसनले आभार प्रकट गरेको छ । साथै एसोसिएसनले राष्ट्रियसभाबाट विधेयक पारित हुनुलाई कसैले पनि जित र हारका रूपमा अर्थ लगाउन नहुने जनाएको छ ।
‘यसबाट कसैले हार र कसैले जितका रूपमा अर्थ नलगाई नेपालको पशु स्वास्थ्य र पशु सेवा क्षेत्रको हितका लागि सम्पूर्ण शक्ति एकजुट भई पुनः अगाडि बढ्न आह्वान गर्दछौं,’ जारी कृतज्ञता पत्रमा भनिएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले राष्ट्रियसभाको निर्णयको स्वागत गर्दै चिकित्सकबाहेकका पशुपन्छी प्राविधिकका लागि यो खुसीको खबर भएको बताए ।
विधेयकले ऐनको रूपको ग्रहण गरेपछि ६० हजारभन्दा बढी पशु प्राविधिकको व्यवस्थापन सहज हुने उनले बताए । साथै नियमन, दर्ता पनि हुने उनले बताए । विश्वविद्यालयलगायत शैक्षिक संस्थाबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्ने वातावरण पनि विधेयक पारित भएपछि बन्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल पशु प्राविधिक संघ (नेल्टा) का अध्यक्ष जनक रावलले संशोधन गरिएका विषयमा आफूहरूको सहमति रहेको बताए । ‘विधेयकमा सामान्य संशोधन गरिएको छ । यसमा हाम्रो कुनै विमति छैन,’ रावलले भेटखबर डटकमसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *