पशु स्वास्थ्यकर्मीको सवारी साधन अब चौबीसै घण्टा चलाउन पाइने

काठमाडौं । निषेधाज्ञापछि सीमित समयमा मात्र आवतजावत गर्न बाध्य पशुस्वास्थ्यकर्मीका सवारी साधन शुक्रबारबाट निर्वाध सञ्चालन हुने भएका छन् ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा पशु स्वास्थ्यकर्मीको सवारी साधन राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने नियम काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले लागू गरेका थिए । तर उपत्यका (काठमाडौं, ललितपु र भक्तपुर) का जिल्ला प्रशासन कार्यालयले बुधबार यसअघिका निर्णय परिमार्जन गर्दै अत्यावश्यकीय सेवा प्रवाह गर्ने पशु स्वास्थ्यकर्मीका सवारी साधनलाई चौबीसै घण्टा निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यसैगरी पशु स्वास्थ्यकर्मी आफूलाई मन लागेको समयमा उपत्यका प्रवेश गर्न पाउने भएका छन् ।

‘अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन ,पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन भने काठमाडौं जिल्ला प्रवेशमा रोक लगाउने,’ जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा थपसम्बन्धी बुधबार जारी सूचनामा भनिएको छ ।

योसँगै अब भेटेरिनरी डाक्टर तथा अग्रपंक्तिमा रहेर किसानको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने सम्पूर्ण पशु स्वास्थ्यकर्मीलाई राहत मिलेको छ ।

नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए) का अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पशु स्वास्थ्यकर्मीको आवागमनलाई सहज पार्ने प्रशासनको निर्णयप्रति खुसी व्यक्त गरे । एनभीएको आग्रहलाई स्वीकार गर्दै आवागमन सहज पारिदिएकोमा उनले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
पशुपन्छीजन्य वस्तु बोकेका सवारी पुरानै समयमा चल्न पाउने
पशु स्वास्थ्यकर्मीको सवारीसाधन चौबीसै घण्टा सञ्चालन हुन पाउने भए पनि पशुपन्छी तथा कृषिजन्य वस्तु बोकेका सवारी साधनको हकमा भने अलग्गै नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार, यस्ता वस्तु बोकेका सवारी साधन ब्यानर राखेर राति ९ बजेपछि मात्र सञ्चालन हुन पाउनेछन् । बिहान ९ बजेपछि भने यस्ता सवारी साधन सञ्चालन हुन पाउने छैनन् ।

यसअघि थप गरिएको निषेधाज्ञामा पनि पशुपन्छी तथा कृषिजन्य वस्तु बोकेका सवारी साधन चल्ने समय राति ९ बजेदेखि बिहान ९ बजेसम्म तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *