साउदीबाट फर्केर व्यवसायिक बाख्रा पालनमा जम्दै यी युवा, भन्छन्– ‘काम र दामकाे समस्या हुन्न’

केशव चापागाईं

झापा । काम र दामको खोजीमा झापा गाउँपालिका–२ सृजना बस्तीका युवा मनोजकुमार बिष्टले साढे तीन वर्ष साउदी अरबमा बिताए । जीवनका केही ऊर्जाशील समय त्यतातिर लगाए, पसिना बगाए । तर, उनले सोचेअनुसारको काम र दाम पाउन सकेनन् । त्यसपछि विदेशी भूमिमा रहन उनको मन फिटिक्कै मानेन । गाउँमा फर्किएर आफ्नै काम गरी दाम कमाउने सपना देख्न सुरु गरे । साउदी अरबमा साढे तीन वर्ष पूरा गरी स्वदेश फर्किए ।

आफ्नो गाउँ फर्किएपछि उनले श्रम शक्तिको अभावमा बाँझो पल्टिएको बारीलाई सदुपयोग गर्दै बाख्रा पालन गर्ने योजना बनाए । उक्त योजना अनुसार व्यवसाय पनि सुरु गरे । अहिले आफ्नो व्यवसाय देखेर उनी आफैं दंग परिरहेका छन् । भन्छन्, ‘बाख्रा पालन सुरु गरेको छ महिना भयो, अहिले नै खासै आम्दानी भएको त छैन तर व्यवसाय राम्रो हुने देखिएको छ ।’

उनले बोयर र जमुना पारी जातको बोकाको ब्रिडिङबाट अहिले नै पनि थोरबहुत कमाउन थालिसकेका छन् ।

‘विदेशको मोहले न पढाइ न त हातमा दाम, समयको बर्बादी मात्र भयो,’ उनी भन्छन्, ‘गाउँमै बसेर पहिले नै कृषि क्षेत्रमा केही गरेको भए मालामाल भइने रहेछ, अहिले सम्झदा पश्चताप लागेको छ ।’ उनले आफ्नो बाख्रा फार्ममा २५ ओटा बोयर र जमुनापारी क्रस जातका बाख्रा पालेका छन् । २ बिगाहा जमिनमा डाले घाँस रोपेका छन् । ‘सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्यका साथ गायत्री कृषि फार्म दर्ता गरेर चलाउन थालेको हुँ,’ उनले भने ।

देशलाई नै पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर गराउने र रोजगारीको सिर्जना गर्ने क्षेत्रलाई सरकारले गरेको उपेक्षाले भने उनको मन कुँडिएको छ । भन्छन्– ‘सरकार त अन्धो छ, पावर र पहुँच हुनेका लागि मात्र अनुदान दिन्छ, युवा कृषकहरुलाई संम्बन्धित गाउँपालिकाले कृषि क्षेत्रमा उचित तालिमको ब्यबस्था गरे राम्रो हुने थियो ।’

बिष्टले भविष्यमा हाँस, कुखुरा र माछा पालन गर्ने सोच पनि बनाएका छन् । खाद्यान्न तथा तरकारी खेतीमा भन्दा बाख्रा पालनमा धुलोमैलोमा काम गर्नुपर्ने बाध्यता नहुने भएकोले आफूले बाख्रा पालन व्यवसाय रोजेको उनले बताएका छन् । विदेश पलायन भइरहेका युवालाई स्वदेशमै कृषि क्षेत्रमा लागे मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सल्लाह उनले दिए ।

पछिल्लो समय झापा गाउँपालिका क्षेत्रमा व्यावसायिक रुपमा नै कृषितर्फ आकर्षित हुने युवाको संख्या बढ्दो छ । अझ बाख्रा पालनमा यहाँका युवाहरु आकर्षित बनेका छन । बाख्राको बजार मूल्य राम्रो भएपछि युवा कृषक यस व्यवसायतर्फ विशेष आकर्षित भएको देखिन्छ ।

कृषि पेशामा आधारित प्रत्येकजसो नेपाली परिवारले परम्परागत रुपमा मिश्रित खेति प्रणालीका सासै पशुपन्छी पालन गर्दै आएका छन् । घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने परम्परा अहिले पनि उस्तै छ । तर, व्यवसायीक रुपमा बाख्रा पालन गरेका फार्महरुले गर्ने उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई राज्यले महत्वपूर्ण रुपमा लिनुपर्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *