कुखुरापालक किसानले पाउन थाले उचित मूल्य
लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् ।कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो ।
कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार आज उद्योगले ७० रूपैयाँ प्रतिगोटा ब्रोयलर चल्ला बिक्री गरेका छन् ।
कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा १ सय २५ रूपैयाँमा भैरहेकाे उनले जानकारी दिए । किसानले चल्ला राख्न थालेपछि बिक्री हुन थालेको हो ।
नेपालमा ३ सय २४ वटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ । अहिले यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ ।
उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उनले बताए । उत्पादन राम्रो हुँदा ब्रोयलर चल्लाको लागत मूल्य ५६ रूपैयाँ पर्ने सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट ३ सय ४५ रूपैयाँमा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु ११.५३ हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताए । तीन वर्ष अघि प्रतिक्रेट ३ सय ६० रूपैयाँ पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो ।
कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उनले बताए । अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ ।
हाल देशभरमा दुई हजार सात सय किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको सङ्घको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ ।
नेपाल दाना अण्डा वितरक सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो ३ सय ३० रूपैयाँमा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य २ सय १० रूपैयाँकोे हाराहारीमा पाएका छन् । लागत मूल्यभन्दा बढी भएको उनले जानकारी दिए ।
कोरोना सङ्क्रमणको समयमा जिउँदो कुखुरा ९०रूपैयाँ प्रतिकिलोमा बिक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो ।
कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, “कुखुरा पाल्ने किसानको लागत मूल्यभन्दा बढी आम्दानी होस् भनेर हामीले आम जनतालाई मासु र अण्डाको बारेमा प्रचारप्रसार समेत गरेका छौं ।”
कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ ।
मकैमा प्रतिकिलो सात र भटमासमा १२ रूपैयाँ वृद्धि भएको उनले बताए । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा तीन रूपैयाँ प्रतिकिलो बढाइएको उनले बताए ।
दानाको अधिकांश कच्चापदार्थ भारतलगायत देशबाट आउने गर्दछ । जसका कारण मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । नेपालमा कुखुराजन्य व्यवसायमा अर्बौको लगानी छ ।