डा. किसीको जीवनयात्राःआमाका लागि डाक्टरी, उपार्जनका निम्ति पोल्ट्री
आमा ! संसारकै सर्वप्रिय नाता । कतिपय सन्तति यस्ता हुन्छन्, जो आफ्नी आमाको खुसीका लागि सबै चीज समर्पण गरिदिन्छन् ।
सफल पोल्ट्री व्यवसायी डा. बलराम किसी यस्तै सन्तान हुन्, जसले आफ्नी आमाको शरीरमा साम्राज्य फैलाएको खुनी रोग निर्मूल पार्न यति धेरै जीवनरूपी घोडेटो खने, जुन मिहिनेत र समर्पण सायदै सन्तानले गरेका होलान् ।
डा. बलराम केसी चिकित्सक नहुँदै सानै छँदाको कुरा । आमालाई माइग्रेन थियो । सधैं टाउको दुखिरहने ।
शरीरलाई रोगले हायलकायल पारेपछि उपचारका लागि डा. बलरामकी आमा कैयन् अस्पताल चहारिन् । चिकित्सकलाई व्यथाको इतिवृतान्त सुनाउँथिन् । चिकित्सक त्यही आधारमा थप परीक्षण र औषधि सेवनका लागि चिर्कटोमा प्रेस्क्राइब गर्थे । पैसा सकियो, समय नाश भयो । रोग बीसको उन्नाईस भएन ।
आमाको अवस्था बिग्रँदो थियो । परिवारको आर्थिक स्थिति सामान्य भएकाले अन्य देशमा लगेर उपचार गर्ने ल्याकत थिएन, किसी परिवारको ।
दर्दले छट्पटाइरहेकी आमाको पीडा हरेक दिन नियालिरहेका हुन्थे, बलराम । टोलाउँथे । तर निरीह थिए । संसार देखाउने आमाको पीडा र दर्द टुलुटुलु हेर्नुको विकल्प उनीसँग थिएन ।
पीडामा छट्पटाइरहेकी आमा देखेर उनको कलिलो बालसुलभ मस्तिष्कमा केही गर्न नसकेको ग्लानिको भावले डेरा जमाउँथ्यो । माइग्रेनको पीडामा छट्पटाइरहेकी आमालाई कसरी त्यो दलदलबाट निकालेर पीडामुक्त गर्न सकिएला ? खेल्ने, रमाउने त्यो उमेरमा उनी ध्यानमग्न हुन्थे । यो विषयले मनमा यसरी डेरा जमायो कि कतिबेला डाक्टर बन्ने प्रण गरे आफैंले चाल पाएनन् ।
‘माइग्रेनको पीडाले आमा सधैं छट्पटाइरहनु हुन्थ्यो । यो दृश्य देखेर सानैमा मैले चिकित्सक बन्ने प्रण गरिसकेको थिएँ,’ किसीले चिकित्सक अध्ययन गर्न प्रेरित गर्ने त्यो हृदयस्पर्शी घटना स्मरण गरे ।
भक्तपुरको गोलमढीमा ०२८ सालमा जन्मिएका किसीले त्यहीबाट एसएलसी उत्तीणर् गरे । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र अध्ययन गरे ।
सानैमा कोरलेको डाक्टर बन्ने सपना आईओएमबाट पूरा भयो । एमबीबीएस अध्ययनपछि उनी एमडी गर्न रुस लागे ।
रुसबाट स्वदेश फिर्तापछि किसीमा आत्मविश्वास धेरै थियो रे । उनी भन्छन्, ‘रुसबाट फर्किएपछि आत्मविश्वास यति थियो कि आमाको रोग निको हुनेमा किञ्चित शंका थिएन ।’
तर दुर्भाग्य एलोप्याथिक विषयमा हासिल गरेको विद्वताले आमाको त्यो दीर्घ रोग निको भएन । ‘मैले हासिल गरेको ज्ञानले आमाको रोग निको पार्न सकिएन,’ उनले भने ।
जब पूरा भयो सपना …
डाक्टर अध्ययन गर्दा उनको वर्षौं समय व्यतीत भइसकेको थियो । जुन उद्देश्यले चिकित्सा शास्त्र अध्ययन गरेका थिए, त्यो नै पूरा नभएपछि स्वभाविक रूपमा निरासा पलाउँछ । बेचैनी र दिक्दारीले घर गर्छ ।
तर डा. किसी आफू कहिल्यै हतास नभएको सुनाउँछन् । बरू होमियोप्याथी अध्ययन गर्ने सोच पलाएको र त्यसैअनुरूप अघि बढेको बताउँछन् । ‘एउटा खोजीमा रहेकाले त्यो नभेटेसम्म म यात्रामा जुटिरहेँ । हार मानिनँ,’ उनले भने ।
त्यही खोजलाई मूर्तरूप दिन एक वर्ष होमियोप्याथी अध्ययन गर्ने निणर्य गरेको डा. किसी बताउँछन् ।
होमियोप्याथी विश्वकै दोस्रो ठूलो चिकित्सा विधि । तर उपेक्षामा परेको । यही विषयमा उनले एक वर्षको अध्ययन सके ।
एलोप्याथिक अध्ययनले आमाको रोग निर्मूल नगरे पनि होमियोप्याथीले भने उनको सपना साकार भयो । वर्षौं पीडित आमाको माइग्रेनको समस्या काँडो झिकेजस्तो दूर भयो ।
आमाको मन धन्य भयो । उनको खुसी पहिलो पटक बेजोडले मुस्कुरायो ।
‘जुन उद्देश्य लिएर वर्षौं संघर्ष गरेको थिएँ, त्यसले मूर्तरूप लिँदा म निकै आनन्दित थिएँ,’ उनले त्यो अविष्मरणीय घटनातिर घोत्लिँदै भने ।
डा. किसीका अनुसार, वर्षौं माइग्रेनको समस्याबाट ग्रसित उनको आमालाई अहिले माइग्रेनको कुनै समस्या छैन । ‘उहाँ अहिले तन्दुरुस्त हुनुहुन्छ । माइग्रेनको कुनै समस्या छैन,’ उनले सुनाए ।
किसी पूणर्कालीन चिकित्सक होइनन् । तर उनले यो पेशा चटक्कै छाडेका भने छैनन् । भक्तपुरमै एउटा क्लिनिक खोलेका छन् । त्यसमा उनी सातामा एक दिन बिरामी जाँच्छन् । ‘मुख्य त सेवा भाव नै हो,’ क्लिनिक खोल्नुको कारणबारे उनले सुनाए, ‘अर्कोचाहिँ आफूले हासिल गरेको ज्ञान विलुप्त नहोस् भन्ने हो ।’
सबैतिर चहारेका, निराश बिरामी आफ्नोमा आउने र तीमध्ये धेरैलाई आफूले निको पारेर पठाएको उनी सुनाउँछन् । ‘मेरो लागि एउटा होइन, सबै बिरामी स्मरणीय र खास हुन्छन्,’ किसीले भने ।
होमियोप्याथिक उपचार पद्धति विश्वकै दोस्रो ठूलो भएपनि नेपालमा उपेक्षित भएको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतले होमियोप्याथिकको विकासमा ध्यान दिएपनि हाम्रोमा यो उपचार विधि उपेक्षित छ,’ उनले गुनासो गरे ।
अनि रोजे पोल्ट्री क्षेत्र
चिकित्सा शिक्षा अध्ययन सकाएका अधिकांशले यसमै प्राक्टिस गर्छन् । नेपालजस्तो मुलुकमा त अझै एमबीबीएस/एमडी अध्ययनरत चिकित्सक अन्य पेशामा लागेको बिरलै देख्न पाइन्छ । यो पेसाबाट नै कुस्ता आम्दानी हुने भएकाले अन्य क्षेत्र रोज्नुपर्ने बाध्यता छैन ।
तर डा. किसीलाई सेतो वस्त्रधारण गर्दै स्टेथोस्कोप भिरेर पूणर्कालीन चिकित्सक हुन मन लागेन ।
किन त ?
‘स्वास्थ्य क्षेत्र विशुद्ध सेवा हो । यो पेशा हुनै सक्दैन,’ समाजवादी लय पक्डँदै उनले चिकित्सा क्षेत्रमा पूणर्कालीन नहुनुको रहस्य उधिने, ‘मान्छेको पीडालाई कहिल्यै उपार्जनको अवसर बनाउनु हुँदैन । पैसा कमाउन त व्यवसाय गर्नुपर्छ । त्यसैले पोल्ट्री क्षेत्र रोजेको हुँ ।’
डा. किसीका अनुसार, शिक्षा र स्वास्थ्य व्यावसायीकरण गर्नै हुँदैन । सेवाका क्षेत्रलाई व्यावसायीकरण गरिएकै कारण मुलुकमा अनेक समस्या आएको उनको जिरह छ । ‘अहिले पनि अस्पतालमा जाँदा ठगिएको विषय बाहिर आउँछ । बिरामी मरेपछि डाक्टर कुटिन्छन् । पोल्ट्री व्यवसाय गर्दा त कोही पनि कुट्न आउँदैनन् नि,’ उनले स्वास्थ्य क्षेत्र व्यावसायीकरण गर्दाको साइड इफेक्टबारे सुनाए ।
स्वास्थ्य र शिक्षालाई व्यावसायीकरण गरेपछि यस्ता घटना दोहोरिरहने उनी बताउँछन् ।
यही ठम्याइका साथ व्यवसाय थालनी गर्ने सोच बनाएका किसीले पोल्ट्री नै रोज्नुको कारणचाहिँ आफ्नो दाइ यही क्षेत्रमा संलग्न हुनु रहेछ ।
‘दाइले ०५१ सालदेखि नै पोल्ट्री व्यवसाय थाल्नु भएको थियो । मलाई पनि पैसा कमाउन व्यवसाय गर्नुपर्छ भन्ने रियलाइजेसन भयो र यसमा इन्भल्भ भएँ,’ उनले भने ।
किसीका अनुसार, सुरुमा उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । एकै पटक ठूलो व्यवसाय गर्ने ल्याकत थिएन । त्यसैले पाँच सय कुखुराबाट व्यवसाय थालेको उनी बताउँछन् । हिजो सामान्य ढंगले किसी दाजुभाइले सुरु गरेको पोल्ट्री व्यवसाय अहिले करोडौंको उद्योगमा परिणत भएको छ । कुखुरा उत्पादनलगायत विभिन्न कार्य उनको उद्योगले गर्छ । किसीका अनुसार, यही क्षेत्रमा नयाँ काम गर्ने योजना पनि उनीहरूले बताएका छन् । ‘पोल्ट्री क्षेत्रमा धेरै वर्ष बिताइयो । अब यसैमा टेकेर अरूमा पनि हात हालिँदैछ ।संकट जसलाई किसीले परास्त गरे
मानिसको जीवन सधैं सरल रेखामा अघि बढ्दैन । त्यसमा आरोह र अवरोहहरू आइरहन्छन् । व्यवसायमा पनि संकट आइपर्छन् ।
पोल्ट्री व्यवसाय थालेको दुई दशकपछि डा. किसीले कल्पना नै नगरेको झड्का यो व्यवसायमा व्यहोरे । ०७० मा उनीहरूको पोल्ट्री फार्म अहिलेजस्तो ४-५ ठाउँमा नभएर एकै ठाउँमा थियो । बर्डफ्लुको महामारी आयो । उनको फार्म रहेको भक्तपुरलाई संकटग्रस्त घोषणा गरियो । किसीका अनुसार, त्यतिबेला उनीहरूले पालेका सबै कुखुरा बर्ड फ्लुको आशंकामा पुरियो । यसबाट एकै पटक १० औं करोडौंको क्षति किसी परिवारले भोग्यो । किसी त्यतिबेला भोगेको क्षतिले निकै ठूलो धक्का पुगेको सुनाउँछन् ।
ऋणको भारी किसी दाजुभाइको थाप्लोमा थियो । भए भरको घर जग्गा बैंकमा थियो । धूलो टक्टकाएर नउठी धरै थिएन । तर कसरी उठ्ने ? ठूलो दोसाँधमा थिए, किसी दाजुभाइ ।
एउटा अहान छ, आगोले पोलेको घाउलाई आगोले नै निको पार्नुपर्छ । किसी दाजुभाइलाई पनि त्यस्तै लाग्यो । उनीहरू व्यवसाय थालनी गर्ने सोचमा पुगे ।
व्यवसायमा आएको त्यो संकटको घडीमा बैंकले हामी छौं, के गर्नु पर्यो भनेर ढाडस दिए । साथीभाइले म्याटिरियल र औषधि दिए ।
‘त्यो संकटको बेला हाम्रो खाता भनेको विश्वासको थियो,’ किसीले भने, ‘सबैको साथ र सहयोगले हामी त्यो संकटबाट उठेर व्यवसाय थाल्न सफल भयौं ।’
सबैको साथ र हौसलाले केही समयपछि नै आफ्नो व्यवसायले लय पक्डिएको किसी सुनाउँछन् ।
‘०७० सालमा पुगेको क्षतिले धक्का लागे पनि केही समयपछि नै हाम्रो व्यवसाय लयमा फर्कियो,’ उनले सुनाए, ‘यो व्यवसायबाट हामी पूणर् सन्तुष्ट छौं ।’
कोरोनाले सबै क्षेत्रमा धक्का पुगेको छ । कतिपय क्षेत्र अझै पनि चलायमान हुन सकेको छैन । तर पोल्ट्री क्षेत्रमा भने चलायमान रहेको किसी बताउँछन् । कोरोना भाइरस संक्रमणबाट जोगिन आवश्यक प्रोटिन कुखुराको मासुबाट पाइने भएकाले यसको खपत सन्तोषजनक रहेको उनको ठम्याइ छ ।
‘पर्यटन, हवाई र शिक्षा क्षेत्रमा परेको असरको तुलनामा पोल्ट्री व्यवसायमा कम प्रभाव परेको छ,’ उनले भने, ‘नाफा घाट छ । तर चलायमान छ । रोजगारी कटौती गर्नु परेको छैन ।’
कुखुरामा देखापर्ने रोग चुनौतीका रूपमा छ । त्यसमध्येको एक रोग हो, रानीखेत । यसले किसानलाई ठूलो तनाव दिँदै आएको छ ।
कोरोनाको बेभजस्तै रानीखेतको बेभ आए पनि अहिले यो समस्या नरहेको किसी बताउँछन् ।
‘रानीखेतका कारण ब्रोइलर र लेर्स कुखुरा मरे । रानीखेतको खोप लगाएको मरेको पाइएन । अहिलेचाहिँ भ्याक्सिन नलगाए पनि मरेको छैन,’ किसीले भने ।
कुखुराको मासु उत्पादनमा मुलुक आत्मनिर्भर बने पनि यसको दानालगायतमा चाहिने कच्चा पदार्थमा परनिर्भरताको अवस्था रहेको किसी बताउँछन् । यसमा करोडौं रूपैयाँ विदेशिएकाले यसतर्फ सोच्न ढिला भइसकेको उनी बताउँछन् । ‘कुखुराको दाना लगायतका लागि आवश्यक कच्चा पदार्थका लागि करोडौं रूपैयाँ विदेश गइरहेको छ,’ उनले कुराको बिट मार्दै भने, ‘यदि यो कच्चा पदार्थमा पनि मुलुकलाई आत्मनिर्भर बनाउने हो भने मुलुकको ठूलो धनराशि बाहिरिनबाट जोगिने थियो ।’