कृषि मन्त्रालयले बुझ्यो पशु स्वास्थ्यकर्मीको मर्का

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्यकर्मी तथा भेटेरिनरी औषधि व्यवसायीहरूलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

पशु स्वास्थ्यकर्मी तथा भेटेरिनरी औषधि व्यवसायीको चौतर्फी आग्रहपछि कृषिले स्वास्थ्यलाई एक पत्र पठाउँदै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

‘नेपाल सरकारले सञ्चालन गर्ने कोभिड १९ विरुद्धको खोप कार्यक्रममा पशु स्वास्थ्य सेवा प्रवाहमा संलग्न सबै प्राविधिक जनशक्ति तथा भेटेरिनरी औषधि व्यवसायीहरूलाई समेत प्राथमिकतामा राखी खोप उपलब्ध गराइदिन अनुरोध गरेको सम्बन्धमा पशु स्वास्थ्, भेटेरिनरी सोव प्रवाहमा संलग्नहरूलाई कोभिड १९ विरुद्धको खोप प्राथमिकतामा राख्न तहाँ मन्त्रालयमा अनुरोध गर्ने यस मन्त्रालयको मिति ०७८ जेठ १८ को निर्णयानुसार आवश्यक सहजीकरणका लागि अनुरोध छ,’ कृषिका वरिष्ठ पशु चिकित्सक वरुणकुमार शर्माद्वारा प्रेषित अन्तर मन्त्रालयमा पत्रमा भनिएको छ ।

कोरोना महामारीबीच पनि पशु स्वास्थ्यकर्मी तथा भेटेरिनरी औषधि व्यवसायी अग्रपंक्तिमा रहेर सेवारत छन् । विभिन्न क्षेत्र र वर्गका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको प्राथमिकतामा राखिए पनि पशु स्वास्थ्यकर्मीहरू त्यो सूचीमा छैनन् । अत्यावश्यकीय सेवा प्रवाह गर्ने पशु स्वास्थ्यकर्मी तथा औषधि व्यवसायी खोपको प्राथमिकतामा नपरेपछि यससँग सम्बन्धित संघ संस्थाहरूले ध्यानाकर्षण गराउँदै आएका थिए । पशु स्वास्थ्यकर्मीको चौतर्फी आग्रहपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत मंगलबार सचिवस्तरीय निर्णय गरेर स्वास्थ्यलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको हो ।

कृषि मन्त्रालयको यो अग्रसरताले पशु स्वास्थ्यकर्मी तथा भेटेरिनरी औषधि व्यवसायीमा खोप पाइने आशा पलाएको छ । यद्यपि, यो समाचार तयार पार्दासम्म स्वास्थ्यले यसको सम्बोधन गरेको भने छैन । स्रोतका अनुसार, स्वास्थ्यले पशु स्वास्थ्यकर्मीलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने गरी आन्तरिक गृहकार्य थाल्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *