यसरी खुल्यो अवैध धन्दाको पोल

काठमाडौं । पशुपन्छीसम्बन्धी औषधि बिक्री–वितरण गर्ने लुक्सी भेट फर्माले नेपालमा दर्ता नै नभएको औषधि अनधिकृत ढंगले भित्राएर बिक्री गरिरहेको खुलेको छ । नारायण अधिकारी स्वामित्वको लुक्सी फर्माले ‘आइभरमेक्टिन’ नामक औषधि अनधिकृत ढंगले भित्राएर नेपालमा बिक्री वितरण गरेको हो । पशुपन्छीमा प्रयोग हुने आइभरमेक्टिन खासगरी कुकुरलाई खुवाइन्छ ।

औषधि ऐन, २०३५ मा कुनै उद्योगले उत्पादन गरेको प्रत्येक औषधि बिक्री वितरण गर्नुपूर्व तोकिएको दस्तुर तिरेर दर्ता प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिसपत्र लिनुपर्ने प्रावधान छ । औषधि ऐनको ८ (२) मा भनिएको छ– कुनै उद्योगले उत्पादन गरेको प्रत्येक औषधि बिक्री वितरण गर्नुअघि त्यस्तो औषधि उत्पादन गर्ने उद्योगले तोकिएको दस्तुर तिरी तोकिएबमोजिम विभागमा दर्ता गराई औषधि दर्ता प्रमाणपत्र लिनुपर्नेछ ।’ यति मात्रै होइन प्रत्येक अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको म्याद नाघेको मितिले ३५ दिनभित्र तोकिएको दस्तुर गिरेर प्रत्येक वर्ष नवीकरण समेत गराउनु पर्छ । सो म्यादभित्र पनि नवीकरण नगराएमा खारेज हुने कानूनी व्यवस्था छ । तर आइभरमेक्टिन औषधि व्यवस्था विभागमा दर्ता गरिएको छैन । तथापि, भारतस्थित क्याटल केयर कम्पनीले उत्पादन गरेको यो औषधि लुक्सीले प्रचलित कानूनलाई चुनौती दिँदै नेपालमा तस्करी गरेर बिक्री वितरण गरिरहेको छ ।

औषधि उद्योगले आफ्ना औषधिका अधिकतम् खुद्रा मूल्यसमेत तोकेर बजारमा पठाउनु पर्ने नियम छ । लुक्सीले मनमौजी बिक्री गर्न यसलाई समेत चुनौती दिइरहेको छ । रोचकचाहिँ के भने तस्करीको औषधि भए पनि उसले औषधि खरिद गर्ने ग्राहकलाई भने बिल दिने गरेको छ ।

लुक्सीले तस्करीको औषधि बिक्री गरिरहेको बारे हामीले औषधि व्यवस्था विभागसँग जानकारी मागेका थियौं । विभागका एक अधिकारीले आइभरमेक्टिन नेपालमा दर्ता नरहेको भेट टाइम्सलाई जानकारी दिए । तस्करीको औषधि बिक्री गरेको बिलसहित उजुरी दिए तत्काल कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
‘आइभरमेक्टिन नेपालमा दर्ता भएको भेटिएन,’ विभागका ती अधिकारीले भेट टाइम्ससँग भने, ‘बिना दर्ताका औषधिसहित बिक्री गरेको सक्कल बिल राखेर उजुरी दिए हामी तुरुन्तै कारबाही गर्छौं ।’

अवैध औषधि बिक्रीबारे गुनासो आएपछि विभाग आफैंले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने हो । आइभरमेक्टिनजस्तै कैयन् औषधि बिना दर्ता बिक्री वितरण भइरहे पनि औषधिको नियामककारी निकाय औषधि व्यवस्था विभाग कानमा तेल हालेर बसेको छ । कारण, मानव तथा पशुपन्छीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

यसरी खुल्यो अवैध धन्दाको पोल
आइभरमेक्टिन औषधि अवैध रूपमा बिक्री वितरण भइरहेको गुनासो भेट टाइम्सलाई प्राप्त भएपछि सुरुमा हामी लुक्सी फर्मामा ग्राहक बनेर पुगेका थियौं । विगतमा यो औषधि बिक्री गर्ने गरे पनि अहिले नभएको जानकारी हामीलाई प्राप्त भयो ।
लुक्सीबाट यस्तो प्रतिक्रिया प्राप्त भएपछि हामीले काठमाडौं, ललितपुर र भक्तपुृरका औषधि पसल पनि चहा¥यौं । सो क्रममा लुक्सी फर्माले उक्त औषधि बिक्री गरेर बिलसमेत जारी गरेको भेटियो ।
बिल जारी भएको प्रमाण भेटिएपछि लुक्सीका सञ्चालकलाई हामीले तपाईंले त दर्ता नै नभएको औषधि बिक्री गर्नु भएको रहेछ नि भनेर सोधेका थियौं । सँगै उक्त औषधि कसरी तपाईंसम्म आइपुग्यो भन्ने जिज्ञासा पनि हाम्रो थियो । तर उनले यसमा प्रष्ट जवाफ दिन चाहेनन् । ‘यसमा ठूलो गिरोह संलग्न छ’ भन्ने अमूर्त जवाफ दिएर उनी पन्छिन खोजे । त्यस्तो ठूलो गिरोह कुन हो त भन्ने हाम्रो पूरक प्रश्नमा उनले फोनमा सबै कुरा बताउन नमिल्ने भन्दै भेटेर जानकारी दिने बताए । तर उनी त्यसपछि सम्पर्कमा आउन चाहेनन् । कुनै गिरोह संलग्न रहेको बताउनु र त्यसबारे अमूर्त जवाफ दिनुले लुक्सी फर्माकै संलग्नतामा यो काम भएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
अधिकारी स्वामित्वको लुक्सी फर्माको अवैध धन्दा यतिमै सीमित छैन । कुकुरलाई खुवाइने आइभरमेक्टिनजस्तै भारतीय कम्पनीले उत्पादन गरेका औषधि पनि उनले तस्करीको माध्यमबाट नेपाल भित्राएर कारोबार गर्ने गरेको स्रोतको दाबी छ । जानकारहरूका अनुसार, अधिकारीले भन्सार छलेर नेपालको कुनै पनि निकायमा दर्ता समेत नगरी ५ रूपैयाँका प्रति ट्याबलेट खरिद गरेर ३० रूपैयाँ अर्थात् ६०० प्रतिशतसम्म नाफा लिने गरेका छन् ।

को हुन् अधिकारी ?
नारायण अधिकारी पेशाले मामुली पशु स्वास्थ्य प्राविधिक हुन् । ०६१ सम्म उनी गौरी शंकर केनल क्लबमा आबद्ध थिए । त्यहाँ ५ वर्ष बिताएका उनको भूमिका सामान्य सहयोगीका रूपमा थियो ।
अर्घाखाँचीबाट काठमाडौं पसेका उनले जागिर छाडेर छलाङ मात्रै हानेनन्, आफ्नै व्यवसायसमेत सुरु गरे । लुम्बिनी केनल क्लब र लुकसी भेट फर्मामा अधिकारीको लगानीका संस्था हुन् ।

अनधिकृत धन्दा सञ्चालनका कारण गौरी शंकर केनल क्लब बदनाम छ । अधिकारीसँग निकट सम्बन्धमा रहेकाहरू उनले गौरी शंकरबाटै कानूनविपरीतका काम गर्ने दक्षता हासिल गरेको बताउँछन् । साथै उनले नेपाल सरकारको राजस्व समेत छली गरेको पाईएको छ ।अधिकारीले संञ्चालन गरेको पसलबाट राज्यले भ्याट लाग्ने बस्तुको विक्री गर्दा अनिवार्यरुपमा भ्याट बील जारी गरि भ्याट रकम सरकारको राजस्वमा जम्मा गर्ने प्रावधान हुदाँहुदै उनले भ्याट लाग्ने बस्तुहरुमा समेत भ्याट बील जारी नगरेको प्रमाण समेत प्राप्त भएको छ । साथै राजस्व अनुसन्धान विभागका अधिकारीले भेट टाइम्सलाई बताए अनुसार सप्रमाण मैखीक वा इमेल मार्फत उजुरि पठाउन आग्रह गर्दै प्रमाण फेला पारेमा पसल सिल गरी कारवाही समेत हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *