कुकुर मार्छु भन्ने वडाध्यक्ष विवादमा, अधिकारकर्मीको विरोध
१७ हजार मान्छे मार्दा नबोल्ने, बौलाएको कुकुर मार्छु भन्दा मुद्दा हाल्ने ? : कार्की
काठमाडौं । महानगरपालिकाको छैठौं बैठकमा वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले औषधि पाए एकै दिन २५ कुकुर मार्ने अभिव्यक्ति दिए । सडकका भुस्याहा कुकुरले मानिसलाई झम्टिने, सवारी साधन दुर्घटनामा पार्नेलगायत अनावश्यक दुःख दिएकाले विष खुवाएर मार्नुपर्ने उनको मत छ । साथै, उनले पहिले पनि यस्ता कुकुरहरु मारेको निसंकोच बताए ।
पशु अधिकारको ख्याल नराखी अभिव्यक्ति दिने वडाध्यक्ष कार्की अहिले विवादमा तानिएका छन् । पशु अधिकारकर्मीले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
पशु कल्याण संघ नेपालले वडाध्यक्ष कार्कीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।
‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरूलाई समेत बेवास्ता गर्दै महानगरपालिकाको वडाध्यक्षजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिद्धारा व्यक्त तुच्छ र अमानवीय विचारले हामी सबैलाई लज्जित र दुःखी बनाएको छ,’ संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्रको रूपमा रहेकाले विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएको सम्झौताविपरीत गैरजिम्मेवार क्रियाकलपा हुनु र अभिव्यक्तिहरू आउनुले राज्य संयन्त्रको आपसी तालमेल कतिसम्म धरासायी छ भन्ने छर्लङ्ग पारेको अध्यक्ष श्रेष्ठले उल्लेख गरेकी छन् ।
सामुदायिक कुकुर तथा छाडा पशु चौपायाहरूको उचित व्यवस्थापन राज्यको दायित्व भएको स्मरण गराउँदै समस्याको सिर्जनात्मक र दीर्घकालीन तथा मानवीय समाधान खोज्न सुझाइएको छ ।
वडाध्यक्ष कार्कीले विगतमा सामुदायिक कुकुर विष खुवाएर मारेको बयान दिएकाले मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही गर्न पनि पशु कल्याण संघले माग गरेको छ ।
वडाध्यक्ष कार्र्कीले कानूनलाई चुनौती दिँदै विगतमा कुकुर मारेको र मार्नका लागि औषधि खोजिरहेको अभिव्यक्ति दिएकाले उनीविरुद्ध जाहेरी दिने तयारी गरेको भेट खबरलाई जानकारी दिइन् ।
‘कुकुर मारेको र मार्नका लागि औषधि खोजिरहेको वडाध्यक्षको अभिव्यक्ति कानूनविपरीत छ । उहाँविरुद्ध मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिने तयारी गर्दैछौं,’ उनले भनिन् । सामुदायिक कुकुर व्यवस्थापनमा महानगरपालिकाले करोडौं बजेट छुट्याएको परिस्थितिमाझ वडाध्यक्षबाट आएको अभिव्यक्ति आश्चर्यजनक भएको उनको भनाइ छ ।
१७ हजार मान्छे मार्दा नबोल्ने, बिग्रको कुकुर मार्छु भन्दा मुद्दा हाल्ने ? : कार्की
वडाध्यक्ष कार्कीको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । वडाध्यक्षले कानूनलाई चुनौती दिएर अमानवीय अभिव्यक्ति दिएकाले उनीमाथि कारबाही हुनुपर्ने माग उठेको छ । पशु अधिकारकर्मीले त कानूनी कारबाहीको माग गर्दै उजुरी दर्ताको तयारी गरेको छ ।
तर कार्कीलाई भने अझैसम्म आफूले गलत बोलेजस्तो लागेको छैन । १७ हजार मानिसको हत्या हुँदा कोही नबोलेको उल्लेख गर्दै उनले मुद्दा हाल्ने पशु अधिकारकर्मीलाई आफूले केही भन्न नसक्ने बताए ।
‘१७ हजार मान्छे मार्दा कोही बोलेन । बिग्रेको कुकुर मार्छु भन्दा मुद्दा हाल्ने ?’ उनको अभिव्यक्तिबारे भेट खबरले राखेको प्रश्नमा उनले भने, ‘मुद्दा हाल्ने तयारीमा रहेका यस्ता पशु अधिकारकर्मीलाई मेरो भन्नु केही छैन ।’
उनले बहुला कुकुरलाई संरक्षण गरेर राख्ने हो भने अवस्था भयावह हुने भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गरिरहे ।
उनले इन्द्रको बाहन हात्ती गणेशको अवतार र बाघ भगवतीको वाहन भए पनि मान्छेलाई क्षति पु¥याए कारबाही हुने बताए । सभ्य र राम्रा जनावरलाई भने सबैले मायँ गर्ने उनको भनाइ छ ।
वडा अध्यक्ष कार्कीले आफु पनि कुकुरको टोकाइबाट पीडित भएको र टेकुमा बच्चादेखि वृद्धासम्मको लामले समस्या भयावह देखाएको बताए । कुकुरहरूले मान्छे,सवारी साधन लखेट्ने गरेपछि नियन्त्रणमा लिएको तर केही महिलाहरू आफूविरुद्ध मुद्दा हाल्छु भन्दै वडा घेर्न गएको उनले सुनाए । यस्तो भायावह अवस्थामा कुकुरलाई कुनै जग्गा अधिकरण गरी राख्ने विकल्प नभएको पनि उनले प्रष्ट पारे ।
पशु अधिकारकर्मी सिर्जना सिंह ठकुरीले वडाध्यक्ष कार्कीले दिएको अभिव्यक्तिले चित्त दुखेको बताइन् । ३ वर्षदेखि खाना खुवाउँदा कहिल्यै त्यस्तो घटना नभएको अनुभव सुनाउँदै उनले कुकुरलाई मानिसले माया नगर्दा यस्तो समस्या आएको हुनसक्ने औंल्याइन् ।