भ्यालि एग्रो फिडको गुणस्तरहीन दानाले १५ हजार कुखुरा सोत्तर, मन्त्रीलाई नै उजुरी गर्दा पनि भएन कारवाही

काठमाडौं । मोरङको विराटनगरस्थित एक पोल्ट्री फार्मले १५ हजार कुखुरा दानाका कारण मरेका र वृद्धि विकास राम्रो नभएको भन्दै क्षतिपूर्तिसहित दाना उद्योगीलाई कारवाहीको माग गरेको छ । पोल्ट्री फार्मका सञ्चालक डा. सीताराम यादवले भ्याली एग्रो फिड प्रालिले उत्पादन गरेको दाना गुणस्तरहीन रहेकाले कुखुरामा यस्तो समस्या आएको भन्दै आफूलाई क्षतिपूर्ति दिलाउन र उक्त उद्योगलाई कारवाहीको माग गरेका हुन् ।

कुखुरा पालक यादवले झापाको विर्तामोडमा सरोज भट्टराईले सञ्चालन गरेको दानाको डिलर सरोज भेट्सबाट दाना खरिद गरी कुखुरालाई खुवाएको बताएका छन् । भ्यालि एग्रो फिडको दाना खुवाउन थालेपछि कुखुराको तौल नबढ्ने, झोक्राउने र मर्ने क्रम शुरु भएको कुखुरा पालक डा. सीताराम यादवले बताए ।

दानामा शंका लागेपछि आफूहरुले नेपाल इन्भाइरोन्मेटल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिमा दानाको प्रयोगशाला परीक्षण गरिएको र परीक्षणमा पनि दानाको गुणस्तर कमजोर रहेको रिपोर्ट प्राप्त भएको कुखुरा पालक यादवले बताएका छन् ।
‘सरकारी मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गराउँदा उक्त उद्योगले उत्पादन गरेको दानामा सरकारले तोकेको मापदण्ड अनुसार देखिएको छैन,’ उनले भने, ‘हामीसँग उक्त प्रयोगशालाको रिपोर्ट पनि सुरक्षित छ ।’

रिपोर्टसमेत संलग्न गरी आफूहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा भ्याली एग्रो फिड प्रालिलाई कारवाही गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र सुनसरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापा र कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौंलाई छुट्टा छुट्टै पत्र लेखे पनि कुनै कारवाही नभएको उनले बताएका छन् ।

‘कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई समेत ल्याब रिपोर्टसहित क्षतिपूर्ति र कारवाहीका लागि हामीले पत्र लेख्यौं,’ डा. यादवले भने, ‘तर उक्त उद्योगले राजनीतिक पहुँचका कारण कारबाहीबाट बचेर हिँडिरहेको छ । मेरो क्षतिको पूर्ति गर्ने कुरा सुनुवाइ नै गरेको छैन ।’
भ्याली एग्रो फीड प्रालिको दाना उत्पादन प्लान्ट झापाको मेचीनगर–१३, दुवागढीमा सञ्चालनमा रहेको छ । उक्त उद्योग भ्याली ग्रुपअन्तर्गतको दाना उद्योग हो । उक्त ग्रुपमा पोल्ट्री क्षेत्रका चल्लादेखि दानासमेत उत्पादन गर्ने छुट्टाछुट्टै १४ ओटा उत्पादन प्लान्ट उद्योगहरु छन् ।

भ्याली एग्रो फिडका सञ्चालक विबेक निरौलाले भने सरकारले ब्रोइलर कुखुराको ३ तहको दानाको मापदण्ड तोकेको भए पनि आफूहरुले कुखुराको उमेरअनुसार बि ० देखिका दाना उत्पादन गरेकोले मापदण्डअनुसार नदेखिएको बताए ।
‘सरकारले तोकेको मापदण्डभन्दा अझ राम्रो दाना हामीले उत्पादन गरेका छौं,’ उनले भने, ‘सरकारी मापदण्डमा बि ० दाना हुँदैन तर सम्पूर्ण पेलेट फिड उद्योगहरुले उत्पादन गर्ने दाना बि ० बाट सुरु हुन्छ । त्यसकारणले नमुना परीक्षणका लागि पठाउँदा तोकिएको नाम फरक परेकाले फरक फरक रिपोर्ट आएको हुनसक्छ । तर, हाम्रो उत्पादनमा कुनै किसिमको खराबी छैन । जहाँसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रिपोर्टको कुरा छ त्यो अनुज्ञा पत्र प्राप्तीका लागि हामी आफैंले परीक्षणका लागि पठाएको हो र ती नमुनामा अपुग भएका मापदण्ड पूरा गरी उत्पादन गर्छौं । तसर्थ भ्यालीको दानामाथि कुनै शंका गर्नु आवश्यक छैन ।’

तर, पोल्ट्री फर्मलाई दाना उपलब्ध गराउने डिलर सरोज भेट्सका सञ्चालक सरोज भट्टराईले दाना नै गुणस्तरहीन पाइएकोले आफूलाई समस्या परेको बताएका छन् ।
‘मैले २० हजार चल्ला र त्यसका लागि भ्याली एग्रोको दाना आपूर्ति गरेको छु,’ सञ्चालक भट्टराईले भने, ‘२० हजार नै कुखुरामा दानाको कारण समस्या देखिएको रिपोर्टहरु आइरहेका छन् । कुखुरा पालकले मलाई घेरिरहेका छन् । भ्यालीले क्षतिपूर्ति नदिए अदालतसम्म जान पनि हामी बाध्य हुन्छौं ।’

ल्याबैपिच्छेका फरक रिपोर्ट
उक्त उद्योगले उत्पादन गरेको दानाको परीक्षण गरेका ३ ओटा प्रयोगशालाले फरक फरक ३ किसिमका रिपोर्ट दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशाला, नेपाल इन्भाइरोन्मेटल एन्ड साइन्टिफिक सर्भिसेज प्रालि र आश्था साइन्टिफिक रिसर्च सर्भिस प्रालिले दिएको रिपोर्टमा फरक देखिएको हो ।
नेपाल इन्भाइरोन्मेन्टको ल्याबमा कुखुरा पालक किसानले परीक्षण गराएका हुन् । उक्त ल्याबको रिपोर्टमा दानामा लिड(सिसा) पदार्थको मात्रा बढी भएको देखाएको छ । दाना उद्योगले आश्थाको ल्याबमा परीक्षण गराएको हो । उक्त ल्याबको रिपोर्टले भने दानाको गुणस्तर राम्रो देखाएको छ । दाना उद्योगले भने दानाको स्वतन्त्र परीक्षण हुनुपर्ने बताएको छ ।

दानाको मापदण्ड नपुगेको सरकारी प्रयोगशालको रिपोर्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा भ्याली ग्रुपले असार २९ मा अनुज्ञापत्र प्राप्तको लागि गरेको परीक्षणमा समेत उक्त कम्पनीका उत्पादित दानामा सरकारले तोकेको मापदण्ड अनुसार देखिएको छैन । भेट खबरलाइ प्राप्त खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्टमा कुखुराको लागी बि वान दाना र गाई दानामा सरकारी मापदण्ड बमोजिम नरहेको पाईएको छ ।
हेर्नुहोस रिपोर्ट ः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *