काठमाडौंको कीर्तिपुरमा बर्ड फ्लू भेटियो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको एक फार्ममा पालिएका कुखुरामा बर्ड फ्लू भेटिएको छ ।

कीर्तिपुर नगरपालिका सितापसल स्थित जयराम कँडेलको गोरखाली एग्रो फार्ममा पालिएका कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो ।

त्रिपुरेश्वरको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा आफूले पालेका कुखुरामा बर्ड फ्लू पुष्टि भएको फार्मका सञ्चालक कँडेलले जानकारी दिए ।

‘पालिएकामध्ये केही कुखुरा मर्न थालेपछि प्रयोगशालामा लगेर परीक्षण गराएको थिए,’ कँडेलले भने, ‘रिपोर्टमा मरेका कुखुरामा बर्ड फ्लू संक्रमण रहेको उल्लेख छ ।’

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले कीर्तिपुरमा पालिएका कुखुरामा बर्ड फ्लू पुष्टि भएपछि नष्ट गर्न टोली परिचालन गरिएको जानकारी दिए । कति संख्यामा कुखुरा, हाँस टर्की नष्ट गर्न लागिएको भन्नेबारे भने यकिन तथ्यांक आइनसकेको उनले बताए ।

कँडेलको फार्ममा ५०० बढी कुखुरा, हाँस र टर्की पालन गरिएको छ । बर्ड फ्लू पुष्टि भएपछि अहिले सरकारी टोली गएर नष्ट गरिरहेको कँडेलले जानकारी दिए ।

त्यसैगरी, काठमाडौंकै सतुंगलको एक फार्ममा पनि बर्ड फ्लू भेटिएको प्रयोगशाला स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *