स्नेहाज केयरले यो लकडाउनमा पनि सामुदायिक जनावरलाई खाना खुवाउने

काठमाडौं । अघिल्लो लकडाउन अर्थात् ११ चैतदेखि साउनको ६ गतेसम्म भएको लकडाउमा सामुदायिक जनावरलाई दैनिक खाना खुवाएको पशु कल्याणकारी संस्था स्नेहाज केयरले यो लकडाउनमा पनि उक्त कार्यलाई निरन्तरता दिने भएको छ । ४ भदौ(आज)बाट सुरु भएको लकडाउनमा पनि सामुदायिक कुकुर, बाँदरलगायत जनावरणलाई खाना खुवाउने तयारी भइरहेको स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठले बताइन् । ‘आजबाट लकडाउन सुरु भयो, भोलि वा पर्सीबाट सामुदायिक जनावरलाई खाना खुवाउने तयारी हामीले गरिरहेका छौं,’ सञ्चालक श्रेष्ठले भनिन् ।

उनका अनुसार विगतको लकडाउनको तुलनामा यो लकडाउनमा काठमाडौंबाट धेरै मानिस नबाहिरिएकोले सामुदायिक कुकुरहरुलाई निर्वाह गर्न त्यति गाह्रो नहुने देखिएको छ । तर, मासिनको आवास क्षेत्रभन्दा बाहिरका सार्वजनिक स्थल, बजार, मन्दिर जस्ता ठाउँमा आश्रय लिइरहेका कुकुरलाई भने खाना खुवाएर बचाउनु पर्ने अवश्था रहेको उनले बताइन् ।

‘लकडाउनमा होटल, रेष्टुरेन्टहरु बन्द हुने र मानिसको आवागमन समेत नहुने भृकुटीमण्डप, रत्नपार्क, जस्ता ठाउँमा आश्रय लिइरहेको कुकुर बाँदर जस्ता जनावरलाई खाना खुवाउनेबारे हामीले तयारी थालेका छा्रैं,’ उनले भनिन्, ‘काठमाडौंबाट धेरै मानिस नबाहिरिएकोले आवास क्षेत्रमा उनीहरुले नै सामुदायिक कुकुरलाई खाना खुवाउने छन्, तर पशुपति, स्वयम्भू जस्ता मन्दिरमा बस्ने बाँदरलाई पनि खाना नपाएर समस्या हुने हामीले अनुमान गरेका छौं । त्यस्ता क्षेत्रमा हामी लक्षित हुन्छौं ।’

जनावरलाई खाना खुवाउने, उपचार तथा उद्दार गर्ने जस्ता कार्यमा स्नेहाज केयरलाई स्वदेशी तथा विदेशी विभिन्न संघसंस्था तथा व्यक्तिले सघाउँदै आएको सञ्चालक श्रेष्ठको भनाइ छ । सरकारको तर्फबाट हुनु पर्ने सहयोगमा भने कमी महसुस भएको उनी बताउँछिन् । ‘अघिल्लो लकडाउनमा हामीलाई ललितपुर महानगरपालिकाले ७ दिनका लागि खाना खुवाउन सहयोग गरेको थियो,’ उनले भनिन्, ‘४ महिना लकडाउन हुँदा काठमाडौं महानगरसहित बाँकी कुनै स्थानीय तहले हामीलाई सहयोग गर्नुभएको छैन । स्वदेश तथा विदेशका संघ संस्था र व्यक्तिगत सहयोग भने हामीले पाएका छौं ।’सरकारले पशुपन्छी क्षेत्रको सेवालाई आवश्यक सेवाको सूचिमा राखेकोले यस पटकको लकडाउनमा सामुदायिक पशुपन्छीलाई खाना खुवाउने कार्य सहज हुने अनुमान स्नेहाज केयरको छ । ‘भेटेरिनरी एशोसिएशनलगायतको पहलमा सरकारले पशुपन्छी क्षेत्रलाई आवश्यक सूचिमा राखेकोले खाना खुवाउने कार्य सहज भएको उनले बताइन्,’ उनले भनिन्, ‘आजै पनि हाम्रा साथीहरु सहज रुपमा कार्यस्थल जानु भएको छ । अघिल्लो लकडाउनमा अलि बढी समस्या थियो ।’काठमाडौं उपत्यकामा सामुदायिक कुकुर र बाँदरको संख्या झण्डै १ लाखको हाराहारीमा रहेको अनुमान स्नेहाज केयरको छ । यी पशुपन्छीलाई खाना खुवाउने कार्यमा स्नेहाज केयर जस्तै आधा दर्जनजति संस्था क्रियाशील भएको भए पनि मानिसका सबै गतिविधि ठप्प भएका बेला पर्याप्त नभएको देखिँदै आएको छ ।

अघिल्लो लकडाउनमा स्नेहाज केयरले दैनिक करिब २ हजार ५ सयदेखि ३ हजार कुकुरलाई खाना खुवाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *