अफ्रिकन स्वाइन फिभरबारे जान्नैपर्ने कुरा

अफ्रिकन स्वाइन फिभर सर्वप्रथम सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको थियो । केही दशकसम्म यो सब-साहरन अफ्रिकी देशहरूमा रैथाने रोगको रूपमा रह्यो । अफ्रिकाबाहिर पहिलोपल्ट युरोपको पोर्चुगलमा सन् १९५७ मा यो रोग देखापरेको थियो ।

सन् ६०, ७० र ८० को दशकतिर विभिन्न युरोपेली मुलुकको बंगुरपालनमा चुनौती बनेको यो रोग अन्ततः धेरै लगानीपश्चात् युरोपबाट लगभग उन्मूलन नै भएको थियो । तर सन् २००७ मा फेरि जर्जिया हुँदै रसिया, लिथवानिया, बेल्जियम, हंगेरीलगायत केही युरोपेली मुलुकमा यो रोग पुनः देखापर्यो ।

एसिया महादेशमा पहिलोपल्ट अगस्ट २०१८ मा चीनमा यो रोग प्रमाणित भएको थियो । त्यसयता एसियाका भियतनाम, कम्बोडिया, उत्तर र दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा यो महामारी देखापरिसकेको छ । यो रोगका कारण चीनमा मात्रै लाखौं बंगुर मरेका छन् । त्यस्तै, रोग अन्यत्र फैलिन नपाओस् भनी थप लाखौं बंगुर मारिएका छन् ।

भियतनाम पनि अफ्रिकी स्वाइन फिभरको चपेटामा छ । त्यहाँ यसबाट जोगिन ६० लाख बंगुर मारिएको तथ्यांक छ ।यसरी अफ्रिका हुँदै विभिन्न देशमा फैलिएको यो रोग एसियाका विभिन्न मुलुकमा फैलिँदै गइरहेको छ । सन् २०२० मेको पहिलो हप्ता भारतमा धेरै बंगुरपालन गरिने असाम र अरुणाचल राज्यमा अफ्रिकन स्वाइन फिभर आइपुगेको थियो । आसामपछि यो भुटानमा पनि पुष्टि भएको थियो । यो केही महिना अगाडिको घटना हो । अफ्रिका, आसियान मुलुक हुँदै एसियाका चीन, भारत, भुटानलगायतमा फैलिएको यो रोग अन्ततः नेपालमा पनि आइपुगेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बंगुर मरेपछि नमुना संकलन गरी गरिएको परीक्षणमा यसको पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गत जेठ २ गते गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टिपछि अस्ट्रेलियास्थित रिफरेन्स प्रयोगशालामा नमुना संकलन गरेर पठाइएको थियो । पहिलोपटक कुनै नयाँ रोग देशभित्र देखापरेमा त्यसलाई विश्व स्वास्थ्य संगठनले तोकेको स्थानमा परीक्षण गर्नुपर्ने प्रचलन छ । जसक्रममा अस्ट्रेलियाको प्रयोगशालाले पनि नेपालको प्रयोगशालाले जस्तै रिपोर्ट दिएको थियो ।

नेपालमा अहिले पुष्टि भएको अफ्रिकन स्वाइन फिभर ASF Genotype IIहो । यो विश्वमा पहिलोपटक सन् २००७ मा जर्जियामा देखापरेको थियो । ASF रोग नेपालको छिमेकी देश चीनमा सन् २०१८ मा र भारतमा सन् २०२० मा देखापरेको थियो । यो रोग घरपालुवा तथा जंगली सुँगर तथा बंगुरमा लाग्छ । यो रोगको भाइरस ७० डिग्री सेल्लसियसमा ३० मिनेट पकाउँदा मर्दछ । फ्रोजन मासुमा भने एक हजार दिनसमम्म बाँच्न सक्छ ।

यो रोगबारे विभिन्न भ्रम छन् । गलत सन्देश प्रवाहका कारण कतिपयमा यो रोग पशुबाट मानिसमा पनि सर्नसक्ने बुझाइ देखिन्छ । यो गलत छ । यो रोग मानिसमा सर्दैन । विश्वमा यस रोगविरुद्व कुनै प्रकारको खोप अहिलेसम्म उत्पादन भएको छैन । यो रोग रोगी बंगुरसँगको सिधा सम्पर्क, दूषित दाना तथा पानी, संक्रमित भाँडाकुँडा, कपडा तथा गाडी, किर्नाको टोकाइ र संक्रमित सुई तथा सर्जिकल औजारबाट सर्ने गर्दछ । यो रोग Classical Swine Fever र Porcine Reproductive and Respiratory Syndrome (PRRS) सँग मिल्दो जुल्दो लक्षण देखाउँछ ।
यो रोगको लक्षण संक्रमित भइसक्दा पनि देखिँदैन । संक्रमण भएको ४ देखि १९ दिनभित्र देखिन्छ । रोगी बंगुरको आँसु, सिँगान, र्‍याल, दिसा, पिसाब र योनी रसबाट विषाणूहरूरु बाहिर निस्किन्छन् ।

लक्षणहरू :

  • ४० देखि ४२ डिग्री सेल्सियससम्म ज्वरो आउने, झोक्राउने, श्वासप्रश्वास दर बढ्ने

  • शरिरको विभिन्न भागको छालामा रातो तथा निलो दाग देखिने

  • आँसु र सिँगान बगाउने, वान्ता गर्ने, ब्याउने भए तुहिने

  • जोर्नी सुनिने छेर्ने वा गोटा दिसा गर्ने

  • नाक तथा मुखबाट रगत आउने आदि

रोग पहिचानको तरिका
जिउँदो वंगुरको हकमा रगत (EDTA मा राखिएको)
मरेको पशुको हकमा फियो (Spleen)
लसिका ग्रन्थी (Lymph nodes)
मृगौला (Kidney)
मरेर कुहिएको बंगुरको हकमा लामो हड्डीको टुक्रा मासी भएको
यस रोगको कुनै पनि उपचार छैन । जैविका सुरक्षा (Bio–security) नै रोग रोकथामको एक मात्र उपाय हो । रोकथाम तथा नियन्त्रणको लागि अपनाउनुपर्ने जैविक सुरक्षा उपायहरू :

  • खोरलाई बार बन्देज गर्ने, बाह्य सुंगुर, बंगुरसँग सम्पर्कमा आउन नदिने ।

  • रोगी बंगुरलाई तुरुन्तै अलग राखी अरूमा लसपस हुन नदिई दाना पानी दिने व्यवस्था गर्ने ।

  • यस्तो समयमा बंगुरको ओसारपसार (खरिद पनि नगर्ने र बिक्री पनि नगर्ने) र मानिसको आवतजवतमा समेत रोक लगाउने ।

  • खोरलाई सफा गरी निसंक्रमण गर्ने ।

  • खोरको भुइँलाई बढारेर सफा गर्ने ।

  • खोरको भुइँलाई सरफ पानीले भिजाएर, ब्रसको माध्यमद्वारा सफाइ गर्ने

  • खोरलाई प्रभावकारी केमिकलद्वारा निसंक्रमण गर्ने (Formalin, Glutaraldehyde, Hypochlorite or Bleaching powder) । यसो गर्दा ३० मिनेटसम्म केमिकल राख्नुपर्ने हुन्छ ।

  • सफा पानीले पखाल्ने ।

  • बंगुरको खोरलाई सधैं सफा राखी शरीरमा बाह्य परजीवी जस्तै, किर्नालगायत झिंगा तथा लामखुट्टे बस्न नदिने वा बाह्य

  • परजीवीविरुद्व औषधि प्रयोग गर्ने ।

  • एउटा बंगुरको खोरभित्र प्रयोग हुने लुगा, बुटलगायत अन्य सामाग्री अन्य खोरमा प्रयोग नगर्ने ।

  • एउटा बंगुरमा प्रयोग गरेको सुई (Syringe) अर्को बंगुरमा प्रयोग नगर्ने ।

  • भान्साबाट निस्कने तरकारी तथा खानाको रहलपहल नखुवाउने वा खुवाउनु परेमा उमालेर मात्र दिने ।

  • रोग फैलिरहेको अवस्थामा नयाँ बंगुर खरिद नगर्ने । गर्नु नै पर्ने भएमा कम्तीमा २१ दिनसम्म पुरानो वथानसँग नमिसाउने ।

    डा.नवराज चापागाई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *