पशु स्वास्थ्यकर्मीमा कोरोना : अहिलेसम्म ८ को ज्यान गयो, ४५ संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म ८ जना पशु स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोरोना भाइरस महामारीको पहिलो र दोस्रो लहरमा गरी कुल ८ स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनकबहादुर रावलले कर्तव्य निर्वाहको सिलसिलामा हालसम्म देशका विभिन्न भागमा ८ जना पशुस्वास्थ्यकर्मीको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।
कोरोना भाइरस महामारीको चपेटामा उत्तिकै पशुस्वास्थ्यकर्मी परिरहेका छन् । रावलका अनुसार, अहिले पनि ४५ जना पशुस्वास्थ्यकर्मी संक्रमित छन् ।
संक्रमितमध्ये अधिकांश घरमै आइसोलेसनमा बसेर कोरोनाविरुद्ध लडिरहेका छन् भने केही अस्पतालमा उपचाररत छन् ।
पशुस्वास्थ्यकर्मीहरूको कोरोनाबाट संक्रमित हुने क्रम बढेपछि यससँग सम्बन्धित संघ संस्थाहरूले संक्रमितको उपचार र ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।